चैत्र १५, २०८० बिहीबार

नेपाल भ्रमण वर्ष : उज्यालो यात्राको प्रस्थान बिन्दु

१) हामी ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भको पूर्व सन्ध्यामा आज यो पत्रकार सम्मेलन गरिरहेका छौं । म यहाँहरुलाई हार्दिक स्वागत गर्दछु । तपाईहरु सबैलाई नयाँ वर्ष–२०२० को शुभकामना व्यक्त गर्न चहान्छु । यहाँहरुलाई जानकारी नै छ, ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ यही १ जनवरी २०२० मा काठमाडौंको दशरथ रङ्गशालामा भव्यताका साथ हुँदैछ । ठिक त्यही दिन सातै वटा प्रदेशहरुमा पनि एक साथ ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ हुनेछ । हामीले यसका लागि आवश्यक तयारी पूरा गरेका छौं ।

यहाँहरुलाई थाहा छ, म गत साउन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा आएँ । त्यसयताका अधिकांश मेरो समय यही ‘नेपाल भ्रमण वर्ष–२०२०’ को तयारीमा खर्चिए । यसबीचमा अनेकौं छलफल र बैठकहरु सम्पन्न गरेका छौं । करिब एक सय भन्दा बढी संघ, संस्था, सरकारी तथा सरोकारवाला निकायहरुसँग छलफल गरेका गर्‍यौं । निजी क्षेत्र, गैरसरकारी संस्थाहरु, अन्तराष्ट्रिय क्षेत्र, नेपालस्थित कुटनीतिक नियोग, सामाजिक क्षेत्र, स्वयमसेवी समूह–संगठनलगायतका अनेकौं क्षेत्रहरुसँग हामीले छलफल गर्‍यौं ।

२) यहाँहरुलाई थाहा छ, सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष–२०२०’ घोषणा गरेको छ । वास्तवमा देशभित्र भएका ती छलफलहरु २० लाख पर्यटक कसरी भित्र्याउने ? केवल त्यसमा मात्रै केन्द्रित थिएन । राष्ट्रिय एकता कायम गरेर यो भ्रमण वर्षलाई राष्ट्रिय उत्सवको रुपमा कसरी मनाउन सकिन्छ ? राष्ट्रिय महाअभियानको रुपमा कसरी लैजान सकिन्छ ? के के गर्दा पर्यटनका लागि राष्ट्रिय मनोविज्ञान तयार हुन्छ ? र, हामीले पर्यटनको क्षेत्रमा राखेका दीर्घकालीन योजना र सपनाहरु कसरी पूरा गर्न सकिन्छ ? ‘समृद्ध नेपाल, सुखी नेपाली’ को हाम्रो राष्ट्रिय आकांक्षा पूरा गर्ने प्रमुख आधार पर्यटनलाई कसरी बनाउन सकिन्छ ? आर्थिक र सामाजिक असमानताहरुको अन्त्य गर्दै राष्ट्रिय पुँजीको बिकास गरेर समतामुलक समाज निर्माणमा पर्यटन क्षेत्रको कस्तो योगदान हुनेछ । हाम्रो ध्यान र छलफल त्यतातिर केन्द्रित थियो । र, त्यसै तर्फ केन्द्रित हुनेछ ।

हाम्रो प्रयास र प्रयत्न सिङ्गो मुलुकलाई उत्सवमय बनाउने हो । हरेक नेपालीहरुलाई यो अभियानमा जागरुक र उद्देलित बनाउने हो । यो अभियानमा मुलुकलाई जुरुक्कै उठाएर विश्व समुदायलाई नेपाल स्थायी शान्ति, स्थिरता, सुशासन र समृद्धिको बाटोमा अघि बढेको सन्देश दिनु हो । नेपाल पर्यटनका लागि संसारकै एक अद्वितीय पर्यटकीय गन्तव्य हो भनेर दुनियाँलाई थाहा दिनु हो । विश्वभरीका लगानीकर्ताहरुलाई नेपाल लगानीको लागि उपयुक्त मुलुक हो भनेर जानकारी दिनु पनि हो ।


३) संख्या त छँदैछ, हामीले त्यो भन्दा बढी विश्व समुदायमा नेपालको बारेमा दिइने सन्देश र देशभित्र पैदा गर्ने जागरण र सचेतनलाई प्रमुख मानेका छौं । २० लाख पर्यटक आउँदै गर्दा देशलाई के फाइदा हुनेछ ? पर्यटनमा कति गुणस्तरीयता आउने छ ? पर्यटन क्षेत्रबाट राजश्व तथा रोजगारी कति बढ्ने छ ? समग्र आर्थिक वृद्धि, प्रतिव्यक्ति आय एवं कूल गार्हस्थ उत्पादन (जीडीपी) मा कस्तो योगदान दिनेछ ? पर्यटनमा गुणस्तरीयता, बजारीकरण र ब्राण्डिङ्गमा कस्तो परिवर्तन आउने छ ? यही प्रश्नहरुलाई केन्द्रमा राखेर नै हामीले अभियान चलाएका छौं । आगमी दिनमा तपाई हाम्रो सहकार्यले यी प्रश्नहरुको वास्तविक समाधान पनि हुदै जानेछ ।

