बैशाख १८, २०८१ मंगलबार

बिर्तामोडमा ध्वनी प्रदुषणले हैरानी

सम्पादकीय
झापाको बिर्तामोडमा भर्खरै उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न भयो । निर्वाचनको पूर्व सन्ध्यामा मत माग्नका लागि उम्मेदवारहरुले सडक, बजारमा माइकिङ गरे । झण्डै एक हप्ता नियमित रुपमा माइकिङ गरिएको थियो । जसका कारण बिर्तामोड क्षेत्रमा दिक्क लाग्ने गरी उम्मेदवारहरुले भोट मागे । उम्मेदवाहरुको एउटा होइन, दर्जनौ सवारीमा माइकिङ गरिएको थियो । लोकतान्त्रिक प्यानल र स्वतन्त्र प्यानलले अलग–अलग मत मागे । निर्वाचनको अघिल्लो दिनदेखि बन्द भएको माइकिङ अहिले उस्तै छ ।

बिर्तामोडमा वाणिज्य संघको निर्वाचन हुँदा मात्र होइन अन्य विभिन्न कार्यक्रमहरुमा पनि माइकिङ भइरहन्छ । मेला महोत्सव, अस्पतालहरुले माइकिङ गरेर हैरान बनाइरहेका छन् । राष्ट्र, राष्ट्रियता, संस्कृति धर्म बचाऔं अभियानको व्यानरमा पनि माइकिङ भएको थियो । बिर्तामोड बजार भित्र हुने विहे पार्टीमा होहल्ला उस्तै छ । ठुलो –ठुलो आवाजमा बजाइने गीतका कारण स्थानीयबासीलाई असर गरिरहेको छ । हरेक दिन नयाँ नयाँ विषयमा गरिने माइकिङका कारण बिर्तामोडमा ध्वनी प्रदुशषण बढ्दै गइरहेको छ । यसको नियमन तत्काल जरुरी छ ।

सार्वजनिक होस् वा निजी सबै क्षेत्रमा माइकिङ गर्दा होस् या गीत प्रस्तुत गर्दा अरु कसैलाई पनि असर नगर्ने गरी बजाउनुपर्छ । बालबच्चा, विद्यार्थी, वृद्ध र विरामीहरुलाई त्यसले ठुलो समस्या हुन्छ । अनावश्यकरुपमा डिजे, साउण्ड, हर्न बजाउँदा ध्वनी प्रदूषण बढ्छ । यसले मानव स्वास्थ्यमा पनि गम्भीर असर पुग्छ । चर्को बाजागाजाले स्वास्थ्यमा पनि गम्भीर समस्या ल्याउँछ । त्यसैले ध्वनी प्रदुषण रोक्न सरोकारवाला सबैले चासो दिन जरुरी छ । बढ्दै गइरहेको ध्वनी प्रदुषण रोक्न स्थानीय सरकार, स्थानीय सुरक्षा निकायको ध्यानाकर्षण होस् । तत्काल बिर्तामोडमा ध्वनी प्रदुषण रोक्न एक्सन लिनैपर्ने भएको छ ।

प्रकाशित मिति : फाल्गुन २१, २०८० सोमबार  ११ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]