बैशाख १७, २०८१ सोमबार

एमाले झापाको ११ औं जिल्ला अधिवेशनको तयारी पूरा

बिर्तामोड । नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । चैत १५ र १६ गते बिर्तामोडमा हुन गइरहेको जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रचार प्रसार उपसमितिका संयोजक असारु राजवंशीले जानकारी दिए ।

प्रचार उपसमितिका संयोजक राजवंशीका अनुसार बिर्तामोडस्थित अग्रसेन भवनमा जिल्ला अधिवेशन हुनेछ । त्यसका लागि मञ्च व्यवस्थापनको काम भइसकेको छ । जिल्ला अधिवेशनको उद्घाटन एमालेका केन्द्रीय अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने राजवंशीले जानकारी दिए । अधिवेशनमा सहभागी हुन अध्यक्ष ओली बुधबार २ बजे झापा आइपुग्ने छन् ।

अधिवेशनको पूर्व सन्ध्यामा बिर्तामोडमा सजिसजावटको काम भएको छ । जिल्लाभर चोक बजार क्षेत्रमा झण्डा, व्यानर राख्ने काम भइसकेको छ भने खाद्य तथा अन्य व्यवस्थापनको समेत तयारी पुरा भइसकेको बताइएको छ ।
करिव ८ सय प्रतिनिधि हुने जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने छ । जिल्ला अधिवेशनबाट १५० सदस्यीय कमिटी बन्ने बुझिएको छ ।

जिल्ला अधिवेशनको क्रममा विभिन्न विद्यामा अग्रज तथा पुराना नेताहरुलाई सम्मान गर्ने कार्यक्रम राखिएको छ । पार्टी स्थापनाकालका संगठक पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेता अमृत कुमार बोहोरा लगायतलाई सम्मान गर्ने तयारी छ । यस्तै, महिला संगठक, उत्कृष्ट कृषकसहित अन्य विद्याहरुमा पनि सम्मान गर्ने तयारी भइरहेको छ ।
अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतिको प्रयास भइरहेको बुझिएको छ । सर्वसम्मति नभए निर्वाचन प्रक्रियाबाट नेतृत्व टुंगो लगाइने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : चैत्र १३, २०८० मंगलबार  ७ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]