बैशाख १७, २०८१ सोमबार

उद्यमी बन्न चहानेलाई सहयोग गरियोस्

सम्पादकीय
नेपाली समाजमा श्रम गर्न धेरै कठिनाई मानिरहेको पाइन्छ । भरसक यत्तिकै समय व्यतित गरेर जीवन चलिरहोस् भन्ने चाहना अधिकांशमा छ । आफै रोजगार गर्ने भन्दा पनि भरसक अर्कैकोमा रोजगारी गर्ने भन्ने मानसिकता छ । यसले जीवनलाई दीगो समाधान दिन सक्दैन । यो अल्पकालिम र मौसमी मात्रै हुन सक्छ । सबैभन्दा पहिले जीवनलाई सहज बनाउनका लागि सीप सिक्न जरुरी छ । यदि सीप भएमा कोही पनि कहिल्यै बेरोजगार बन्नुपर्ने छैन । सीप सिकेर उद्यमी बन्नु सबैभन्दा राम्रो पक्ष हो । अझ, व्यवसायी नै बन्न सकियो भने गज्जब हुन्छ । तर, उद्यमी वा व्यवसायी बन्न सकिएन भने कम्तिमा स्वरोजगार बन्नुपर्छ ।

केही वर्षदेखि बिर्तामोड नगरपालिकाले गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम सञ्चालन गरिरहेको छ । संघीय र स्थानीय तहको बजेटबाट सञ्चालित हुने लघुउद्यम कार्यक्रमले खास गरी महिलाहरुलाई उद्यमी बनाइरहेको छ । अहिले पनि चालु आर्थिक वर्षको कार्यक्रमहरु सञ्चालन भइरहेको छ । विगतमा तालिम लिएकाहरु अहिले धमाधम उत्पादन तथा व्यापारमा जोडिएका छन् । बिर्तामोड नगरपालिकाको लघुउद्यम विकास कार्यक्रममा तालिम लिएका महिलाहरुले उत्पादन गरिरहेको कोशेली र गृहिणी नामक अचार बजारमा पाउन थालेको छ । कार्यक्रमको उपलब्धिका रुपमा महिलाहरुले बजारमा अचार विक्री गर्न थालिसकेको छन् । बजारमा धुप पाइन्छ, व्याग पनि पाउन थालिएको छ ।

बिर्तामोड नगरपालिकाले बाख्रा पालन गर्न आवश्यक पर्ने सीप सिकाएको छ । अचार बनाउने, धुप बाट्ने, गुडिया बनाउने, ढाका बुन्ने, सिलाई बुनाई, मुढा बनाउने, ब्याग उत्पादन गर्ने लगायतका सीप सिकाएको छ । विगतमा तालिम लिएकाहरुमध्ये ६० प्रतिशत प्रशिक्षार्थीहरु सीप अनुसारको क्षेत्रमा व्यवसाय नै गरिरहेका छन् । वर्षेनी १ सय भन्दा धेरै महिलाहरुलाई सीप सिकाएर उद्यमी बनाउन योगदान गरिरहेको लघु उद्यम विकास कार्यक्रमले प्रशिक्षार्थीहरुको निगरानी गर्न आवश्यक देखिन्छ । सीप सिक्नेहरुमा गरिएको लगानी सदुयोग भयो कि भएन ? त्यसको समीक्षा गरेर कार्यक्रम बनाउनु उपयुक्त हुन्छ । कार्यक्रमबाट उपलब्धी हासिल भइरहेकोले आगामी दिनमा थप प्रभावकारी हिसावले योजना निर्माण गरेर जानुपर्छ । सीप सिकिसकेका महिलाहरुलाई व्यवसाय गर्न वा उद्यमी बन्नका लागि नगरपालिकाले पनि आवश्यक सहयोग गर्न जरुरी छ ।

प्रकाशित मिति : चैत्र २६, २०८० सोमबार  ८ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]