बैशाख १६, २०८१ आईतबार

लागुऔषध दुव्र्यसन नियन्त्रण गर्न प्रभावकारी योजना बनाऔं

सम्पादकीय
लागुऔषधको समस्या दिनप्रतिदिन बढिरहेको छ । कारोवार बढेसँगै प्रयोगकर्ता पनि बढिरहेका छन् । प्रयोग बढेसँगै अपराध पनि बढिरहेको अवस्था छ । केहि दिनअघि मात्रै गौरादह नगरपालिकाभित्र एउटा घटना भयो । आफ्नै नातीले हजुरआमाको हत्या गरेर मलखाडीमा पुरेको भेटियो । सो घटनाका सम्बन्धमा झापा प्रहरीले अनुसन्धान गरिरहेको छ । नाति लागुऔषध प्रयोगकर्ता रहेको खुलेको छ । उनले साथीहरुको समेत सहयोगमा हजुरआमाको हत्या गरेको आरोप लागेको छ । यो एउटा लागुऔषधले निम्त्याएको डरलाग्दो घटना हो । यस सम्बन्धमा हाम्रो समाज अझै पनि सचेत हुन सकिरहेको छैन ।

झापामा पछिल्लो समय बढ्दै गइरहेको लागुऔषधको कारोवार र प्रयोग विकराल बन्दै गइरहेको छ । हरेक चोक र गल्लीहरुमा लागुऔषधको प्रयोग गर्नेहरु भेटिन्छन् । चोक–चोकमा लागुऔषधको विक्री भइरहेको छ । युवासँगै युवतीहरु पनि लागुऔषधको दुव्र्यसनमा फसिरहेका छन् । जसको नियन्त्रणमा राज्य पक्ष वेवास्था गरिरहेको छ । हरेक वर्ष लागुऔषध प्रयोग गर्नेहरुलाई पक्राउ गरिएको विवरणहरु सार्वजकि हुने गर्छन् । बरामत गरिएका लागुऔषधको बारेमा प्रहरीले विवरण सम्प्रेषण गर्ने गरेको छ । तर, यसको नियन्त्रण र नियमनका लागि प्रभावकारी योजनाका बारेमा कम छलफल भइरहेको छ । सरोकारवाला निकायहरु पनि यस सन्दर्भमा मौन देखिन्छन् ।

खुला सीमाका कारण लागुऔषधको आयात सहज छ । सुरक्षाकर्मीहरुकै सामुन्नेबाट लागुऔषध आयात भइरहेको पाइन्छ । सुरक्षाकर्मीका लागि चेकजाँच गर्ने प्रविधि छैन । अन्दाजको भरमा मान्छे नियन्त्रणमा लिएर चेकजाँच गर्नुपर्ने परिस्थिति छ । राज्य आफै पनि लागुऔषधको समस्या समाधान गर्न चाहिरहेको पाइदैन । प्रहरीले पक्राउ गर्ने काम गरिरहेको छ, व्यापार गर्नेहरु व्यापार गरिरहेका छन् । जिम्मेवार नागरिक र सरोकारवालाले लागुऔषध दुव्र्यसन विरुद्ध सचेतना मुलक कार्यक्रम गर्दै त्यसका संलग्नलाई कडाभन्दा कडा कारबाहीको व्यवस्था मिलाउनुपर्छ । सबैभन्दा जिम्मेवार निकाय भनेको स्थानीय सरकार पनि हो । स्थानीय सरकारले सबैभन्दा प्राथमिकता दिएर लागुऔषध दुव्र्यसन विरुद्ध अभियान सञ्चालन गर्नुपर्छ । त्यसका लागि संवद्ध पक्षहरुसँग योजना निर्माण गरि तत्काल काम अघि बढाउनुपर्ने आवश्यता छ ।

प्रकाशित मिति : चैत्र ५, २०८० सोमबार  ९ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]