बैशाख १५, २०८१ शनिबार

जंगली जनावरबाट सतर्कता अपनाऔं

सम्पादकीय
झापाको शिवसताक्षीमा बुधबार साँझ एक दम्पत्तिमाथि जंगली हात्तीले आक्रमण गर्दा एक जनाको घटना स्थलमै मृत्यू भयो । श्रीमान–श्रीमति घाँस दाउरा गरिरहेको बेला जंगली हात्तीले आक्रमण गरेको थियो । झापाको विभिन्न ठाउँमा जंगली हात्तीको चहलपहल हुने गरेको छ । एक बेला बाँहुन्डागीमा मात्रै देखिने जंगली हात्ती अहिले जिल्लाको सबै ठाउँमा देखिन्छ । जंगली हात्तीले जनधनमा ठुलो क्षति पुराइरहेको छ । जिल्लाको उत्तरी भेगमा मात्र क्षति पुराइरहेको जंगली हात्ती दक्षिण क्षेत्रमा पनि उत्तिकै क्षति पुराउने काम गरिरहेको छ । कृषि बालीमा जंगली हात्तीले गरिरहेको विध्वंशले किसान ठुलो मारमा परेका छन् ।

जंगली हात्तीले मानिसलाई आक्रमण गरेको, लछारपसार पारेको घटनाहरु बाक्लो गरी आइरहेको छ । अझ, झापा जिल्ला उच्च जोखिम मै छ । गाउँघर मै पुगेर जंगली हात्तीले मानीवय क्षति पुराइरहेको कयौं घटनाहरु छन् । तर, जंगलमा जंगली हात्तीले आक्रमण गरेको विषय सोचनीय छ । जंगलमा जंगली जनावरले आक्रमण गर्ने संभावना अधिकतम नै हुन्छ । त्यसबाट मान्छेले सतर्कता अपनाउनै पर्छ । अझ, जिल्लाका प्रायः सबैजसो जंगलमा जंगली हात्ती भेटिन्छ । त्यो हुँदा जंगलमा काम गर्दा जंगली हात्तीबाट सुरक्षित रहनैपर्छ । जंगली हात्तीको विगविगी भइरहेको बेला सतर्कता अपनाउनुपर्छ । सतर्कता नअपनाएकै कारण जंगली हात्तीको आक्रमण हुने गरेको छ ।

जंगलमा बस्नुपर्ने जंगली जनावरहरु मानववस्तीमा प्रवेश गरिरहेका छन् । कहिले बिर्तामोड बजार त कहिले सुरुङामा जंगली हात्ती ओहोर दोहोर गरिरहेको पाइन्छ । बजार क्षेत्रमा बाँदरको पनि उपस्थिति भइरहेको देख्न पाइन्छ । जंगललाई मानव जातिले अधिकतम उपयोग गरेका छन् । जंगलमा जनावरका लागि खाने कुरा छैन । खानपानको व्यवस्था नभएकै कारण जनावर बाहिर आएका छन् । जंगलमा फेन्सिङ तार लगाउने, गस्ती गर्ने, पार्क निर्माण गरेर आम्दानीको स्रोत निर्माण गर्ने परिपाटी बढिरहेको छ । जसले जनावरहरुलाई जीवनयापनमा समस्या भइरहेको बुझ्न सकिन्छ । यसैले जंगल क्षेत्र जनावरका लागि अनुकुल बनाउनुपर्छ । र, अधिकतम सावधानी अपनाएर कुनै पनि किसिमको दुर्घटना हुनबाट जोगाउनुपर्छ ।

प्रकाशित मिति : चैत्र १५, २०८० बिहीबार  ७ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]