बैशाख १७, २०८१ सोमबार

अटो सञ्चालनमा लापरबाही नहोस्

सम्पादकीय
झापाको सडक क्षेत्रमा सबैभन्दा धेरै देखिने सवारी साधनमध्येको एक हो, अटो तथा सिटी सफारी । सिटी सफारीभन्दा पहिले सडकमा रिक्साको संख्या थियो । रिक्सालाई सिटी सफारीले विस्थापित गरेको थियो । अहिले सिटी सफारीलाई अटोले विस्थापित गरिरहेको छ । बिर्तामोड बजारमा अटोको संख्या दिनप्रतिदिन बढिरहेको छ । अटोको संख्या वृद्धि भएसँगै दुर्घटनाको जोखिम पनि उत्तिकै बढिरहेको छ । केहि दिनअघि बिर्तामोड वडा नं। ३ मा दुर्घटना भएको थियो ।

तीब्र गतिमा हुइकिएको अटो ओभरटेक गर्ने हुँदा दुर्घटनामा पर्यो । जहाँ, एक जना युवाले ज्यान नै गुमाउनु परेको थियो ।
सडकमा सिटी रिक्सा र अटो आएसँगै आम नागरिकलाई आवतजावतमा सहज भएको छ । मानवीय सुविधाका दृष्टिले अटोहरुको सेवा ठिकै छ । तर, अटो क्षेत्रमा अति नै लापरबाही र मनपरी चलिरहेको छ । ट्राफिक नियमको पालना नगर्ने, सडक दुर्घटनाको जोखिमलाई ख्याल नगर्ने, सडक संरचनालाई वेवास्था गर्ने लगायतका लापरबाहीले गर्दा दुर्घटना निम्तिरहेको छ । सडकमा सबैले सुरक्षित रुपमा यात्रा गर्न पाउनुपर्छ । त्यसका लागि सडकमा पैदल वा सवारी चलाउने जो कोहि जिम्मेवार हुनुपर्छ ।

बिर्ता बजारमा पल्टिएको अटोको भिडियो नै सार्वजनिक भएको थियो । त्यो भिडियो हेर्दा चालकले अटोलाई उढाउन खोजे जस्तो देखिन्थ्यो । त्यो हदसम्मको लापबारही गरेर यात्रुहरुको जीवनमाथि खेलवाड गर्ने छुट कसैलाई छैन । अटोको संख्या सडकको संरचना र यात्रुहरुको आवश्यकताभन्दा धेरै भइसक्यो । एक बेला घरघरमा साइकल हुन्थ्यो । त्यस्तै, अहिले घरघरमा अटो छ । अटो सञ्चालनको लागि सरोकारवालाहरुले सोच्ने बेला आएको छ । यहि दरमा थपिदै जाने हो भने अटोको भीड सडकले थाम्न सक्दैन । आवश्यकताभन्दा धेरै अटो हुनुले दुर्घटनाको जोखिम बढेको हो । सडकमा अटोका कारण हदैसम्मको समस्या छ । पैदल यात्री होस् या अन्य सवारीहरुमा यात्रा गर्नेले अटोका कारण धेरै कष्ट व्यवहोर्नु परेको छ । त्यसैले अटो व्यवसायको नेतृत्व गर्नेहरुले व्यवस्थापनका लागि योजना निर्माण गरेर दुर्घटना न्यूनिकरणमा सहयोग गर्न जरुरी छ ।

प्रकाशित मिति : चैत्र २४, २०८० शनिबार  १० : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]