जेष्ठ ५, २०८१ शनिबार

मान्छे भन्दा धेरै बिरालो भएको सहर

सिरियाली र रुसी सेना बलहरुले महिनौँसम्म बम बर्साएपछि कफ्र नबल नामक सिरियाली शहर, अहिले मान्छे भन्दा धेरै बिरालोहरुको बासस्थान बन्न पुगेको छ ।

भत्किएका संरचनाहरुबीच एउटा कुनामा बसेर एक्लै काम गरिरहेपनि ३२ वर्षीय सलह जेरले कहिल्यै एक्लो महसुस गर्दैनन् किनकि उनका साथमा आधा दर्जन भन्दा बढी बरालोहरु पनि त्यहीँ शरण लिएर बसेका छन् । 

जेरले बीबीसीका संचारकर्मी माइक थोमसनसँग भने, “यी बिरालोहरु नजिक हुनुले मलाई धेरै सहज महसुस गराएको छ । यसले बाहिरको बमवर्षा, पीडा र संकटलाई केही कम भयानक तुल्याउने गरेको छ ।” 

कफ्र नबलमा कुनैसमय ४० हजार बढी मानिसहरु बसोबास गर्थे तर अहिले त्यहाँ १०० भन्दा कम मानिस मात्र बाँकी छन् अर्कोतर्फ बिरालोहरुको गणना चाहिँ सयौँ नभएर हजारौँमा रहेको छ । 

उनी भन्छन्, “यति धेरै मान्छेहरु यो सहरछाडेर गइसके कि हाम्रो जनसङ्ख्या अत्यन्तै सानो हुन पुगेको छ । यस्तोमा बिरालोहरुको ख्याल राख्ने र तिनलाई खाना पानी दिने कोही छैन । यसकारण उनीहरु यहाँ बाँकी रहेका घरहरुमा शरण लिइरहेका छन् । अहिले प्रत्येक घरमा कम्तीमा पनि १५ वटा सम्म बिरालोहरु छन् । ” 

जेर अझैपनि समाचार रिपोर्टरका रुपमा स्थानीय रेडियो स्टेसनका लागि काम गर्छन् । 

हालैको हवाइ हमलापछि उनको कार्यालय एउटा भत्किएको संरचनामा परिणत भए पनि भाग्यवश् स्टेसन सञ्चालनमा आइरहेको छ । 

उनीहरु त्यहाँबाट नजिकै रहेको अर्को एक सुरक्षित शहरमा सरेका हुन् । 

उक्त रेडियो स्टेसनले बम हमलाबारे चेतावनी प्रशारण गर्दछ भने विभिन्न समाचार, कमेडी र फोनकलका कार्यक्रमहरु गर्ने गरेको छ । 

यसबीच यो रेडियो स्टेसन मान्छे र बिरालो दुवैमाझ लोकप्रिय बनेको हो । 

हाल सो रेडियो स्टेसनमा दर्जनौँ बिरालोहरु बसिरहेका छन् । 

तर दुःखद् रुपमा स्टेसनका संस्थापक एवम् प्रभावशाली अभियन्ता रइद फेरेस भने गत २०१८ को नभेम्बरमा इस्लामिस्ट बन्दुकधारीहरुबाट मारिएका थिए । 

उनैले स्टेसनका सबै कर्मचारी र बिरालोहरुका लागि भनेर दूध र चिज वितरण गर्ने गरेका थिए । 

यसबारेमा जेर भन्छन्, “त्यसैबीच धेरै बिरालोहरु हाम्रो भवनमै जन्मिएका थिए र रइद ती सबैमध्ये एउटा बिरालोसँग अत्यनत नजिक थिए । त्यो बिरालो सधैँ रइदको पछि लागिरहन्थ्यो र उनैको छेउमा गएर सुत्थ्यो ।” 

तर रइदको हत्यापछि भने अहिले सो भवन भग्नावशेशमा परिणत भएको छ तरपनि त्यस नजिक जाँदा धेरै सङ्ख्यामा बिरालोहरु कराएको सुन्न सकिन्छ । 

उनी भन्छन्, “कहिलेकाहिँ त बाटोमा हिँिडरहेका बेला हामी सँगसँगै लागेर २० देखि ३० वटासम्म बिरालो आउने गर्छन् र हामीसँगै घरममा पुग्छन् । त्यस्तै राति भएपछि बिरालो मात्र नभएर भोकाएका कुकुरहरुको आवाज पनि सर्वत्र सुनिन्छ ।” 

यस्तोमा सुत्ने र खाने स्थानका लागि कुकुरहरुले बिरालोसँग निकै प्रतिस्पर्धा गर्नुपर्ने सलाह बताउँछन् । बिरालोहरुको सङ्ख्या अधिक भएकै कारण उनीहरुले सजिलै कुकुरलाई भगाउने गरेको उनको भनाइ छ । 

उनका अनुसार केही समय अगाडिसम्म ती सबै कुकुरबिरालोहरु शहरबाट भागेका परिवारहरुले अधिक मायाले पालेका घरपालुवा थिए । 

तर अहिले तहसनहस भएको शहरका बीच उनीहरु बेवारिसे भएका छन् भने दैनिक खानेबस्ने ठाउँबाट वञ्चित छन् । 

यसरी जेर जस्ता मानिसहरु त्यहाँ कतिन्जेल बाँच्छन् भन्ने निश्चित नभएपनि उनीहरुले आफ्ना यी चारखुट्टे साथीहरुलाई स्थान दिइरहेका छन् । 

जेर भन्छन्, “सागसब्जी होस् या सुख्खा पाउरोटी वा चाउचाउ, मैले जतिबेला जे खान्छु उनीहरुलाई पनि दिन्छु । यो अवस्थामा हामी दुवै कमजोर प्राणी हौँ र एकअर्काको मद्दत गर्नु नै सबैभन्दा उचित हो ।”

जेरका अनुसार मान्छे जसरी नै बिरालोहरु पनि दुर्घटनामा परेर घाइते हुन्छन् तर औषधि, खानेकुरा लगायत अतिआवश्यक साधनहरुको अभाव रहेतापनि सबै जिवित प्राणीहरुको ख्याल राख्ने सक्दो प्रयास भइरहेको छ । 

उनी भन्छन्, “धेरै राम्रा र नराम्रा क्षणहरु एक साथ भोगिसकेका छौँ । त्यसैले कफ्र नबल यो भन्दा भयानक अवस्थामा पुगे, हामीहरु आफूले सक्नेजति जनावरहरु पनि साथमा लिएर शहरबाट बाहिरिनेछौँ ।” 

प्रकाशित मिति : पुष १८, २०७६ शुक्रबार  ११ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]