बैशाख १५, २०८१ शनिबार

८४ मा झापा मात्र होइन, देश नै लालकिल्ला हुनेछ : ओली

बिर्तामोड । नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशन सुरु भएको छ । आज एमालेका केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन गरेका हुन् । जिल्ला अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले पञ्चायत विरुद्ध पात पनि नहल्लिने समयमा झापामा वामपंथीहरुले आन्दोलन सुरु गरेको बताएका छन् । त्यहि आन्दोलनको जगबाट पार्टी निर्माण र मुलुकको परिवर्तन संभव भएको बताए । झापा आन्दोलनले झापाबासीको समेत शीर उच्च बनाएको स्मरण गर्दै अध्यक्ष ओलीले वामपंथी लोकतान्त्रिक आन्दोलनले परिवर्तनमा ठुलो योगदान गरेको बताए ।

अध्यक्ष ओलीले भने– झापा लाल किल्ला रहन्छ, कसैले हात हाल्ने चेष्टा नगरे हुन्छ । गल्तीले जितेर जानेहरुले राष्ट्रको निमित्त कुनै काम गर्ने गर्न सकेका छैन । होइन भने झापा १ नं क्षेत्रमा गएर हेरे पुग्छ । अधिवेशनलाई सम्बोधन गर्दै उनले एमालेको अहिलेको लक्ष्य भनेको मिसन ८४ रहेको बताए । मिसन ८४ मा देशभर एमालेको बहुमत हुने र समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पुरा हुने उनको भनाई थियो ।

कांग्रेस थोत्रे पार्टी भएको बताउँदै उनले अब कांग्रेससँग जनताले आश मारिसकेको धारणा राखेका थिए । जस्तो सुकै कठिन परिस्थितिमा समेत एमाले जनताको निमित्त बलियो ढंगले उभिने भन्दै एमालेमा गोलवन्ध हुन आग्रह गरे । अधिवेशनका लागि एक दिन अघि झापा आएका उनले जनताले भरोसा गरेको पार्टीमा एकता हुन जरुरी रहेको बताए ।
जिल्ला अधिवेशनलाई लक्षित गर्दै ओलीले भने – पार्टीभित्र आन्तरिक एकता र सहकार्य गर्ने हो । विरोधीहरु विरुद्ध मात्रै संघर्ष गर्नुपर्छ । पार्टी जीवनमा आन्तरिक संघर्षले पार्टीलाई क्षति पुग्ने उनको धारणा थियो ।

०८४ मा हरेक वडामा एमालेको सुर्य झण्डा फहराउनका लागि एमालेमा आन्तरिक एकता बलियो हुनुपर्ने बताएका हुन् । उनले निर्वाचनमा जाने, लोकतान्त्रिक केन्द्रियता नमान्नेहरु दुर्घटनामा पर्न सक्ने संकेत गरे । आफ्नो कामको मुल्याङकन गरेर मात्रै अघि बढ्न ओलीको निर्देशन थियो ।

उनले कार्यकर्ताहरुलाई एकतावद्ध भएर अधिवेशन सम्पन्न गर्न आग्रह समेत गरेका छन् । निर्वाचन प्रक्रियालाई लामो बनाएर खर्च बढाउने काम नगर्न आग्रह गरेका छन् ।

उनले कन्द्रीय राजनीति नयाँ समिकरणबाट अघि बढेको जानकारी दिए । सरकार निर्माणमा गठबन्धन भएको होइन, उनले भने, यो नयाँ समिकरण हो । यसले जनताको निम्ति काम गर्नेछ ।

कार्यक्रममा अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा, पार्टी उपाध्यक्ष राम थापा बादल, अष्टलक्ष्मी शाक्य, झापा जिल्ला इञ्चार्ज विशाल भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अधिवेशनको कार्यतालिका अनुसार चैत १६ गते शुक्रवार विहान ८ बजेबाट बन्द शत्र सुरु हुनेछ । बन्दसत्रबाट प्रतिवेदन पास गरेपछि साँझसम्ममा नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयन, १७ गते सर्वसम्मतिको प्रयास र १८ गते चुनाव गर्ने कार्यतालिका छ ।

अध्यक्षमा कार्यवाहक अध्यक्ष पे्रम गिरी र शिव ढुङ्गेल आकांक्षी रहेका छन् ।

पार्टीलाई हालको अवस्थासम्म ल्याउन योगदान गर्ने पार्टीका पूर्व जिल्ला प्रमुखहरू डिल्लीराम मैनाली (विनोद) काठमाडौँ, कालिदास श्रेष्ठ (चिन्तन) गौरादह ५, अमृतकुमार बोहरा काठमाडौँ ३, मनकुमार गौतम बिर्तामोड १, नरेश खरेल बिर्तामोड ५ र देवीप्रसाद ओझा काठमाडौँलाई कदरपत्र प्रदान गरिएको छ ।

यसैगरी झापाको महिला आन्दोलनमा अग्रणी भूमिका खेल्ने नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य काठमाडौँ ३, अनेम संघ झापाको संस्थापक जिल्ला अध्यक्ष शोभा कुँवर काठमाडौं, पृथ्वी शोभा मैनाली काठमाडौँलाई सम्मान गरिएको छ ।

यसैगरी पार्टी जीवनमा लामो समय व्यतित गरेका र हाल पनि सक्रिय रहेको ७० वर्षभन्दा माथि उमेरका अग्रजहरु सुमित्रा प्रसाई दमक १, सावित्रा खड्का, मेचीनगर ६ र जेष्ठ कम्युनिस्ट एवं ट्रेड युनियन कर्मी अन्तलाल धिमाल दमकलाई पनि कदर पत्र प्रदान गरी सम्मान गरिएको छ ।

यस्तै, जिल्लाका स्थानीय कमिटीहरुमध्ये महिलाले नेतृत्व गरेको खुदनाबारी गाउँ कमिटीको तत्कालीन सचिव जानुका सिटौला शिवाकोटी काठमाडौँलाई सम्मान गरिएको थियो ।

नेकपा एमाले झापाले एघारौँ जिल्ला अधिवेशनको अवसरमा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीको हातबाट झापाका दुई वटा उत्कृष्ट संस्थाहरू झापा इनर्जी लिमिटेड र तारा नमस्ते बालग्रामलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

यसैगरी लाहा उत्पादक किसान गौरादह २ हाँसखोरका डम्बरबहादुर विश्वकर्मा, दुग्ध उत्पादक किसान दमकका सुदिव गौतम, विभिन्न मेसिनरी सामान जोडेर जहाजको डेमो बनाई उडाउने उत्कृष्ट प्रतिभा बुद्धशान्तिका सविन बास्कोटा र गीत संगीतको क्षेत्रमा अब्बल प्रतिभा गायिका मेनुका पौडेललाई सम्मानित गरिएको छ ।

नेकपा एमाले झापाको कार्यालय भवन रहेको जग्गामध्ये १ कठ्ठा दान गर्नुहुने पुराना कम्युनिस्ट नेता नन्दकुमार प्रसाई र अब बनाइने नयाँ भवनको लागि ५–५ कठ्ठा गरी १० कठ्ठा दान गर्ने डिल्लीराम सिटौला र उनकी छोरी बिनादेवी सिटौला डंगाललाई कदरपत्र प्रदान गरिएको छ ।

प्रकाशित मिति : चैत्र १५, २०८० बिहीबार  ८ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]