बैशाख १५, २०८१ शनिबार

अध्ययनसँगै स्वरोजगार बनौं

सम्पादकीय
असंभव भन्ने कुरा छैन । मेहनत र परिश्रम गर्ने, खोज अनुसन्धान गर्नेहरुका लागि जताततै संभावनाहरु हुन्छन् । मेहनत नगर्ने, सबै विषयमा पैसाको हिसाव मात्रै गर्नेहरु जीवनमा प्रायःसफल बन्न सक्दैनन् । झापा बिर्तामोड–२ चारपानेका १८ वर्षीय युवा विद्यार्थी उज्वल शाहको जीवन कथाले धेरैलाई प्रेरणा दिएको छ । एउटा स्कुले विद्यार्थी अध्ययनसँगै दैनिक २ हजारसम्म आम्दानी गरिरहेका छन् । जसलाई मेहनत गर्न लाज लागेको छैन, काम गर्न अल्छी छैन । उनले आम्दानीसँगै अध्ययनलाई पनि अघि बढाए । कम्प्युटर साइन्स अध्ययन गर्दै काम गर्न त्यति सहज छैन । तर, उज्वलको मेहनतले संभव बनाइदियो ।

मध्यम वर्गीय परिवारको सदस्य उज्वलले दुई वर्षदेखि सिटी सफारी चलाइरहेका छन् । विहान कलेज सकेर दिनभर सिटी सफारी चलाउने उनको दैनिकीले अध्ययनसँगै रोजगारी गर्न सकिन्छ भन्ने कुरालाई पुष्टि गरेको छ । अहिले वेरोजगारी बढिरहेको भन्ने चर्चा छ । वास्तवमा सत्य पनि हो । तर, काम गर्न चाहनेहरुका लागि स्वरोजगार बन्ने वातावरण पनि जीवित छ । एकै पटक धेरै पैसा आर्जन हुने काम खोजेर बस्ने हो भने काम पाइदैन, पैसा पनि आम्दानी गर्न सकिदैन । काम र पैसा दुवै विस्तारै बढाएर जान्छु भन्ने सोच राख्नुपर्छ । यदि त्यसरी सोच बनाउन सकियो भने काम भेटिन्छ । बेरोजगार भएर बस्नु पर्दैन ।

अहिले अधिकांश युवा विद्यार्थी विहान कलेज गएर दिनभरको समयलाई उपयोग गर्न सकिरहेका हुदैनन् । किनभने, एक त काम गर्ने जाँगर छैन, मेहनत गर्ने अठोट छैन । युवाले मेहनत गर्ने अठोट राख्ने हो भने आम्दानी गर्न सकिन्छ । जसरी उज्वलले कलेज समय बाहेक काम गर्ने सोच बनाए, त्यसरी काम गर्न तयार हुनुपर्छ । पार्टटाइम काम गर्ने जनशक्तिको ठुलो माग छ । तर, काम भन्दा धेरै ज्याला माग्नेहरुका कारण रोजगारदाताहरु समस्यामा छन् । श्रमअनुसारको ज्यालाको व्यवस्थापन मात्रै गर्ने हो भने कोहि पनि विद्यार्थी बेरोजगार बन्नु पर्दैन । विद्यार्थीकालमा अध्ययनसँगै सीप सिक्न सिकौं ,स्वरोजगार बनौं ।

प्रकाशित मिति : चैत्र ६, २०८० मंगलबार  ७ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]