बैशाख २४, २०८१ सोमबार

मितेरीले ल्यायो ‘डनलप भएको सोफा सीट’ बस

चारआली । पूर्वी हिमाल यातायात प्रालि झापाले नेपालमा नै पहिलो पटक डनलप सोफा सीट भएको थप दुई वटा सुविधायुक्त मितेरी बस सञ्चालनमा ल्याएको छ ।

आज प्रालिले चारआली स्थित पर्यटकिय स्थल निचा झोडा सामुदायिक सिमसारमा वनभोजसहितको कार्यक्रममा कोशी प्रदेशका पूर्व सांसद एवम् यातायात क्षेत्रका अभियन्ता श्रीप्रसाद मैनालीले उक्त बसहरुको विधिवत रुपमा रिवन काटेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासंघका विभागिय बस संयोजक सुनिल कुँवर, पूर्वी मेची बस व्यवसायी प्रालिका अध्यक्ष राजेन्द्र रिजाल लगायत काठमाडौँ, हेटौडा, मोरङ र झापाका यातायात व्यवसायी, कर्मचारी, मजदुरहरुको उपस्थिति रहेको थियो ।

यात्रुहरुको सुविधाका लागि उक्त बसहरु इलामबाट बिर्तामोड हुँदै सिन्धुलीको बाटोबाट काठमाडौँ पुग्ने पूर्वी हिमाल यातायात प्रालिका अध्यक्ष हेमराज दाहालले जानकारी दिए ।

यात्रुको सेवालाई ध्यानमा राखेर नेपालमा नै पहिलो पटक मितेरीले डनलप सोफा सीट भएको २ वटा बस सञ्चालनमा ल्याएको उनले बताए ।

उनका अनुसार यात्रुलाई आराम र सहजताका लागि बसमा २९ वटा डनलप भएको सोफा सीट, एसी, वाईफाई लगायतका अत्याधुनिक सुविधा रहेको छ । पूर्वी हिमाल र पूर्वाञ्चल जिप यातायात प्रालि चारआलीको संयुक्त सञ्चालनमा थप नयाँ १२ वटा बसमध्ये तत्काल २ वटा बस सञ्चालनमा ल्याइएको सञ्चालक बालकुमार विष्टले बताए ।

मेचीनगर–१३ को पर्यटकिय सिमसार स्थलमा मंगलबारदेखि विधिवत रुपमा पुजा गरेर बसहरु सञ्चालनमा ल्याएको सञ्चालक समेत रहेका अध्यक्ष दाहालले बताए । २०६२ सालमा स्थापित मितेरी यातायात एण्ड अटो प्रालिलाई पूर्वी हिमाल यातायात प्रालिमा समाहित गरिएको छ ।

प्रालिले यात्रुको सेवालाई ध्यानमा राखेर मितेरीका करिव ३५ वटा गाडीहरु झापादेखि देशका विभिन्न जिल्लामा सञ्चालन भइरहेको दाहालले जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन १६, २०८० बुधबार  ७ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]