बैशाख १६, २०८१ आईतबार

एमाले झापाको बन्दसत्र जारी : प्रतिवेदनहरु पारित, शनिवारबाट निर्वाचन कार्यक्रम सुरु हुने

बिर्तामोड । नेकपा एमाले झापाको बिहीवारदेखि सुरु ११ औं जिल्ला अधिवेनको दोस्रो दिन तीन वटा प्रतिवेदनहरु पारित गरिएका छन् । शुक्रवार विहानदेखि सुरु भएको बन्दसत्रमा दिनभर राजनीति प्रतिवेदन, सांगठानिक प्रतिवेदन र आर्थिक प्रतिवेदनमाथि छलफल भएको थियो ।

पार्टीका कार्यवाहक अध्यक्ष प्रेम गिरीले राजनीति प्रतिवेदन, सचिव शिव ढुङ्गेलले सांगठानिक प्रतिवेदन र कार्यलय सचिव छविलाल विश्वकर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमाथि समूहगत छलफल भएको अध्यक्ष मण्डलका अध्यक्ष विशाल भट्टराईले जानकारी दिए । उनका अनुसार समूहगत छलफलबाट आएका राम्रा सूझावहरुलाई समेत समेट्ने गरी प्रतिवेदनहरु पारित गरिएको छ ।

बन्दसत्रको पहिलो दिन प्रतिनिधिहरुले झापाको इतिहास र विकासमा एमालेको दृष्टिकोण बारे व्यापक चर्चा गरेका छन् ।

चैत १५ गते एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनमा बन्दसत्रले निर्वाचन कार्यविधि समेत पारित गरेको भट्टराईले जानकारी दिए । उनका अनुसार निर्वाचन कार्यक्रम संशोधनको सूचना प्रकाशित गरेर शनिवार विहानबाट प्रक्रिया अघि बढ्ने छ ।

निर्वाचन कार्यक्रम अनुसार शनिवार विहान ९ देखि १० बजेसम्म उम्मेद्वारको दरखास्त फाराम वितरण, साढे १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता, ४ बजे उम्मेद्वारको प्रारम्भिक सूची प्रकाशन, ५ बजेसम्म विरोधमा उजुरी दिन पाइने, ६ बजे उम्मेद्वारको पुनः सूची प्रकाशन, बेलुका साढे ८ बजेसम्म उम्मेद्वारले नाम फिर्ता लिन पाउने र बेलुकी ९ बजे उम्मेद्वारको फाइनल सूची प्रकाशित गरिने उनले जानकारी दिए ।

आइतवार विहान ७ देखि दिउँसो २ बजेसम्म मतदान गर्ने कार्यक्रम तय भएको र मतदान सकिए लगत्तै मतगणना सुरु हुनेछ । मतदानस्थल अग्रसेन भवनमै रहने र मतगणना भने जिल्ला पार्टी कार्यालयमा हुने बताइएको छ ।

यता, अध्यक्षका उम्मेदवार शिव ढुङ्गेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सहमति भएको भन्दै विभिन्न मिडियाले भ्रमपूर्ण खवर प्रकाशन गरेका छन् । त्यस्तो कुनै सहमति भएको छैन । उक्त सूचनाहरु सत्य नभएको ढुङगेलले स्पष्ट पारेका छन् ।

जिल्ला अध्यक्षमा कार्यवाहक अध्यक्ष प्रेम गिरी र सचिव ढुङगेल आकांक्षी रहेका छन् ।

प्रकाशित मिति : चैत्र १६, २०८० शुक्रबार  ८ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]