बैशाख २४, २०८१ सोमबार

झापामा ६ महिनामा वैदेशिक रोजगारी समस्या सम्बन्धी ३१ उजुरी दर्ता

लक्ष्मी उप्रेती

मेचीनगर । झापा जिल्लास्थित आप्रवासी श्रोत केन्द्रमा चालु आर्थिक वर्ष २०८०-०८१ को आधा अवधिमा वैदेशिक रोजगारीका विभिन्न प्रकृतिका ३१ वटा उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयको १५ नम्बर कोठामा रहेको केन्द्रमा वैदेशिक रोजगारी सम्बन्धी ठगी, फरक काममा लगाईदिने, नेपालमा मेडिकल ठीक भए पनि विदेश पुगेपछि रिपोर्ट खराव भएको भन्दैं फर्काइदिने, पैसा पासपोर्ट लैजाने, समयमा नउडाउने, अनि पासपोर्ट लगेपनि फिर्ता नगर्नेलगायतका ठगी मुद्धा दर्ता भएको असुरक्षित आप्रवासन ‐सामी) कार्यक्रममा सामाजिक परिचालन अधिकृत शेखर बुढाथोकीले जानकारी दिए ।

आइतबार झापाको मेचीनगर नगरपालिकाले सभाहलमा सुरक्षित वैदेशिक रोजगारका लागि नगरपालिकाका शाखा अधिकृतहरुसँगको अन्तरक्रिया कार्यक्रममा बुढाथोकीले प्रस्तुत गर्नुभएको एक अध्ययनले यस्तो देखाएको हो ।

कार्यक्रमको प्रगति प्रस्तुत गदैं अधिकृत बुढाथोकीले चालु आर्थिक वर्ष २०८०-०८१ को अर्धवार्षिक समिक्षा अनुसार कुल दर्ता भएका उजुरीहरुमध्ये छलफल गर्दा ठगि रकम १४ लाख ३० हजार रुपैयाँ सम्बन्धित पीडितहरुलाई फिर्ता गरिएको र अधिकतम ठगीका घटना मेचीनगर नगरपालिकाका रहेको जानकारी गराए । वैदेशिक रोजगारमा जानेको संख्या जिल्लाका अन्य पालिकाको तुलनामा मेचीनगर नगरपालिकाका रहेका र ठगीका घटना पनि यहि पालिकामा बढी रहेको उहाँले स्पष्ट पार्नुभयो ।

यो अवधिमा २ हजार ७ सय ९० महिला र ५ हजार १ सय ९ गरी कुल ७ हजार ८ सय ९९ जनालाई सुचना परामर्श प्रदान गरिएको कार्यक्रममा जानकारी गराईएको थियो । सुरक्षित आप्रवासन ‐सामी) कार्यक्रम वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवम् शोषण रहित बनाउन नेपाल सरकार र स्वीस सरकारबीच भएको दुईपक्षीय सम्झौता अनुसार सञ्चालित कार्यक्रम भएको बताईएको छ ।

हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रम ३८ वटा जिल्लाका १ सय ५६ वटा स्थानीय तहमा, कोशी प्रदेशको ८ वटा जिल्लाका ३२ वटा स्थानीय तहमा सञ्चालन भईरहेको कार्यक्रममा बताईएको छ । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता तथा उपप्रमुख मीना पोख्रेल उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी सवैलाई स्वागतसहित औचित्य माथि प्रकाश वरिष्ठ प्रशासकीय अधिकृत अन्नतप्रकाश वस्तीले गर्नुभएको थियो ।

सूचनामा पहँुच, सीपयुक्त जनशक्तिको विकास, मनोसामाजिक परामर्श, न्यायमा पहुँच तथा वित्तिय साक्षरता सामी कार्यक्रमका मुख्यः क्रियाकलापहरु रहेको बुढाथोकीले प्रस्तुत गर्नुभएको प्रस्तुतीकरणमा उल्लेख छ । रिटर्नी स्वयम्सेवक मार्फत घरदैलो कार्यक्रम अन्तर्गत समुदाय स्तरमा कुल १ हजार ९ सय ८१ वटा कोबो दर्ता भएकोमा ५४ जनालाई फलोअप गरिएको, वैदेशिक रोजगारबाट फर्किएका १ सय ३५ , समूहमा सूचना प्रदान १६ तथा घरभेट सूचना प्रदान १ हजार ७ सय ७६ जसमध्ये ७ सय ९५ पुरुष र ९ सय ८१ महिलालाई सूचना प्रदान गरिएको र हालसम्म सूचना प्रदान गर्ने कार्य जारी रहेको बताईएको छ ।

समुदाय स्तरको कार्य अन्तर्गत समुदाय अभिमुखिकरण कार्यक्रम ४ मध्ये ३ वटा सम्पन्न भएको, गहन अभिमुखीकरण, मनोसामाजिक परामर्शकर्ताद्वारा १९ वटा केशमा मनोसामाजिक सेवा प्रदान गरिएको, जस्मध्ये महिला १८ र पुरुष १ जना रहेको बताइएको छ । कार्यक्रममा मुख्यःरुपमा नगरपालिकाका कानुन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि शाखा र रोजगार सेवा केन्द्रले निक्कै कम गर्न सक्ने स्पष्ट पारिएको थियो ।

वैदेशिक रोजगारीमा जाने सम्भावित कामदार, वैदेशिक रोजगारीमा रहेका कामदार, वैदेशिक रोजगारीबाट फर्केका कामदार तथा वैदेशिक रोजगारीमा रहेका कामदारका परिवार सदस्यहरु सामी कार्यक्रमका लाभावन्तित सेवाग्राही रहेको स्पष्ट पारियो । पहिलो चरणको कार्यक्रमको सञ्चालन फणिन्द्र दाहालले गर्नुभएको थियो । नगरको स्वास्थ्य, कृषि, पशु, रोजगार, शिक्षा, महिला तथा बालबालिका , पूर्वाधार तथा न्यायिकलगायत विभिन्न शाखाअधिकृतहरु सहभागि कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेतीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रकाशित मिति : फाल्गुन ६, २०८० आईतबार  ६ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]