बैशाख २५, २०८२ बिहीबार

झापाका १५ हजार ८ सय विद्यार्थी एसईईमा सहभागी हुने

३५ प्रतिशत नम्बर नल्याउने विद्यार्थी फेल

बिर्तामोड । झापामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी अन्तिम चरणमा पुगेको छ । शिक्षा विकास तथा समन्वय इकाई झापाले चैत्र १५ गतेबाट हुने परीक्षाको तयारी अन्तिम तयारीमा पुगेको जनाएको छ ।

चैत १५ गतेबाट सुरु भई चैत २७ गतेसम्म परीक्षा सकिने बोर्डको परीक्षा तालिका छ । यो वर्ष झापाबाट १५ हजार ८ सय २२ जनाले विद्यार्थीले एसईई परीक्षामा भाग लिने शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । सोही अनुसार जिल्लाभरका विद्यार्थीहरुलाई प्रवेश पत्र वितरण गरिसकिएको छ ।

परीक्षा बोर्डले जिल्ला प्रहरी कार्यालयमा पठाएको प्रश्नपत्रहरु दुई दिनभित्र जिल्लाका इलाका प्रहरी र प्रहरी चौकीमा पठाइने छ । यसअघि उत्तरपुस्तिका केन्द्रहरुमा पठाइसकेको बताईएको छ । समन्वय इकाईका कर्मचारी ओम राईले जिल्लामा ५७ वटा परीक्षा केन्द्रहरु रहेको जानकारी दिए । चैत्र १०–१२ भित्र केन्द्राध्यक्ष नियुक्ति गरेपछि तयारी पुरा हुने राईको भनाई छ । जिल्लामा सबैभन्दा धेरै बिर्तामोड नगरपालिकामा ८ वटा र सबैभन्दा कम बाह्रदशी र गौरीगञ्जमा १÷१ वटा परीक्षा केन्द्रहरु रहेका छन् ।

परीक्षामा देशभरबाट ५ लाख ३ हजार भन्दा बढी विद्यार्थीले एसईई दिन परीक्षा फाराम भरेका छन् । बोर्डले परीक्षाको लागि प्रश्नपत्र देशभरका ७४ जिल्लामा पठाइसकेको छ । काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा केही दिनमा पठाउने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए ।

७४ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा प्रश्नपत्र पठाइएको हो । काठमाडौँ उपत्यकाको हकमा २२-२३ वटा प्रहरी कार्यालयमा पठाउनुपर्ने भएकाले केही समय लागेको पौडेलले बताए ।

‘प्रश्नपत्र काठमाडौँ बाहेकका जिल्ला पु¥याइसकियो । काठमाडौँका प्रहरी चौकी चौकी पु¥याउनुपर्छ । यहाँ १-२ दिनमा जान्छ । यहाँ २२-२३ ठाउँमा पठाउनुपर्छ । भित्र ट्रकमा पठाउन मिल्दैन । सानो गाडीमा पठाउनुपर्ने हुन्छ । त्यो बाहेक प्रश्नपत्रबाहेकको प्रदेश र जिल्लाले गर्ने काम पनि भइरहेको छ’ पौडेलले भने ।

केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षा व्यवस्था लगायतको कार्य प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिले गर्नेछ । केन्द्राध्यक्ष, निरीक्षकहरू नियुक्त गरेपछि उनीहरूले तालिम समेत प्रदान गर्ने गरिन्छ । त्यसका लागि परीक्षा हुनुभन्दा केही दिन अगाडि मात्रै तालिम दिने गरिन्छ ।

पास हुन ३५ प्रतिशत अनिवार्य
बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार एसईई गर्न लागेको हो । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले लेटर ग्रेड निर्देशिका अनुसार पहिलो पटक एसईई गर्न लागिएको बताए ।

न्यूनतम ‘बी’ ग्रेड ल्याउनको लागि सैद्धान्तिकमा ३५ प्रतिशत अनिवार्य ल्याउनुपर्ने अध्यक्ष शर्माले बताए । यस पटक नयाँ लेटर ग्रेडिङ निर्देशिका अनुसार न्यूनतम बी ग्रेड ल्याउनको लागि सैद्धान्तिकमा ३५ प्रतिशत र प्रयोगात्मकमा ४० प्रतिशत अनिवार्य गरिएको बताए ।

२ वटाको छुट्टा छुट्टै रूपमा ल्याउनुपर्ने व्यवस्था गरिएको हो । विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था थियो । यो पटक भने दुवै छुट्टा छुट्टै अङ्क ल्याउनुपर्ने व्यवस्था गरिएको हो ।

कक्षा ११ र १२ को हकमा भने उक्त निर्देशिका कार्यान्वयन भएको २ वर्ष भयो । कक्षा १० को हकमा पहिलो पटक कार्यान्वयनमा आउन लागेको हो । राष्ट्रिय पाठ्यक्रम परिषद्ले नयाँ पाठ्यक्रम लागू भएपछि कक्षा १० मा नयाँ ग्रेडिङ निर्देशका लागू गर्ने निर्णय भएको थियो । सोही आधारमा यो वर्ष नयाँ पाठ्यक्रम अनुसार पठनपाठन भएको र परीक्षा पनि सोही अनुसार हुन लागेको बताए ।

के छ लेटर ग्रेडिङ निर्देशिका २०७८ मा ?
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट ७ पुस २०७८ मा निर्देशिका जारी गरेको थियो । विद्यार्थीको सिकाई क्षमतालाई यथारूपमा प्रमाणीकरण गर्ने, सिकाई उपलब्धिको मापनबाट प्राप्त अङ्कगत स्तरलाई आठवटा अक्षरगत स्तरमा सूचित गर्ने निर्देशिका उद्देश्य रहेको छ ।

शैक्षिक क्षतिलाई न्यूनीकरण गर्दै शैक्षिक गुणस्तर प्रवर्धन गर्ने, एकल विषय प्रमाणीकरणका माध्यमबाट विद्यार्थीको बहु बौद्धिकताका आधारमा सिकाई अवसर प्रदान गर्ने समेत निर्देशिकाको उद्देश्य रहेको छ ।

उक्त निर्देशिका विद्यालय शिक्षा (कक्षा १–१२) मा लागू भएको हो । कक्षा १० को एसईई, कक्षा ११ को वार्षिक परीक्षा र कक्षा १२ को बोर्ड परीक्षाका अतिरिक्त अन्य कक्षाहरूको हकमा समेत उक्त निर्देशिका अनुसार नै मूल्याङ्कन हुने गरेको हो । निर्देशिका अनुसार ३५ प्रतिशत भन्दा कम अङ्क ल्याएको खण्डमा उक्त विद्यार्थीले प्रमाणपत्र नपाउने बोर्डले जनाएको छ । त्यसका लागि विद्यार्थीले पुन परीक्षा दिनुपर्ने हुन्छ ।

त्यस्तै ३५ देखि ४० प्रतिशतभन्दा कम अङ्क ल्याउने विद्यार्थीलाई स्तरीकृत अंकमा १.६ दिइनेछ भने अक्षरमा डी ग्रेड दिइनेछ । जुन उपलब्धिको स्तरमा आधारभूत (बेसिक) मानिनेछ । ९० प्रतिशत र शो भन्दा माथि प्रतिशत आएको खण्डमा सर्वोत्तम (आउटस्ट्याण्डिङ) मानिने निर्देशिकामा उल्लेख छ ।

प्रकाशित मिति : चैत्र ६, २०८० मंगलबार  ७ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]