बैशाख २१, २०८१ शुक्रबार

झापाकी मोबिना : एकै वर्षमा लोकसेवा आयोगका सात परीक्षा उत्तीर्ण

बिर्तामोड । मेहनत गरे अवश्य सफलतामा हात पार्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् झापा दमककी मोबिना खातुन । लोक सेवा आयोगको परीक्षमा एक वर्षभित्रै ७ वटा परीक्षामा उत्तीर्ण गर्ने उनी हाल कृषि विकास बैंकमा कार्यरत छिन् ।

कृषि विकास बैंक राजविराजमा व्यवसाय अधिकृतको रुपमा कार्यरत मोबिनाले ०७८-७९ मा लोकसेवा आयोगमा ७ वटा परीक्षा दिएकी थिइन् । लोक सेवा परीक्षाका लागि तयारी गर्दा यति धेरै परीक्षामा नाम निस्केला भन्ने उनले सोचेकी पनि थिइनन् । तर, एक वर्षमा ७ वटै परीक्षामा उत्तीर्ण हुन सफल उनी सम्भवत नेपालकै पहिलो मुस्लिम समुदायकी महिला हुन् ।

पहिलो पटक नेपाल बैंक लिमिटेडको सहायक पदमा परीक्षा पास गर्न सफल उनले लगातार बैंककै परीक्षा दिइरहिन् । उनले कनिष्ठ सहायक (नेपाल बैंक लिमिटेड), सहायक (राष्ट्रिय वाणिज्य बैंक लिमिटेड), वरिष्ठ सहायक (राष्ट्रिय वाणिज्य बैंक लिमिटेड), सहायक प्रबन्धक (राष्ट्रिय वाणिज्य बैंक लिमिटेड), व्यवसाय सहायक (कृषि बैंक लिमिटेड) मा नाम निकाल्न सफल भइन् । अहिले व्यवसाय अधिकृतको रुपमा कार्यरत खातुनले इच्छा भए सोही अनुसारको मेहनत गर्दा सफलता अवश्य प्राप्त हुने बताउँछिन् ।

एक वर्षमा सातवटै परीक्षामा उत्तीर्ण हुन सफल मोबिना सम्भवत  :

नेपालकै पहिलो मुस्लिम समुदायकी महिला हुन् ।

बुबा लाल महमद मंसुर र माता साहजहान खातुनको छोरी मोविना बारा कलैयाबाट विवाह गरेर झापा दमक आएकी हुन् । उनी व्यवसाय गर्ने परिवारमा हुर्किएकै कारण बैंक क्षेत्रमा प्रवेश गरेको बताउँछिन् । उच्च शिक्षा अध्ययन गरेको समयमा बुबाले बैंकमा व्याज तिर्न, पैसा जम्मा गर्न बैंक पठाउने गर्थे । उनले भनिन्, ‘बैंकभित्र प्रवेश गरेपछि सधैं आनन्त लाग्थ्यो । यसैगरी बैंक क्षेत्रमै प्रवेश गर्न पाए कस्तो हुन्थ्यो होला भन्दै सधैं कल्पना गर्थें ।’

बैंकप्रति आकर्षित उनले क्याम्पस तहमा बिबिएस अध्ययन सुरु गरिन् । बैंकर्स बन्ने अठोट बोकेर बिबिएस अध्ययन सुरु गरेकी उनको त्यसै बीचमा विवाह भएर झापाको दमक आएको सुनाइन् ।

श्री ३ चन्द्र मावि कलैया बाराबाट एसएलसी, हरिखेतान बहुमुखी क्याम्पस वीरगञ्ज पर्साबाट स्नातक तह र विवाह पश्चात दमक बहुमुखी क्याम्पसबाट एमबिएस अध्ययन पूरा गरिन् । उनको विवाह पनि व्यापारिक परिवारमै भयो । परिवारबाट पनि ठुलो सहयोग भएकै कारण मेहनत अनुसारको सफलता हात पारेको उनको भनाइ छ ।

परीक्षाको तयारी गरिरहेकै बेला कोरोना संक्रमण फैलियो, उनले भनिन्, त्यो बेला हतोत्साहित भएँ । समयमा परीक्षा नहुने, कतिपय परीक्षाको सन्दर्भमा लोकसेवामा मुद्धा मामिला हुँदा समस्या भोग्नु परेको थियो ।

पहिलो पटक नेपाल बैंक मोरङको विराटचोक शाखामा कार्यरत उनले जति नै खर्च गरेर अध्ययन गरे पनि इन्ट्रेसको विषय नभए सफल बन्न कठिन हुने बताइन् । ‘मैले लोकसेवाबाट खुल्ने सबै परीक्षाको लागि सधैं तयारी गर्थें, परीक्षाका लागि आवेदनहरु भरिरहन्थेँ । अनलाइन कक्षाहरु लिने गर्थें । त्यसै अनुसारको सिलेवस खोजेर अध्ययन गर्थें’, विगत सम्झिदै उनले थपिन्, ‘घरपरिवारको कामको सहजताका लागि विहान ३ बजेदेखि पढ्ने रुटिन थियो । व्यापारिक परिवार भएकाले दायित्व पनि धेरै थियो । तर, समय आफै व्यवस्थापन गरेर पढ्ने वातावरण तयार गरेको थिएँ ।’

विद्यालय जीवनमा पनि अध्ययनमा सधैं उत्कृष्ट मोबिनालाई पढ्न बसेपछि उठ्नै मन लाग्दैनथ्यो । उनी भन्छिन्, ‘सबैभन्दा ठुलो कुरा भनेको इच्छा मात्र रहेछ । मेहनत गर्दा सबै काम सहज छन्, मेहनत नगर्दा सबै काम असहज लाग्छन् । मैले मेहनत गरेँ, सबै परीक्षाहरु सहज नै लाग्यो ।’ कोसिस गर्नेहरुका लागि कुनै काम कठिन नहुने उनको तर्क छ ।

उनले लोकसेवा अध्ययनमा मुख्यतः रुचि नै जरुरीको विषय भएको बताउँछिन् । रुचि भए अध्ययन पनि मेहनतका साथ गर्न सकिन्छ । अझ, महिलालाई संविधान बमोजिम नै कोटाको व्यवस्था गरेको हुनाले त्यसको उपयोग गर्न सक्नुपर्ने उनको धारणा छ ।

प्रकाशित मिति : चैत्र २०, २०८० मंगलबार  ६ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]