बैशाख १६, २०८१ आईतबार

प्रविनको नेतृत्वमा बन्यो झापा गोल्डकपको आकर्षक मैदान

बिर्तामोड । झापा गोल्डकपको छैटौंको संस्करण आयोजना भईरहदा विभिन्न प्राविधिक पक्षहरुको चर्चा भइरहेको छ । त्यसमध्ये सबैभन्दा चर्चामा रहेको छ ‘आकर्षक मैदान’ । कसले गर्दैछ मैदानको तयारी भन्ने सबैको चासोको विषय बनेको छ ।

डोलामाल राजवंशी रंगशालामा आज (शनिवार) देखि गोल्डकप हुदैछ । रंगशाला यति आकर्षक पनि भएको छ कि, सबैले त्यसको बयान गरिरहेका छन् । छैटौं संस्करणमा आइपुग्दा मैदानको तयारी यस्तो भयो कि सबैलाई मैदानले आकर्षित गरेको छ । नियम अनुसार मैदानको तयारी एकातिर भए पनि त्यसको निर्माण कला बारे हामीले खोजी गरेका छौं ।

आजदेखि हुने गोल्डकपको लागि बिर्तामोड १० सैनिकका प्रविन राईले मैदान तयारी गरेका हुन् । उनको परिश्रम र अथक मेहनतबाट मैदान तयार भएको हो । सबैले मैदानको प्रशंसा गरेपछि यति आकर्षक मैदान कसले तयार गरेको हो भन्ने जिज्ञासा थियो ।

प्रविन राई बिर्तामोड साना सहरी खानेपानी तथा सरसरफाई उपभोक्ता संस्थाका कर्मचारी हुन् । उनी पेशाले गार्डेनिङ गर्छन् । खानेपानीमा पनि उनको जिम्मेवारी त्यहि हो ।

झापा गोल्डकपको पहिलो संस्करण बाहेक त्यसपछि हरेक गोल्डकपमा उनले मैदान तयार गरेका छन् । मैदान तयारी गर्ने जिम्मेवारी आयोजकले दिएको हो । ४० दिनअघि मैदान तयारी गर्न छिरेका उनले उत्कृष्ट मैदान बनाएको चर्चा छ । पर्याप्त समय नहुँदा अझै चाहे जस्तो काम गर्न नसकेको उनको धारणा छ । देशभर मै उत्कृष्ट मैदान रहेको दावी गर्ने राईले कम्तिमा तीन महिना मैदान निर्माणमा समय चाहिने बताउँछन् । अस्तव्यस्त मैदानमा ४० दिनअघि प्रवेश गरेका राईले तारिफयोग्य मैदान तयारी गरेका हुन् ।

मैदान मै घाँस उमारेर तयार गरिएको उनको भनाई छ । धेरै जसो मैदानमा घाँस रोपेर वा चपरी ल्याएर मैदान तयार गर्ने गरिन्छ । उनले डोमालालमा नेचुरल मैदान तयारी गरेको जानकारी दिए । सुरुमा झार थिएन, लेवल पनि मिलेको थिएन, उनले भने – छोटो समयमा खेल्न हुने गरी मैदान तयार गरिएको छ । यसको सुरक्षाका लागि खेल बाहेकका कार्यक्रममा मैदान प्रयोग गर्न हुदैन ।

पहिलो नेचुरल मैदान दावी गर्ने उनले मैदानको फोहोर फाल्ने देखि दिनरात मैदान भिजाएर सुरुआती चरणमा काम थालेको स्मरण गर्छन् । कृषि विज्ञ समेतको सहयोगमा झार हुर्काउन किटनासक औषधि र भिटामिन समेत प्रयोग गरेको राईको भनाई छ । पहिलो चरणमा दैनिक १० देखि १५ जनासम्मले काम गर्नु परेको थियो, त्यसपछि नियमित ५-६ जनाले मैदानको तयारी गर्ने काम गरिरहेका छन् । मैदानमा लाइनिङ समेतको काम सकेर आयोजकलाई हस्तान्तरण गर्ने बताए ।

एन्फा ट्रेनिङ सेन्टरको मैदानमा समेत काम गरिसकेका राईले पूर्वमा झापा गोल्डकपको डोमालाल राजवंशी रंगशाला सहित उर्लावारी, दुधे, चन्द्रगडी, काँकडभिट्टा र सुरुङामा आयोजित गोल्डकपहरुमा मैदान निर्माणको काम गर्ने गरेका छन् । घर, होटल तथा विभिन्न कार्यालयहरुमा पनि उनले गार्डेनिङ गर्दै आएको बताए ।

प्रकाशित मिति : फाल्गुन १९, २०८० शनिबार  ६ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]