बैशाख २२, २०८१ शनिबार

नलुकाऔं कुष्ठरोग

सम्पादकीय

विभिन्न सूचकांकहरुमा अगाडि रहेको झापामा कुष्ठरोग संक्रमणको तथ्याङ डरलाग्दो छ । कुष्ठरोगको तथ्याङक हेर्दा देशभरका जिल्लाहरुमध्ये झापा रेडजोनमा छ । अर्थात, संक्रमण दर उच्च छ । बर्षेनी संक्रमण पनि बढिरहेको पाइन्छ । कुष्ठरोगीहरुको संख्या हेर्दा विश्वका आधा संक्रमितहरु भारतमा रहेको तथ्याङक छ । भारतसँग जोडिएको नेपालमा त्यसको फैलावट अवस्था सामान्य छैन । वर्षेनी नयाँ कुष्ठरोग संक्रमितहरु भेटिरहेका छन् । त्यसैले यसको निवारणमा विशेष ख्याल गर्नुपर्ने देखिन्छ । झापा रेडजोनमा रहेकोले संक्रमितहरुले नियमित औषधि सेवन नगर्ने, रोग भएर पनि लुकाएर बस्ने, सतर्कता नअपनाउने कारण समस्या बढ्दै गइरहेको छ ।

झण्डै ३० वर्षअघि झापाको कुष्ठरोगीको संख्या हेर्दा १० हजार जनसंख्या बराबर १७ जना रोगी भेटिन्थे । अहिले १० हजार बराबर १.६ संक्रमण दर छ । कुष्ठरोग १० हजार जनसंख्या बराबर १ भन्दा कम व्यक्तिलाई संक्रमित हुनुलाई मात्र सामान्य मानिन्छ । तर, झापाको हरेक वर्ष संक्रण दर धेरै छ । त्यसमा पनि कचनकवल, बिर्तामोड र दमक धेरै अगाडि देखिन्छन् । सीमा क्षेत्र खुला हुनु र आवातजावतमा सहज हुनुले पनि कुष्ठरोग संक्रमण बढिरहेको छ । शरिरमा हुने शंकास्मद दाग लुकाएर कोहि पनि नबसौं । कुष्ठरोगको शंका भएमा स्वास्थ्य संस्थामा गएर जाँच गराऔं । नियमित औषधि सेवन गरौं । नियमित औषधि सेवनले कुष्ठरोग निको हुन्छ । तर, स्वास्थ्यकर्मीको सल्लाह सूझाव लिने गरौं ।

कुष्ठरोगले आँखा, हात र खुट्टामा धेरै असर गर्ने गरेको छ । कुष्ठरोगीहरुलाई सामाजिक रुपमा विभेद हुने गरेको छ । विभेद हुने कारण रोग भएका व्यक्तिहरु पनि बाहिर आउन सकेका छैनन् । कुष्ठरोगका समस्या भएकाहरुलाई बाहिर नल्याउने हो भने यो रोग फैलिएर जाने छ । त्यसैले स्वास्थ्य संस्थासँगै स्थानीय सरकारले तल्लो तहसम्म संक्रमितहरुको खोजी गरेर उपचारका लागि अघि बढाउनुपर्छ । वडा तहसम्म कुष्ठरोग भएका व्यक्तिहरुको खोजपड्ताल गर्ने र उपचार गर्ने दायित्व सबैको काँधमा जिम्मेवारी छ । त्यसैले यो रोग निवारणका लागि सरोकारवाला क्षेत्र प्रभावकारी ढंगबाट क्रियाशिल हुन आवश्यक छ । र, कुष्ठरोगको शंका भएका व्यक्तिहरु रोग लुकाएर नबसौं । कुष्ठरोग अन्त्य गर्न सहकार्य गरौं ।

प्रकाशित मिति : चैत्र १७, २०८० शनिबार  ९ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]