बैशाख २३, २०८१ आईतबार

हर्षोल्लास साथ मनाइयो सिरुवा पर्व

झापा, २ वैशाख : आदिवासी कोच समुदायको मुख्य चाड सिरुवा झापालगायत कोशी प्रदेशका तराईका जिल्लामा हर्षोल्लास साथ मनाइएको छ । उनीहरुले आज सामूहिक रुपमा काद (हिलो) खेलेर सिरुवा पर्व मनाएका छन् ।

नयाँ वर्ष सुरु भएसँगै पूर्वका आदिवासी कोच समुदायले मुख्य चाड सिरुवा मनाउने गर्दछन् । तीन दिनसम्म मनाइने यस पर्वमा पहिलो दिन जल सिरुवा र आज कादो (हिलो) सिरुवा मनाइएको छ । सिरुवाको अन्तिम दिन सोमबार रङ दलेर मनाइने राजवंशी समाज विकास समितिका जिल्ला अध्यक्ष पुकार राजवंशीले बताउनुभयो ।

उहाँले जिल्लाका १५ वटा पालिकामा बसोबास गर्ने राजवंशी, थारू, गनगाई, ताजपुरिया, माझीलगायत समुदायले यो पर्व मनाइरहेको बताउनुभयो । उनीहरुले वैशाख १ देखि ३ गतेसम्म एकअर्कामा पानी छ्यापेर, हिलो खेलेर र रङ दलेर पर्व मनाउने गरेका छन् ।

वैशाख १ गते उनीहरुले एकापसमा भ्रातृत्व र बन्धुत्वको सम्बन्धलाई अझ प्रगाढ बनाउन शुभकामना आदानप्रदान गर्दै जिल्लाका विभिन्न स्थानमा पर्व मनाउने गरेको उहाँको भनाइ छ । उनीहरुले आ–आफ्ना घरमा घाटोसरी थान बनाएर पूजा गर्ने, ग्रामथानमा गएर कुल देउताको पूजापाठ गर्नेलगायत कार्य गरेका छन् ।

उहाँका अनुसार भद्रपुर नगरपालिका र विर्तामोड नगरपालिका तथा झापा, गौरीगञ्ज र कचनकवल गाउँपालिकाले सिरुवा पर्वका अवसरमा आज सार्वजनिक बिदा दिएका छन् । उहाँका अनुसार नयाँ वर्षको आगमनसँगै वर्षभरि शीतलता प्राप्त होस् भन्ने उद्देश्यले पानी सिरुवा, प्रकृति पूजक भूमिपुत्र भएका हिसाबले कादो सिरुवा र वर्षभरि नै सुख भ्रातृत्व प्राप्ति गर्ने उद्देश्यले रङ सिरुवा मनाइने गरिएको छ ।

प्रकाशित मिति : बैशाख २, २०८१ आईतबार  ९ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]