बैशाख १८, २०८१ मंगलबार

छैटौं झापा गोल्डकप सफल पारौं

सम्पादकीय
झापाको डोमालाल राजवंशी रंगशालामा भोलीदेखि छैटौं झापा गोल्डकप सुरु हुदैछ । झापालीको सान मानिएको झापा गोल्डकप गत वर्ष भद्रपुरमा आयोजना गरिएको थियो । छैटौं संस्करणसम्म आइपुग्दा झापा गोल्डकपले धेरै खाले चुनौतिहरु सामना गर्दै आएको छ । चुनौतिका बीच झापा गोल्डकपले छैटौं संस्करण पुरा गर्दैछ । कोभिड महामारी र आर्थिक मन्दीको प्रत्यक्ष असर भोगेको गोल्डकपलाई लयमा फर्काउन आयोजक टिम अहोरात्र मेहनत गरिरहेको छ । झापा गोल्डकप एउटा आयोजक समितिको मात्र होइन । यो आम झापाली, फुटवल प्रेमीहरुको साझा गोल्डकप हो ।

‘हाम्रो गौरव, झापा गोल्डकप’ सुरुआवी नारा पाएको झापा गोल्डकप छैटौं संस्करणमा आइपुग्दा ‘हाम्रो गौरव हाम्रो मान, झापा गोल्डकप हाम्रो सान’ भएको छ । फुटवलको ठुलो क्रेज भएको झापामा आयोजना हुने गोल्डकपहरु मध्येको प्रख्यात झापा गोल्डकपले यहाँको फुटवल जीवनलाई नै माथि उठाउने गरेको छ । वर्षेनी हुने गोल्डकपलाई एकै वर्ष बाहिर लैजाँदा पनि बिर्तामोडको जस्तो स्वाद नहुने अधिकांशको प्रतिक्रिया छ । फुटवल जहाँ आयोजना गरे पनि त्यसको क्रेज घट्दैन । तर, बिर्तामोडमा जस्तो चाम अन्य क्षेत्रमा कमै हुन्छ ।

झापा गोल्डकपको भव्य तयारी भइरहेको छ । चोक–चोकलाई सजाइएको छ । फुटवल महाकुम्भ सुरु हुनै गर्दा यहाँ सजावट देखि अन्य तयारीहरु पुरा भइसकेको छ । बिर्तामोडको मुक्ति चोकमा पुग्दा जो कोहिले कुनै चाड आएको अनुभूति गर्ने अवस्था छ । यसैले सबैको गौरवको रुपमा रहेको झापा गोल्डकपलाई आ–आफ्नो ठाउँबाट सहयोग गरौं । झापा गोल्डकपले पूर्वको फुटवल जीवन बचाई राख्न मद्दत गरेको छ । गोल्डकपसँगै आयोजकहरुले खेलाडी उत्पादन र संरक्षणमा पनि ध्यान दिन जरुरी देखिन्छ । गोल्डकप छेउछाउमा मात्र खेलाडी खोज्ने गरियो भने पलायन हुने अवस्था आउन सक्छ । यसैले खेलाडी संरक्षणमा पनि झापा गोल्डकप आयोजकले ध्यान पुर्याउन सकोस् । गोल्डकप सफलताको शुभकामना ।

प्रकाशित मिति : फाल्गुन १८, २०८० शुक्रबार  ६ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]