बैशाख २३, २०८१ आईतबार

लागुऔषधको जालो भत्काऔं

सम्पादकीय
झापामा लागुऔषधको कारोवार र प्रयोगमा बढ्दै गइरहेको जालोले समाजलाई डरलाग्दो बाटोमा अघि बढाइरहेको छ । तर पनि जिम्मेवारी नागरिक र सरोकारवाला निकाय मौन बसिरहेको अवस्था छ । झापामा लागुऔषधको कारोवार र प्रयोगले जरो गाढिसकेको छ । जिल्लाका बजार क्षेत्र मात्र होइन, दुरदराजसम्म यसको कारोवार र प्रयोग बढ्दै गइरहेको छ । मुख्य गरेर मेचीनगर, बिर्तामोड, दमक,अर्जुनधारा र भद्रपुर ट्रान्जिट पोइन्ट नै भइसकेको छ । कम्तिमा धेरै प्रभावित स्थानीय तहहरुले प्रभावकारी रुपमा यसको पूर्ण नियन्त्रणमा चासो देखाउन जरुरी छ । अहिले पनि पालिकाहरुले सामान्य चासो दिइरहेका छन् । तर, यति नै पर्याप्त भइरहेको छैन ।

लागुऔषधले एउटा युवा उमेर समूह चुर्लुम्म डुवेको छ । यसबाट सबैलाई मुक्त गराउन आवश्कय छ । सरकारी निकायमा धेरै मुद्धाहरुमध्ये लागुऔषधसँग सम्बन्धित छ । कारागारमा सबैभन्दा धेरै कैदीवन्दीहरु पनि लागुऔषध मुद्धामा जोडिएकाहरु छन् । प्रहरीको हिरासतको अवस्था हेर्ने हो भने पनि लागुऔषध कारोवारी र प्रयोगकर्ताहरुकै संख्या ठुलो छ । हरेक वर्ष जिल्लामा सुधार केन्द्रहरुको संख्या बढ्दो छ । यसरी बढ्नै जाने हो भने हरेक घरका युवाहरु लागुऔषधमा जोडिने निश्चिछ । लागुऔषधका कारण अधिकांश परिवारमा तनाव छ । तनाव लिइरहेको परिवारले यस प्रकारको घटनालाई बाहिर ल्याउन सकिरहेका छैनन् ।

साझा समस्या भएकाले यसलाई मिलेर नियन्त्रण गर्नुपर्छ । पूर्ण नियन्त्रणका लागि साझा अभियानको थालनी गर्ने दायित्व जिम्मेवार नागरिकको हो । यसैले समस्या देखाएर मात्र होइन, समाधानका लागि सहयोग गर्न सक्नुपर्छ । स्थानीय तहहरुले यसको अगुवाई गरेर लागुऔषधमूक्त समाज निर्माण गर्ने परिकल्पना गर्नुपर्छ । लागुऔषध दुव्र्यसन नियन्त्रण बाहिर छ । प्रहरीको एकल प्रयासले नियन्त्रण गर्न कठिन छ । प्रहरीले आफ्नो सारा संयन्त्र प्रयोग गरेर दुव्र्यसनमा लागेका र कारोवारीलाई नियन्त्रणमा लिइरहेको छ । प्रहरीको काम नै लागुऔषध कारोवारीलाई पक्राउ गर्ने जस्तो भएको छ । तर, कारोवारी र प्रयोगको पूर्ण नियन्त्रणमा कुनै निकायको ध्यान गएको पाइदैन । पूर्ण नियन्त्रणका लागि साझा अभियानको खाँचो छ ।

प्रकाशित मिति : चैत्र १८, २०८० आईतबार  ८ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]