बैशाख १७, २०८१ सोमबार

जनतालाई नछुने गठबन्धन

सम्पादकीय
नेपाली राजनीतिमा ६-६ महिनामा केहि अनौठा दृष्यहरु देख्न पाइन्छ । ६ महिनामा मात्र होइन, वर्ष दिनमा देखिने राजनीतिक घटनाक्रमले केहि राजनीतिक उथलपुल ल्याइरहन्छ । गत वर्ष एमालेलाई धोका दिएर नेपाली कांग्रेससँग गठबन्धन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि एमालेकै कित्तामा आएका छन् । गठबन्धन राजनीति हुर्किदै गएको नेपालमा सत्ताका लागि विचार, आस्था र कार्यक्रम केहि पनि सीमा देखिएन । सत्ता जोगाउने, मन्त्री बनाउने नाममा जोसँग जहिले पनि गठबन्धन हुन्छ भन्ने दृष्टान्त बन्दै गएको छ ।

कांग्रेस छोडेर एमालेसँग गठबन्धन गरेका प्रचण्डले केहि गर्न नसके पनि प्रधानमन्त्रीमा आफुलाई जोगाइरहने रणनीति अवलम्बन गरेका छन् । सत्ताको शक्तिभन्दा बाहिर जान नसक्ने प्रचण्डको सरकारले जनतालाई छुन सक्छ ? कि सक्दैन ? मुल प्रश्न त्यो हो । सत्ता कसको बन्छ भन्दा पनि नयाँ सरकारले जनताको जीवनमा के फरक पार्दछ भन्ने महत्वपूर्ण हुन्छ । सरकारको अदलवदल, गठबन्धनको फेरवदलले मुलुकलाई खास सकारात्मक नतिजा दिइरहेको पाइदैन । एकले अर्कोलाई साइजमा राख्नका लागि प्रयोग भइरहेको गठबन्धन राजनीति अब सच्याउनुपर्छ ।

गठबन्धन राजनीति जनताको हितमा छैन । एमाले माओवादी होस् वा कांग्रेससँग होस्, यो स्वस्थ्य राजनीति होइन । दलहरुको नीति कार्यक्रम र विचारका आधारमा जनताको बीचमा जानुपर्ने हो । अहिले नीति कार्यक्रम भन्दा पनि मुलतः गठबन्धनवाला बहुमतको आधारमा राजनीतिक गर्ने काम भइरहेको छ । दलहरुले गठबन्धनको अभ्यास छोडेर जनताको बीचमा एक्लै प्रतिष्पर्धा गर्न सक्नुपर्छ । केहि काम गर्न नसक्नेहरु पनि गठबन्धनका आधारमा नेतृत्वमा आउने संभावना धेरै हुन्छ । यसैले अहिलेको गठबन्धनबाट उत्साहित भइहाल्नुपर्छ भन्ने छैन । नयाँ गठबन्धन र नयाँ सरकारले जनताको जनजीवीकामा प्रभाव राख्न सक्यो भने केहि अर्थ हुने छ ।

प्रकाशित मिति : फाल्गुन २३, २०८० बुधबार  ९ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]