बैशाख २१, २०८१ शुक्रबार

सहकारीमा चोरी नियन्त्रण गर्न सुरक्षा प्रबन्ध गर

सम्पादकीय
देशभर सहकारी क्षेत्र विरुद्ध अभियान सञ्चालन भइरहेको बेला झापामा चोरी र लुटपाटको घटना भयो । केही समयदेखि जिल्लाका एक दर्जन सहकारीमा चोरी र लुटपाट भएको थियो । झापा प्रहरीले कोशी प्रदेश प्रहरी कार्यालयको सहयोगमा ६ जनालाई पक्राउ गरिसकेको छ । सुनसरीस्थित इटहरीबाट पक्राउ परेका मकवान जिल्लाका ६ जना युवाहरु मोरङको सहकारीमा समेत चोरीका घटनामा संलग्न भएको अनुसन्धानबाट खुलेको छ । सहकारीको हबका रुपमा स्थापित झापा जिल्लामा मकवानपुरबाट आएर चोरी गरिएको विषयले यहाँका सहकारीहरुले सुरक्षामा सतर्कता नअपनाएको स्पष्ट छ । सहजै चोरी गरेका सहकारीहरुमा सुरक्षा प्रवन्ध पनि कमजोर देखियो ।

चोरी, लुटपाट र डकैतीमा संलग्नहरुले सुरक्षा घेरोलाई तोडेर काम गर्न सक्छन् । तर, झापा जिल्लाका सहकारीहरुले सुरक्षाको सवालमा कमजोर व्यवस्थापन गरेको पनि भेटिएको छ । बचतकर्ताहरुको दुखको थोरै रकम जम्मा गरिएको संस्था असुरक्षित हुनु हुदैन । सहकारी संस्थाहरुले बचतकर्ताको बचत रक्षा गर्न सुरक्षाकर्मीको व्यवस्थापन गर्नैपर्छ । जिल्लाका केही सहकारीहरुले सुरक्षा गार्डको व्यवस्थापन गरेका छन् । नगरेका सहकारीहरु असुरक्षित भएका छन् । यो घटनाबाट पनि सहकारीका सञ्चालकहरुले सिकेर तत्काल सुरक्षा व्यवस्था बलियो बनाउनुपर्छ ।

बैंक तथा वित्तीय संस्थामा एक बेला लुटपाटको घटना धेरै हुन्थ्यो । अहिले लुटपाट कम भएर चोरी धेरै हुन थालेको छ । जिल्लाभर करिव ८ सय सहकारीहरु सदस्यहरुको बचत रकम दैनिकजसो संकलन गरिरहेका छन् । सहकारीले संकलित बचतलाई जम्मा गर्ने ठाउँमा पुराएर सुरक्षा अपनाउन सकिन्छ । लाखौं रुपैयाँ सहकारीमै राखेर चोरीजन्य गतिविधिमा संलग्नहरुलाई सजिलो बनाउने काम नगरौं । त्यसका लागि सहकारीको क्षेत्रमा अगुवाई गर्ने संघ संस्थाहरुले सावधानी अपनाउनुपर्छ । सहकारीको सुरक्षाका लागि जिल्ला सहकारी संघ र बचत संघले पनि भूमिका निर्वाह गर्नुपर्छ । पैसा भेला गरेर कार्यालय छोड्नु हुदैन । मकवानपुरदेखि झापामा टार्गेट गर्नेहरुले यहाँको सुरक्षामा फितलो देखेरै प्रयास गरेको हुनुपर्छ । यसैले सहकारी संञ्चालकहरु, सहकारी क्षेत्रका अगुवाहरुले सुरक्षा व्यवस्थाको राम्रो प्रवन्ध गर्न आवश्यक छ ।

प्रकाशित मिति : बैशाख ११, २०८१ मंगलबार  ८ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]