बैशाख २२, २०८१ शनिबार

झापाका सहकारीमा चोरी, लुटपाट गर्न मकवानपुरबाट ओहोरदोहोर

बिर्तामोड । झापाका विभिन्न १३ वटा सहकारीमा भएको चोरीको घटनामा संलग्न ६ जनालाई नियन्त्रणमा लिई प्रहरीले चोरी कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान थालेको छ । झापा प्रहरीले उनीहरुको पहिचान खुलाउदै चोरीमा संलग्नहरुलाई आज म्याद थप गरी अनुसन्धान सुरु गरेको हो ।

१३ वटा सहकारीबाट ३० लाख १६ हजार ८७ रुपैयाँ चोरी गर्नेहरु अधिकांश मकवानपुरका युवाहरुको भएको झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । झापासहित मोरङका सहकारीमा समेत चोरीका घटनामा उनीहरुको संलग्नता देखिएको छ ।

प्रहरीले बैशाख ७ गते इटहरीबाट ६ जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ फाखेलका ३० वर्षीय सोमलाल स्याङतान, २१ वर्षीय सन्त बहादुर स्याङतान, २२ वर्षीय सुनिल स्याङतान, २५ वर्षीय बुद्ध स्याङतान, २६ वर्षीय सुरज स्याङतान र गढी गाउँपालिका वडा नं. ८ का २८ वर्षीय अजय राना मगरलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार उनीहरुको साथबाट दुई थान मोटरसाइकल, मोवाइल र चावी फुटाउन प्रयोग गरिएका सामग्री बरामत गरिएको छ । एकै गाउँका युवाहरु सहकारीमा चोरी गर्ने र गाउँ फर्किने शिलशिला चलिरहेको थियो, प्रहरीले भने – यसअघिमा अन्य चोरीका घटनामा समेत संलग्न हुन सक्ने संभावना भएकाले अनुसन्धान जारी राखिएको छ ।

प्रकाशित मिति : बैशाख ९, २०८१ आईतबार  ७ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]