बैशाख १७, २०८१ सोमबार

एमालेले इलाम क्षेत्र नं २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने

काठमाडौं । नेकपा एमालेले आगामी बैशाख १५ गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा इलामा क्षेत्र नं २ बाट सुहाङ नेम्वालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो । बैठकले बझाङको प्रदेश सभा १ मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सिङ्गो पार्टी शक्ति नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउन लाग्ने र अरू पार्टीलाई पनि एमालेका उम्मेदवारको पक्षमा सहयोग, समर्थन र सद्भावका लागि अपिल गर्ने निर्णय बैठकले गरेको बैठक पछि पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले देशको राष्ट्रिय हितको रक्षा र संवर्द्धनमा केन्द्रित भएर लाग्ने ठोस सङ्कल्प गरेको ज्ञवालीले बताउनुभयो । सरकार पनि त्यही हिसाबले कामलाई अझ बढी चुस्त, समस्या केन्द्रित र जनतामा आशा, भरोसा जगाउने गरी अघि बढोस् भन्ने शुभकामना बैठकले दिएको उहाँले जानकारी दिनुभयो ।

बैठकले रसियाको मस्कोमा भएको आतङ्ककारी हमलाको पनि निन्दा गरेको छ । एमाले सबै खालका अतंकवादी हमलाको विरोधमा सधैँभरि उभिने गरेको उहाँले प्रष्ट पार्नुभयो ।

पार्टी केन्द्रीय सदस्य ऐनबहादुर महरले दिएको राजनीतिमा स्वीकृत गरेकोमा उहाँले फेरी पार्टीमा निष्ठाका साथ सक्रिय काम गर्ने प्रतिबद्धता जनाउनुभएकोले पार्टी विधानको धार ६५ अनुसार पुनः केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय बैठकले गरेको छ ।

गृह मन्त्री रवि लामिछाने विरुद्ध कुनै पनि नियामक निकायमा औपचारिक मुद्दा दायर नभएको भन्दै उहाँले लामिछानेको राजीनामा मागेर नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्नु गलत भएको बताउनुभयो । हिजो प्रधानमन्त्रीको लागि आफैँले अफर गरेको व्यक्ति गृह मन्त्रीमा अयोग्य भयो भनेर कांग्रेसले भन्नु यो आफैँमा द्वैध चरित्र भएको ज्ञवालीले स्पष्ट पार्नुभयो । भोलि कुनै नियामक निकायमा मुद्दा दर्ता भयो भने गृह मन्त्रीले छानबिनका लागि मार्गप्रसस्त गर्नुपर्ने ज्ञवालीले बताउनुभयो । ‘अहिले नेपाली कांग्रेले गरिहरेको आलोचना र माग राजनीतिक रूपमा पूर्वाग्रहग्रस्त छ’, उहाँले भन्नुभयो ।

हिजो एमालेले संसद् अवरुद्ध गरेर संसदीय व्यवस्थालाई बदनाम गरायो भन्ने कांग्रेस आज कसरी संसद् अवरुद्ध गर्ने पक्षमा जान्छ ? भन्दै ज्ञवालीले प्रश्न गर्नुभयो ।

सहकारी पीडितका बारेमा भर्खरै सम्झौता गरेको बताउँदै उहाँले त्यस क्रममा छानबिन गर्दा कोही दोषी देखिए कारबाही हुनु पर्ने उहाँले बताउनुभयो । तर राजनीतिक प्रतिशोधको आधारमा  विषयवस्तु उठान गर्नु र त्यसैको आधारमा संसद् अवरुद्ध गर्ने कुरालाई जिम्मेवार कदम भन्न नसकिने ज्ञवालीले स्पष्ट पार्नुभयो ।

नेकपा एमालेको अहिलेको एक मात्र अर्जुनदृष्टि, सुशासनको प्रवर्धन, विकास निर्माण र समृद्धिको यात्रालाई तीव्रता दिएर जनतामा आशा र भरोसा जगाउने भएको उहाँले बताउनुभयो । यति बेला एमालेका निम्ति राज्यका कुने पनि निकाय पद महत्वका विषय नभएको उहाँले प्रष्ट पार्नुभयो । ‘हाम्रा निम्ति अरू सबै कुरा तपसिलका मात्रै हुन्’, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : चैत्र ११, २०८० आईतबार  ३ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]