बैशाख २५, २०८१ मंगलबार

सताक्षीधामको पर्यटन विकासमा सरोकारवालाको जोड

दमक । शिवसताक्षीस्थित धार्मिक पर्यटकीयस्थल सताक्षीधामको संरक्षण र विकासमा सरोकारवालाहरुले जोड दिएका छन् । सो धार्मिकस्थल परिसरमा रहेका विभिन्न संरचना सताक्षीधाम धार्मिक तथा पर्यटन विकास संस्थामार्फत विकास गरी यसको स्वरुपमा सौन्दर्यता कायम राखिनुपर्ने उनीहरुको जोड छ ।

सताक्षीधाम धार्मिक तथा पर्यटन बिकास संस्थाले आयोजना गरेको अन्तरक्रियामा सरोकारवालाले विगत, वर्तमान र आगामी योजना र विकासका चरणसम्बन्धी आ–आफ्ना धारणा राखेका थिए । सताक्षीधाम धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष तुलाराम बोखिमको अध्यक्षता र पूर्वसांसद तारासम योङ्याको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रियामा उपाध्यक्ष उदयप्रकाश राईले सताक्षीधामका योजना, विकास, प्राथमिकतासहित समस्या र चुनौतीबारे जानकारी गराए ।

उपाध्यक्ष राईले पछिल्लो समय सताक्षीधाम धार्मिक तथा पर्यटन विकास संस्थाले सञ्चालन गरिआएका धार्मिक गतिविधि, धाम क्षेत्रमा गर्न लागिएका योजना, त्यसका प्राथमिकताका विषयमा बताउँदै छिट्टै सवारी पार्किङको योजना व्यवस्थित रुपमा अघि बढाइने बताए ।

उनले भने, “सताक्षीधाममा आगान्तुक श्रद्धालु तीर्थयात्री र अन्य प्रयोजनमा आगन्तुक पर्यटकका सुविधाका लागि सवारीसाधन पार्किङ गर्नुपर्ने भइसकेको छ, यसमा हाम्रो गएको छ ।” उपाध्यक्ष राईले सताक्षीधामको प्रवेशद्धारको आसपासमा दुई पाङ्ग्रे र अरु हलुका सवारी साधन पार्किङ गर्ने र अरु ठूला सवारी साधनका लागि वनभोजस्थल नजिकै पार्किङ गर्न उपयुक्त जमिनको खोजी गरिएको बताए ।

संस्थाका पूर्वअध्यक्ष प्रसाद सुब्बाले सताक्षीधाम क्षेत्रभित्र विभिन्न शक्तिपीठ स्थापना भएको र अरु स्थापना गर्ने क्रममा रहेका कारण त्यसलाई निश्चित विधि र विधानमा रहेर सञ्चालन गर्न जोड दिए । अन्तरक्रियामा सताक्षीधाम धार्मिक तथा पर्यटन विकास संस्थाका पूर्वसचिव देवीप्रसाद गुरागाइँ, सल्लाहकार रुद्रमणी भट्टराई, तेमेलुङ किरात माङहिमका सचिव अभिषेक नेम्बाङ, डिल्लीरमरण खतिवडा लगायतले सताक्षीधामको धार्मिक तथा पौराणिक महत्वबारे बोल्दै सो क्षेत्रको विकासका लागि लागिपर्नुपर्ने सुझाव दिए ।

सो अवसरमा शिवसताक्षी नगरपालिकाका निवर्तमान प्रमुख चन्द्रकुमार शेर्मा, जिल्ला समन्वय समितिका सदस्य जुनु महरा, शिवसताक्षी–८ का वडा सदस्य रीता थापा, झिलझिले बजार व्यवस्थापन समितिका अध्यक्ष बजरग अग्रवाल, महिला नेत्री खनिमायाँ श्रेष्ठ, दूधे खुद्रा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण बजगाइँलगायत सरोकारवालाको उपस्थिति थियो ।

प्रकाशित मिति : फाल्गुन ३०, २०८० बुधबार  ८ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]