बैशाख १७, २०८१ सोमबार

झापामा होली लक्षित ५ सय सुरक्षाकर्मी परिचालन

बिर्तामोड । झापामा होली पर्वलाई मर्यादित र सुरक्षित बनाउन जिल्लाभर ५ सय सुरक्षाकर्मी परिचालित गरिएको छ । आज झापासहित तराईका जिल्लामा हर्सोउल्लासका साथ होली पर्व मनाइँदैछ । होलीलाई मित्रवत् पर्वको रुपमा मनाउन जिल्ला प्रहरी कार्यालय झापाले आम जिल्लावासीलाई अपिल गरेको हो । होलीको लागि छुट्टै सुरक्षा रणनीति बनाएको बताउँदै जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले भने, ‘आज बिहानदेखि जिल्लाभर ट्राफिकसहित ५ सय प्रहरी परिचालन हुन्छ ।’

‘विशेष गरी मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने, हेलमेट नलगाउने र तीन जना सवार हुने मोटरसाइकलमाथि निगरानी बढाएर तत्काल नियन्त्रणमा लिन जिल्लाभरका इञ्चार्जहरुलाई निर्देशन दिइसकेका छौँ,’ एसपी केसीले भने ।

आइतवार जिल्लाभरका इञ्चार्जहरुलाई प्रहरी कार्यालयमा बोलाएर होली लक्षित सुरक्षा योजनाका बारेमा निर्देशन दिइसकेको उनको भनाई छ । होली मनाउने क्रममा कसैको इच्छा विपरीत बाधा पुग्ने गरी रङ्ग नलगाउन, महिला तथा अपरिचित व्यक्तिहरूको मन्जुरी बिना जबरजस्ती होली खेल्नेलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गरिने उनले बताए ।

साथै बालबालिकाहरूलाई होली खेल्ने, खेलाउने र लोला हान्ने कार्यमा प्रयोग नगर्न, घरको छतबाट लोला हान्ने, रङ्ग छ्याप्ने, जथाभाबी लोला हान्दा आपसी झैँ–झगडा बढाउने र अप्रिय घटनाहरू समेत निम्त्याउन सक्ने तथा लोला लागेर मान्छेहरू घाइते समेत हुन सक्ने हुँदा सभ्य तरिकाले होली मनाउन उनले आग्रह गरेका छन् ।

होली खेल्ने बाहानमा चोरी, लुटपाट जस्ता घटनाहरू समेत हुन सक्ने भएको हुँदा आफूले बोकेको पर्स, मोबाइल, आफूले लगाएको गरगहना सुरक्षित राख्न प्रहरीले अपिल गरेको छ ।

प्रकाशित मिति : चैत्र १२, २०८० सोमबार  १० : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]