बैशाख १७, २०८१ सोमबार

छुवाछूत विरुद्ध आवाज उठाऔं

सम्पादकीय
नेपाली समाजमा विभिन्न किसिमका विकृति र विसंगतिहरु छन् । त्यसमध्ये एउटा जातीय भेदभाव तथा छुवाछूत पनि हो । कुनै पनि हिसावले कसैलाई पनि भेदभाव गर्न मिल्दैन । त्यो कानुन रुपमा दण्डनीय हुनेछ । समाजमा जात, धर्म, वर्ग र लैङिक भेदभाव हुने गरेको छ । यस प्रकारका विभेदहरु सामाजिक अपराध हुन् । विगतमा भन्दा अहिले जातीय भेदभाव तथा छूवाछुत थोरै मात्रामा कम भएको छ । तर, अन्त्य हुन सकेको छैन । समाजमा प्रतिष्ठित र जिम्मेवार नागरिकहरु पनि जातपातका आधारमा भेदभाव गरिरहेका छन् । त्यसको एउटा उदाहरण हो, हल्दिवारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरी प्रकरण ।

एउटा स्थानीय सरकारको उपाध्यक्ष रहेर काम गरिसकेका जिम्मेवार व्यक्ति प्रहरीको नियन्त्रणमा छन् । जातीय भेदभाव गरेकै उजुरीका आधारमा उनलाई बिर्तामोड प्रहरीले नियन्त्रणमा लिइसकेको छ । जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलमाथि गिरी जातीय आधारमा विभेद गरे । जातपातकै आधारमा गालीगलौच गरे । दलित मुक्ति आन्दोलनमा नेतृत्व गर्दै आएका पोर्तेलमाथि स्थानीय सरकारको जिम्मेवारी निर्वाह गरिसकेको व्यक्तिमा त्यस किसिमको चेतना हुनु समाजको वर्तमान समस्या हो । चेतनशिल र समाजका प्रतिष्ठित व्यक्तिको मष्तिष्कमा अझै पनि जातको अहंकार जिवित हुनु दुखद् विषय हो ।

गाउँपालिकाको उपाध्यक्ष मात्र होइन, गाउँपालिकाको अध्यक्षमा उम्मेदवार भई पराजित समेत भइसकेको व्यक्ति हुन्, गिरी । दलितहरुलाई हेर्ने नजर अझै पनि विभेदकारी भएको छर्लङ्ग छ । कतिपयले गिरीको अभिव्यक्तिलाई सामान्य लाग्न सक्छ । जसलाई सामान्य लाग्छ, त्यो पनि नेपाली समाजको निमित्त समस्याको वीऊ हो । मान्छे जति जिम्मेवारीले माथि पुग्दै जान्छ, त्यति नै सरल र नम्र हुनुपर्छ । तर, जति नै जिम्मेवारी पाउँदा पनि चेतनाको स्तर गरिव नै रहिरहन्छ भने उनीहरुको नेतृत्वबाट समाजले केहि पाउन सक्दैन । यसैले सचेत नागरिकहरु जातीय भेदभाव विरुद्ध उभिनैपर्छ । जातीय विभेद गर्नेलाई व्यक्तिलाई तीन महिनादेखि तीनवर्षसम्म कैद वा एक हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ बमोजिम कसुर गर्ने व्यक्तिलाई एक महिनादेखि एक वर्षसम्म कैद वा पाँच सय रुपैयाँ देखि दशहजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । यसैले विभेद नगरौं । मानव जाति समान हो भन्ने सन्देश प्रवाह गरौं ।

प्रकाशित मिति : बैशाख ३, २०८१ सोमबार  ५ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]