असार १७, २०८२ मंगलबार

आगलागी पीडित सन्थाल समुदायको स्थायी घर निर्माणका लागि पहल गर्दै कोशी सरकार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङको रंगेलीस्थित सन्थाल बस्तीमा भएको आगलागी पीडित परिवारको वासस्थानलाई स्थायी समाधानका लागि पहल गरिरहेको बताएका छन् । पीडित परिवारसँग प्रत्यक्ष भेट गरी वासस्थानका लागि स्थानीयवासी, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न सामाजिक संघसस्थाको सहकार्यमा वासस्थानको स्थायी समाधान गरिने बताएका हुन् ।

यही चैत्र ३ गते सन्थाल समुदायको बसोबास रहेको सो ठाउँमा आगलागीबाट २३ वटा घर जलेर नष्ट भएको थियो । सन्थाल बस्ती सुकुम्वासी बस्ती हो । उनीहरूले दैनिकरुपमा गुजारा गरेर जीविकोपार्जन गर्दै आएका छन् । प्रत्यक्ष भेटका क्रममा मुख्यमन्त्री कार्कीले अब विपन्नले विपन्नमात्रै नभई सम्पन्न बन्ने अभियानमा लाग्नुपर्ने बताए । ‘उनले भने, यो दुःखदायी अवस्था भए पनि यसलाई असारको हिलो सम्झनुहोस्, जहाँ केही मिहिनेत गरियो भने, मङ्सिरमा अन्न भित्राउन पाइन्छ ।’

मुख्यमन्त्री कार्कीेले स्थानीय निकायले सो समुदायलाई आफ्नै जग्गाको व्यवस्थाका लागि अग्रसरता लिन आग्रह गरेका छन् । ‘प्रदेश सरकारले सुकुम्वासीले घर बनाउनका लागि लिएको जग्गाको ऋणको ब्याज मिनाहा गर्ने, योजना ल्याएको छ । तपाइँ हामीले आँट गर्याैँ भने उहाँहरूलाई सम्पन्न बनाउन सकिन्छ ।’ उनले भने ।

मुख्यमन्त्री कार्कीको नेतृत्वमा विराटनगर १२ मा सुकुम्वासीहरूले ऋण लिएर खरिद गरेको जग्गामा सम्पन्न बस्ती निर्माण अन्तिम चरणमा पुगेको छ । जहाँ ऋषिदेव समुदायका १४५ परिवारले आफैले जग्गा किनेर त्यसको किस्ता आफ्नै श्रमबाट मासिकरुपमा तिरिरहेका छन् । सोही जग्गामा मुख्यमन्त्री कार्कीको नेतृत्वमा विभिन्न सामाजिक संघसस्थाको सहकार्यमा घर निर्माण कार्य भएको हो ।

मुख्यमन्त्री कार्कीले भने, यही मोडलबाट यहाँ पनि घर बनाउन सकिन्छ, अब विपन्न समुदाय विपन्न मात्रै भइरहने होइन, सम्पन्न बन्ने अभियानमा होमिनु पर्दछ । जसका लागि प्रदेश सरकारले मानवीय विकासमार्फत यसको सुरुवात गरिसकेको छ ।’

प्रकाशित मिति : चैत्र १६, २०८० शुक्रबार  ९ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]