बैशाख १७, २०८१ सोमबार

डोमालालको परिवारलाई न्याय

सम्पादकीय
झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा अहिले छैटौं झापा गोल्डकप भइरहेको छ । छैटौं झापा गोल्डकपको आज फाइनलको दिन हो । फाइनलमा एपीएफ र चर्च ब्वाइजबीच भिडन्त हुदैछ । १० वटा टिम सहभागी भएको छैटौं झापा गोल्डकप भव्यताका साथ सम्पन्न हुदैछ । विगतमा भन्दा भव्यताका साथ भइरहेको यो झापा गोल्डकपले रंगशालाका लागि जग्गा दान गर्ने परिवारमाथि ठुलो न्याय गरेको छ । छैटौं झापा गोल्डकपको मुख्य आकर्षणको काम नै यो पटकलाई डोमालाल राजवंशीको सन्ततिको घर निर्माणलाई लिइएको छ ।

१६ विगाह जग्गा दान गर्ने राजवंशीको परिवार अहिले दयनीय जीवन विताइरहेको छ । अझ, जमिनदार भएर पनि उनको परिवार सुकुम्बासीको रुपमा जीवन विताइरहेका छन् । हरेक गोल्डकपमा २५ हजार रुपैयाँ सहयोग गर्ने गरिएको थियो । तर, यो वर्ष गोल्डकप आयोजकलाई राजवंशी समुदायका अगुवाहरुले कम्तिमा नगद ५ लाख, घर निर्माण र शालिक निर्माणका लागि आवाज उठाएका थिए । उनीहरुको आवाजलाई सम्बोधन गर्दै झापा गोल्डकपले डोमालालको छोरी सम्पत्ति राजवंशीलाई उद्घाटन मै १ लाख प्रदान गरेको थियो ।

झापा गोल्डकप सधैं आयोजना भइरहने नियमित श्रृङखला हो । तर, छैटौं झापा गोल्डकप सधैंका लागि स्मरणीय भइरहनेछ । छैटौं झापा गोल्डकपमा आइपुग्दा राजवंशी परिवारको घर बन्ने सुनिश्चित भइसकेको छ भने जग्गादाताको शालिक निर्माण हुने पक्का भएको छ । घर निर्माणको लागि ५१ हजार सहयोग गर्ने घोषणासँगै अभियानको थालनी गर्ने गोल्डकपका अध्यक्ष विनोद बस्नेत धन्यवादका पात्र बनेका छन् । उनले अभियान घोषणा गरे लगत्तै ७ लाख भन्दा धेरै रकम जुटेको छ । यो न्यायपूर्ण कर्मका लागि झापा गोल्डकपलाई विशेष धन्याद छ, आगामी दिनमा झापा ११ को संरक्षणमा पनि ध्यान जान सकोस् ।

प्रकाशित मिति : फाल्गुन २८, २०८० सोमबार  ९ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]