बैशाख १७, २०८१ सोमबार

झापा गोल्डकपको चाम नै झापा– ११

सम्पादकीय
पूर्वकै सर्वाधिक राशीको फुटवल प्रतियोगिता झापामा चलिरहेको छ । झापामा डोमालाल राजवंशी रंगशालामा भइरहेको झापा गोल्डकपको पाँचौं दिनको खेल सकिएको छ । आज छैटौ दिनमा झापा ११ मैदान प्रवेश गर्दैछ । दर्शकहरुको लामो प्रतिक्षाको दिन आज सकिदैछ । आयोजक टिम मानिएको झापा ११ सुरुमै मैदान प्रवेश गर्न नपाउँदा गोल्डकपको चाम अपेक्षाकृत प्राप्त भएन । जवरजस्त पाँचौ दिनसम्मको खेल सम्पन्न भइसकेको छ । अब, आयोजक क्लवको खेलपछि गोल्डकपले चाम लिने विश्वास गरिएको छ । सुरुमै झापा ११ को खेल हुनुपर्ने फुटवल प्रेमीको चहाना पुरा यस वर्षको गोल्डकपमा अपुरै भयो ।

झापा गोल्डकपको मुख्य सुन्दरता भनेको झापा –११ थियो । झापा गोल्डकप भन्नासाथ झापा ११ का खेलाडीहरु फुटवल प्रेमीहरुको आँखामा आउँथे । तर, अहिले गोल्डकप आयोजकको समेत कम प्राथमिकतामा परेको आफ्नै टिममा खेलाडीहरु को–को छन् भन्ने समर्थकहरुलाई नै जानकारी छैन । झापा ११ मैदान प्रवेश गर्दा जस्तो रौनक गोल्डकपमा देखिन्थ्यो, त्यो अवस्था अहिले छैन । सुरुआती खेलहरु खाली प्याराफिटमा सकिए । आर्मीको खेलमा दर्शकको उपस्थिति सन्तोषजनक भयो । झापा गोल्डकपमा दर्शकको कमजोर उपस्थिति आयोजकले समेत अपेक्षा गरेको थिएन ।

विगतमा भन्दा यो वर्ष झापा गोल्डकपको प्रवेश शुल्क महंगो भयो । जताततै शुल्क वृद्धि भएको विषयमा टिप्पणी भइरहेको छ । दैनिक १ लाख मात्रै संकलन भइरहेको गेटमनीले आयोजकको लक्ष्य आधा पनि नपुग्ने निश्चित छ । यसैले गोल्डकप आयोजकले शुल्क र झापा–११ को खेल समय व्यवस्थापनमा गरेको कमजोरीले गोल्डकपको चाम विगतमा जस्तो आउन सकेन । तर, शहरमा गोल्डकप आयोजनाको झिलिमिली व्यवस्थापन व्यापक छ । गोल्डकप बाहेकको समयमा झापा ११ लाई आवश्यक संरक्षण गर्न गोल्डकप अग्रसर देखिएको छैन । खासगरी झापा ११ लाई पनि बचाउनका लागि गोल्डकप आयोजना गर्न थालिएको हो । अहिले त्यस अनुसार काम भइरहेको जस्तो पाइदैन । आगामी दिनहरुमा झापा ११ र आयोजकबीच समन्वयकारी भूमिकाको खाँचो देखिएको छ ।

प्रकाशित मिति : फाल्गुन २४, २०८० बिहीबार  १२ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]