‘लागुऔषध नियन्त्रणमा अभिभावकको भूमिका प्रभावकारी हुनुपर्छ’
५८० मुद्धा दर्ता , अभिमुखीकरणमा लक्षित सहभागी न्यून , ९०७ जना पक्राउ
बिर्तामोड । झापा जिल्लामा लागुऔषध कारोवार र प्रयोग गर्नेहरुको संख्या बढ्दै गइरहेको तथ्याङक सार्वजनिक गरिएको छ । तथ्याङक अनुसार ०७८-७९ देखि गएको फागुन महिनासम्म लागुऔषध कारोवारमा संलग्नविरुछ ५ सय ८० वटा मुद्दा दर्ता भएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मंगलवार बिर्तामोडमा आयोजना गरिएको लागुऔषध सम्बन्धी अभिमुखिकरण कार्यक्रममा त्रिवर्षीय मुद्दा दर्ता, मानिस पक्राउ र लागुऔषध परिमाण समेत सार्वजनिक गरिएको थियो ।
उक्त विवरण अनुसार सो समयावधिमा पुरुष ८१९ र महिला ८८ जना महिला पक्राउ गरिएको छ । लागुऔषध कारोवारमा महिलाको संख्या पनि बढिरहेको पाइएको छ । जिल्लामा लागुऔषधमा सबैभन्दा धेरै कारोवार र प्रयोग हुनेमा ब्राउन सुगर रहेको तथ्याङक छ । ०७८-७९ देखि हालसम्म करिव ५ केजी ब्राउन सुगर बरामत गरेको प्रहरीको भनाई छ । ५ केजी ब्राउन सुगर अत्यन्तै ठुलो मात्रा रहेको बताइएको छ ।
कार्यक्रममा लागू औषध नियन्त्रण व्यूरोका प्रमुख प्रहरी उपरीक्षक गोविन्द थपलियाले लागूऔषधसम्बन्धी विभिन्न तथ्याङ्क, कार्यविधि तथा रणनीतिहरुका बारेमा जानकारी गराएका थिए ।
लागू औषध नियन्त्रणमा स्थानीय तहको समेत सहभागिता र भूमिकाको बिषयमा अन्तरक्रिया गर्न कार्यक्रम आयोजना गरिएको लागू औषध नियन्त्रण व्यूरोका प्रमुख प्रहरी उपरीक्षक थपलियाले जानकारी दिए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा समेत लागू औषधसम्बन्धि कार्यका लागि स्थानीय तहहरुको भूमिका उल्लेख गरिएको उनले जानकारी दिए ।
पछिल्लो तथ्याङ्क हेर्दा लागू औषध दुव्र्यसनको अवस्था भयानक बन्दै गएकाले अभिभावकहरुको भूमिका अहम् हुनुका साथै स्थानीय तहले यसको नियन्त्रण, रोकथाम, अनुसन्धान र सहभागितामा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने व्युरो प्रमुख थपलियाले धारणा थियो ।
बिर्तामोडमा आयोजित स्थानीय पालिका एवम् संघसंस्थाका पदाधिकारी लक्षित लागू औषध रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उपस्थिति न्यून थियो । आयोजकको तयारी र निम्तो अनुसार सरोकारवाला नै उपस्थित भएका थिएनन् ।
कार्यक्रममा झापाका चार पालिका प्रमुख र पाँच उपप्रमुखको मात्र सहभागिता रहेको थियो । मंगलबार अतिथी सदनमा आयोजित कार्यक्रममा दमक नगरपालिकाका प्रमुख राम थापा, अर्जुनधाराका प्रमुख बलदेवसिंह गोम्देन, मेचीनगरका गोपालचन्द्र बुढाथोकी र भद्रपुरका प्रमुख गणेश पोखरेल उपस्थित भएका थिए । मेचीनगरका प्रमुख बुढाथोकी कार्यक्रम सकिनु अगावै निस्किएका थिए भने भद्रपुरका प्रमुख पोखरेल केहि ढिलो गरी कार्यक्रम हलमा प्रवेश गरेका थिए ।
त्यस्तै दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई, गौरीगञ्ज उपप्रमुख पुजन न्यौपाने, बिर्तामोडका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, कनकाई उपप्रमुख आशा शिवाकोटी र हल्दिबारी उपप्रमुख लक्ष्मीदेवि मैनाली उपस्थित थिइन् ।
बिर्तामोडलगायत केहि पालिकाका वडाध्यक्ष तथा जनप्रतिनिधी र केहि संघसंस्थाका प्रतिनिधीहरु कार्यक्रममा सहभागी थिए । कार्यक्रममा बाक्लो संख्यामा जनपथ तथा सशस्त्र प्रहरीका अधिकृत तथा जवानहरुको उपस्थिती रहेको थियो ।
प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन प्रमुख अतिथी जिल्ला समन्वय समितिका संयोजक विश्वनाथ बरालले गरेका थिए । कार्यक्रममा सहभागिहरुलाई जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले स्वागत गरेका थिए ।