बैशाख १५, २०८१ शनिबार

होलीमा फजुल खर्च नगरौं

सम्पादकीय

रंगहरुको पर्व फागु पूर्णिमा (होली) आइतवार पहाडी क्षेत्रमा मनाइयो । आज तराईमा भव्यताका साथ मनाइदैछ । विशेष गरी हिन्दुधर्मावलम्बीहरुले होली पर्व मनाउने गर्छन् । नेपालमा दुई दिन मनाइने रंगहरुको पर्व पछिल्लो वर्षहरुमा अराजक र असभ्य पनि बन्दै गइरहेको छ । एक अर्कालाई रंग लगाउने र खुसीयाली साटासाट गरेर मनाइने होली शत्रुता भुलेर खुसीयाली मनाउँने पर्वका रुपमा परिचित छ । तर, रंग खेल्ने नाममा भइरहेको अराजकता, असुरक्षा भने चिन्ताको विषय हो । यसलाई सुधार गर्ने दायित्व सबैको जिम्मेवारी हो ।

दानवता माथि मानवताको विजय भएको खुसीयालीमा होली पर्वलाई लिइन्छ । यसको महत्वलाई हेर्ने हो भने होली पर्व सामाजिक सद्भावका निमित्त मनाइने पर्व हो । यो पर्व असभ्यताको प्रदर्शन गर्न मनाउने होइन । युवा वर्गले होलीलाई बेजोड मनाउने गरेको पाइन्छ । आजको दिन तराईमा पार्टी प्यालेस, सार्वजनिक स्थलहरु, पार्कमा भव्य रुपमा होली मनाउने गरिन्छ । सुरक्षाका दृष्टि आजको दिनलाई जोखिमका रुपमा पनि लिइन्छ । त्यसैले आम नागरिकले जिम्मेवार पूर्वक होलीलाई मनाउनुपर्छ ।

होली पर्वको अर्को विकृत रुप भनेको तडकभडक खर्च नै हो । चाडवाडलाई हर्षोल्लास बनाउनुपर्छ । तर, अनावश्यक खर्च, तडकभडक र नसालु पदार्थको सेवन गरेर अनावश्यक खर्च गर्न हुदैन । आर्थिक मन्दीको प्रभाव हरेक परिवारमा छ । त्यसैले चाडवाडमा पनि सकेसम्म कम खर्चबाटै ठुलो खुशीको खोजी गर्नुपर्छ । आवश्यक खर्च मात्रै गरेर चाडवाडलाई मनाउने गरौं । हरेक पर्वहरुलाई सभ्य र भव्य बनाउने एउटा पक्ष भनेको खर्च पनि हो । तर, फजुल  खर्चले सभ्यभन्दा असभ्यलाई बढावा दिन्छ । हुलहुज्जत र झैझगडाका संभावनाहरुलाई पनि ख्याल गरेर होली पर्व मनाऔं । र, आजको दिन अन्य दिनहरुभन्दा पनि सजग भएर सवारी चलाऔं ।

प्रकाशित मिति : चैत्र १२, २०८० सोमबार  १० : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]