बैशाख २१, २०८१ शुक्रबार

इलाम-२ मा चुनावी सरगर्मी

कोकिला ढकाल
इलाम, चैत १९ गते । इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचनको मिति नजिकिएसँगै चुनावी सरगर्मी बढ्न थालेको छ । गत मङ्सिरको चुनावमा इलाम २ बाट निर्वाचित भएका नेकपा (एमाले)का उपाध्यक्ष साथै संविधानसभाको अध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्वाङको निधन भएपछि यस क्षेत्रमा फेरि निर्वाचन हुन लागेको हो ।

निर्वाचनका लागि अधिकांश दलहरुले उम्मेद्वारको टुङ्गो लगाएसँगै भोट माग्न थालिसकेका छन् । नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पहिचान पक्षधर र अन्य स्वतन्त्र उम्मेदवारहरु आफ्नो उम्मेदवारी घोषणालगत्तै घरदैलो कार्यक्रम सुरु गरिसकेका छन् ।

यता उम्मेदवारी टुङ्गो लगाउन बाँकी रहेको नेकपा (माओवादी केन्द्र) ले सोमबार उपनिर्वाचनमा धिरेन शर्मा रमणलाई उम्मेदवार बनाउन प्रदेशमा सिफारिस गरेको छ । केन्द्रीय सदस्य शर्माले जिल्लाले आफ्नो एकल नाम प्रदेशमा पठाएको र प्रदेशबाट सोमबार नै केन्द्रमा सिफारिस हुने बताउनुभयो ।

यता संसदको ठूलो दल नेपाली कांग्रेसले भने अझै उम्मेदवारी टुङ्ग्याएको छैन । सोमबार साँझ अथवा भोलि (मङ्गलबार) सम्ममा उम्मेदवारी टुङ्गो लाग्ने कांग्रेस बताएको छ ।

यसअघि नेकपा (एमाले)बाट सुहाङ नेम्वाङ, रास्वपाबाट मिलन लिम्बू, नेकपा (एकीकृत समाजवादी) बाट जितबहादु राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, पहिचान पक्षधर डकेन्द्र थेगिम, पहिचान पक्षधर नै प्रेमदीप लिम्बू, स्वतन्त्र उम्मेदवारका रुपमा डाकप्रसाद गौतमको उम्मेदवारी घोषणा भएको छ ।

२०७९ को निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्बाङ यो क्षेत्रबाट ३० हजार २० मत ल्याएर विजयी हुनुभएको थियो । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय छ मत ल्याउनुभएको थियो । रास्वपाका प्रकाश सापकोटाले एक हजार तीन सय ८० मत ल्याउनुभएको थियो । समानुपातिकतर्फ एमालेले २६ हजार पाँच सय ६२, कांग्रेसले २२ हजार तीन सय ३३, माओवादीले पाँच हजार एक सय ५३ र रास्वपाले चार हजार छ सय ८६ मत ल्याएका थिए । एमाले नेता नेम्वाङको निधनपछि हुन लागेको उपनिर्वाचनमा पनि एमाले सिट फर्काउन लागिपरेको छ ।

प्रकाशित मिति : चैत्र १९, २०८० सोमबार  ५ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]