आजसम्मका अनेकौं छलफलका क्रममा देखिएको सहभागिता, सक्रियता र प्रतिबद्धताले हामीलाई उत्साही नै बनाएको छ । ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सन्दर्भमा कायम भएको राष्ट्रिय एकताले हामी उत्साही छौं । सबै क्षेत्रले यसलाई सफल बनाउन जाहेर गर्नु भएको प्रतिबद्धताले हामीलाई थप उर्जा थपिएको छ । हामीले छलफलकै क्रममा सबै राजनीतिक दलका प्रमुखहरुसँग पनि छलफल गरेका छौं । यसलाई राष्ट्रिय उत्सवकै रुपमा लैजानुपर्नेमा उहाँहरुको जोड छ । सरकार यो अभियानको सहजकर्ता र व्यबस्थापक मात्रै हो, सिंगो देश यो अभियानको आयोजक हो । सबै राजनीतिक दल, नीजि क्षेत्र, सामाजिक संघ संस्थाहरु, गैरसरकारी संस्थाहरु सबै आयोजक हुन् ।

४) हामीले १८ मंसिर २०७६ मा नेपालस्थित ३१ देशका राजदूत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग मन्त्रालयमा छलफल गरेका छौं । महामहिम राजदूतहरुले साँच्चीकै नेपाल नयाँ बाटो र नयाँ क्षितिजतिर लम्किएको प्रतिक्रिया सहित खुशी व्यक्त गर्नु भएको छ । हामीले भनेको संख्या र सन्देश दुबैका लागि त्यो छलफल उपलब्धीमुलक ठानेका छौं । राष्ट्रिय तथा अन्तराष्ट्रिय वायु सेवा सञ्चालकलगायत अन्तराष्ट्रिय क्षेत्रमा काम गरिरहेका अनेकौ संस्थाहरु पनि छलफल गरेका छौं ।

५ सरकारले ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ को शुभारम्भको दिन सबैलाई देशभरी दिवापली गरेर स्वागत गर्न आह्रवान गरेको छ । सबै सरकारी निकाय, नीजि क्षेत्र, गैरसरकारी क्षेत्र, विदेशस्थित कुटनीति नियोगका कार्यालहरुमा सबैले दिपवाली गर्नुहुनेछ । त्यो दिपावली, त्यो उज्यालोले हाम्रो नयाँ यात्राको संकेत गर्नेछ । अबको हाम्रो यात्रा उज्यालै उज्यालोतिर उन्मुख छ भन्ने सन्देश दिनेछ । म तपाईहरु मार्फत आम जनसमुदायलाई अपिल गर्न चहान्छु, त्यो दिन सबैले दिपावली गरौ । र, दुनियाँलाई भनौं, ‘अबको हाम्रो यात्रा उज्यालो तर्फ अघि बढेको छ ।’

६) ‘नेपाल भ्रमण वर्ष–२०२०’ को तयारीदेखि शुभारम्भको पूर्व सन्ध्यामा आइपुग्दासम्म अर्को खुशीको बिषय हो, नेपाली सञ्चार क्षेत्र र तपाई सञ्चारकर्मीहरुले महत्वपूर्ण भूमिका । वास्तवमा यो देशको प्रतिष्ठासँग गाँसिएको कार्यक्रमको रुपमा लिएर तपाईहरुले यसको प्रचारमा गर्नुभएको सकारात्मक योगदान असाध्यै प्रशंसायोग्य छ । देशलाई भ्रमण वर्षमय मनाउनका निम्ति साँच्चीकै सञ्चार क्षेत्रको पनि अभुतपूर्व एकता र सहयोग देखिएको छ ।

पर्यटनलाई नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार भनेका छौं, त्यसका लागि यो संख्या र कार्यक्रम पर्याप्त छैन । त्यसैले हामीले ‘२०२०’ लाई प्रस्थान बिन्दु मान्ने छौं । २०२० देखि २०३० लाई पर्यटन दशकको रुपमा सञ्चालन गर्नुपर्छ भन्ने योजनामा हामी छौं । सरकारको त्यो दशक अभियानमा यहाँहरुको उस्तै सक्रियता, सहभागिता र सहयोग हुने नै छ ।

७) ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’को शुभारम्भ यही १ जनवरी (पुस १६ गते बुधबार) दसरथ रंगशालामा सम्माननीय सम्माननीय राष्ट्रपतिज्यूबाट हुनेछ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुनेछ । कार्यक्रममा सम्माननीय उपराष्ट्रपति ज्यू, पूर्वप्रधानमन्त्रीज्यूहरु, राजनीतिक दलका नेताज्यूहरु, बिभिन्न देशबाट पाल्नु भएका माननीय पर्यटनमन्त्रीज्यूहरु, संघीय सरकारका माननीय मन्त्रीज्यूहरु, प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका माननीयज्यूहरु, संवैधानिक निकायका प्रमुखज्यूहरु कूटनीतिक नियोगका प्रमुखज्यूहरु, विदेशी नियोगका प्रमुखज्यूहरु, विभिन्न देशबाट पाल्नु भएका प्रतिनिधिज्यूहरु उपस्थीति रहनेछ ।

शुभारम्भमा सरकारी निकाय, निजी क्षेत्र, पर्यटनसँग सम्बद्ध संघ संस्थाहरु, सामाजिक क्षेत्र, स्वयमसेवी समूह–संगठन, सामाजिक संघ संस्थाहरुको ब्यानर र पोशाक सहित मार्चपास रहनेछ । नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलको विशेष प्रस्तुती रहनेछ । नेपालको ख्यातीप्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुती रहनेछ । नेपालको सांस्कृतिक विविधता झल्किने मौलक प्रस्तुतीहरु रहनेछन् ।

८) अब मु्लुक स्थायी शान्ति, स्थिरता र समृद्धिको बाटोमा अघि बढेको छ । पर्यटनलाई नेपालको अर्थतन्त्रमा प्रमुख आधार मध्येका एक बनाउने सरकारको योजना छ । पर्यटनबाट नेपालको कुल ग्राहस्थ उत्पादनमा करिब ३ प्रतिशत योगदान रहेको छ । १५ औं पञ्चबर्षिय योजना सम्पन्न हुदाँसम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य राखिएको छ ।

यसका लागि पर्यटन पूर्वाधार निर्माण र सेवामा विस्तारमा हामीले जोड दिएका छौं । पर्यटनमा गुणस्तरता, बजारीकरण र ब्राण्डिङ्ग हाम्रो प्राथमिकता हो । मानव संशाधनको बिकास, सांस्कृति सम्पदाहरुको बिकास, पर्यटनमा अध्ययन अनुसन्धानमा जोड दिदै आएका छौं । नेपालका पर्यटकीय आकर्षण र सेवाहरूमा विविधता ल्याउन अभिप्रेरित गर्ने, पर्यटकीय सम्पदा तथा पर्यटन क्षेत्रमा काम गर्ने जनशक्तिको गुणस्तर र क्षमता अभिवृद्धि गर्ने, पर्यटनका माध्यमबाट गरीवी निवारण गर्ने तथा स्थानीय समुदायको सहभागिता बढाउनमा सरकारको ध्यान केन्द्रित छ । ‘नेपाल भ्रमण वर्ष–२०२०’ सँगसँगै हामी यी कामहरुलाई अघि लैजानेछौं । यो यात्रामा तपाई हामीसँगै र साथै रहनेछौं ।


९) ‘नेपाल भ्रमण वर्ष–२०२०’को तयारीको सन्दर्भमा सहयोग पु¥याउने बिभिन्न मन्त्रालयका माननीय मन्त्रीज्यूहरुप्रति म आभार प्रकट गर्दछु । ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सचिवालयलाई धन्यवाद भन्न चहान्छु । बिभिन्न सरकारी निकाय, पर्यटनसँग सम्बद्ध बिभिन्न संघ, संगठन, पर्यटन व्यवसायीहरु, नीजि क्षेत्रसँग सम्बद्ध संघ संस्थाहरु, समग्र नीजि क्षेत्र, गैरसरकारी क्षेत्र, सामाजिक संघ–संगठन, स्वंयसेवी संस्थाहरु सबैलाई धन्यवाद भन्न चहान्छु । साथै आगामी दिनमा पनि यहाँहरुको यस्तै साथ, सहयोग र सहभागिताको अपेक्षा समेत व्यक्त गर्दछु ।

(‘नेपाल भ्रमण वर्ष–२०२०’ को तयारीको सन्दर्भमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ सचिवालयले १४ पुस २०७६ मा आयोजना गरेको पत्रकार सम्मेलनमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दिएको मन्तव्यको पूर्ण पाठ)

प्रकाशित मिति : पुष १५, २०७६ मंगलबार  ८ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]