बैशाख १८, २०८१ मंगलबार

गौरीगञ्जमा लागूऔषध दुर्व्यसनविरुद्ध ७ दिने अभियान

गौरीगञ्ज । जिल्लामा लागूऔषधको कारोबार बढेपछि झापाको सीमावर्ती क्षेत्र गौरीगञ्जमा लागूऔषध दुर्व्यसनविरुद्धको अभियान सुरु गरिएको छ ।

गौरीगञ्ज गाउँपालिकाले लागू औषध दुर्व्यसनविरुद्धको ७ दिने अभियान आजदेखि सुरु गरेको हो । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले उक्त अभियानको शुभारम्भ गर्दै समाजमा लागू औषध दुर्व्यसनकै कारण अपराध जन्मिएकाले न्यूनीकरणमा सबै पक्षलाई गम्भीर बन्न अपिल गरेका छन् । उनले भने, ‘समाजमा तपाई हाम्रा कारणले लागू औषध दुर्व्यसनी बढिरहेका छन् । अब न्यूनीकरणमा पनि हामीले नै सक्रियता जनाउनुपर्छ । प्रहरी प्रशासनले चाहेर मात्र लागू औषध दुर्व्यसनी न्यूनीकरण गर्न सकिँदैन । यो कुरामा सबैले सहयोग गर्नुपर्छ ।’

झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले लागू औषधको कारोबार र प्रयोग नियन्त्रण गर्ने गरी सीमा क्षेत्रमा चेकजाँचमा कडाइ गर्दै ड्रग किटसंगै होल्डिङ सेन्टरको व्यवस्था गर्नुपर्ने बताए । लागू औषध दुर्व्यसन न्यूनीकरणको यस ७ दिने अभियान अघि बढेकोले समुदायको साथ भए धेरै हदसम्म गौरीगञ्ज गाउँपालिकामा नियन्त्रण गर्न सकिनेमा विश्वास व्यक्त गरे । नेपालमा लागू औषध दुर्व्यसनीहरूको सङ्ख्या बढ्दै गएको र त्यसमा पनि झापा पहिलो स्थानमा रहेकोले त्यसलाई न्यूनीकरणका लागि यस प्रकारको अभियानले ठुलो सहयोग पुग्ने प्रहरी प्रमुख केसीले बताए । मेचीनगर नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा लागू औषध प्रयोगकर्ताहरू अत्यधिक रहेकाले त्यसको न्यूनीकरणमा सबैले विशेष चासो लिनुपर्ने प्रहरी प्रमुख केसीको आग्रह थियो ।

सशस्त्र प्रहरी उपरीक्षक कवीन्द्र राईले लागू औषधसम्बन्धी अप्रेसनका अतिरिक्त विद्यालय–विद्यालयमा लागू औषध, साइबर अपराधलगायतका विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनु पर्ने बताए । उनले समुदाय स्तरमा विभिन्न समितिहरू गठन गरेर अभियानलाई परिणाममुखी बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रमको अध्यक्षता गर्दै गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले सरकारी कार्यालयलगायत अन्य सरोकारवाला कार्यालयहरूको एक सय मिटर वरिपरि सुर्तीजन्य पदार्थ र लागू औषधका रुपमा प्रयोग हुने औषधिको बिक्री वितरणमा रोक लगाइने बताइन् । लागूऔषधविरुद्धको अभियानमा सरोकारवाला सम्पूर्ण संघ संस्था तथा व्यक्तिहरूलाई उनले सहयोगको अपिल गरेकी छन् ।

गौरीगञ्ज गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष श्रवण गिरीले लागू औषध मानव स्वास्थ्यको लागि हानिकारक भएकोले यसलाई जरैदेखि उन्मूलन गर्नु पर्ने बताए । खुल्ला सीमानाको फाइदा उठाउँदै लागू औषध प्रयोगकर्ताहरू सहजै भारतबाट आउने भएकाले सीमामा कडाइ गर्नुपर्ने वडा अध्यक्ष गिरीको भनाई थियो । वडा नं. ६ का वडा अध्यक्ष बद्रीनारायण यादवले लागूऔषधविरुद्धको सात दिने अभियान सफल बनाउन सबैको साथ सहयोग हुनुपर्ने बताए ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख चूडामणि आपागाईले लागूऔषधविरुद्धको ७ दिने सचेतना अभियानबारे कार्यपत्र प्रस्तुत गरेका थिए । गौरीगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले स्वागत गरेको कार्यक्रममा झापा उद्योग वाणिज्य संघ गौरीगञ्जका अध्यक्ष मखना महतो, सशस्त्र सीमा सुरक्षा बल गौरीगञ्जका डीएसपी विष्णुहरि घिमिरे, इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक अरविन्द मेहता ,जनप्रतिनिधिहरू, संघ संस्थाका प्रतिनिधिहरू, कर्मचारीहरू, विद्यालयका शिक्षक , विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले गरेका थिए ।

प्रकाशित मिति : फाल्गुन २४, २०८० बिहीबार  १० : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]