बैशाख २३, २०८१ आईतबार

सुहाङ जति योग्य उम्मेदवार इलामले पाएको छैन : ओली

चुलाचुली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देश बनाउने पार्टी भएको बताउनुभएको छ ।

बुधबार इलाम क्षेत्र नं २ को चुलाचुलीमा नेकपा एमाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश बनाउनको लागि निर्णायक राष्ट्रिय शक्ति चाहिने बताउनुभयो । सधैँ गठबन्धनले देश नबन्ने ओलीको धारणा छ । त्यसैको लागि नेकपा एमालेले मिसन २०८४ भनेको उहाँले बताउनुभयो । ‘देश बनाउने हो भने मिसन २०८४ चाहिन्छ’, उहाँले भन्नुभयो ।

देश लगातार ओरालो लागेकोले त्यसलाई रोक्न नेकपा एमालेले नयाँ समीकरण बनाएको ओलीले बताउनुभयो । ‘पहिरो गएको गएकै भयो देशमा, तीन वर्षदेखि पहिरो गएकै गए भयो’, ओलीले भन्नुभयो ।

सुदृढ राष्ट्रिय शक्ति निर्माणको लागि आजैबाट काम थाल्नु पर्नेमा उहाँले जोड दिनुभयो । देश बिग्रन दिनु नहुने बताउँदै ओलीले देश आफैँले बनाउनु पर्ने स्पष्ट पार्नुभयो ।

उहाँले भावनामा बगेर देश नबन्ने बताउनुभयो । भावनामा अनेक थरी कुरा गरेर देश अघि नबढ्ने उहाँले स्पष्ट पार्नुभयो । विद्वेष र घृणा फैलाएर देश विकास गर्न नसकिने उहाँले बताउनुभयो । पहिचान विरोधी कोही नभएको बताउँदै आलीले पहिचानको नाममा सामाजिक सद्भाव नभड्काउन आग्रह गर्नुभयो ।

ओलीले इलामा क्षेत्र नं २ बाट नेकपा एमालेले अगाडि सारेको र माओवादी केन्द्र, नेकपा र परिवार दलको समर्थन पाउनुभएका सुहाङ नेम्वाङको विजय निश्चित भएको दाबी गर्नुभयो । वैशाख १५ गते हुने इलामको उपचुनावमा सुहाङ जति योग्य उम्मेदवार कोही नभएको उहाँले दाबी गर्नुभयो । ओलीले इलामको जिम्मा सुहाङलाई दिन आग्रह गर्दै आफूले सुहाङको जिम्मा लिने बताउनुभयो ।

ओलीले अबको दुनियाँमा कसैले कसैलाई ढाँट्न नसक्ने ओलीले बताउनुभयो । विगतमा कम्युनिष्टले बुढा बुढीलाई गोली हान्छन् भन्नेसम्मका भ्रम फैल्याएको बताउँदै कम्युनिष्टले त्यसलाई चिरेर सामाजिक हितको काम गर्दै अघि बढेको ओलीले प्रष्ट पार्नुभयो ।

कम्युनिष्टले समृद्धि होइन गरिबी बाँड्छन् भन्ने भ्रम फिँजाउनेको जवाफ पनि एमालेले दिएको ओलीले बताउनुभयो । कम्युनिष्टले एक पटक मौका पायो भने देश विकासको काम कसरी गर्छ भन्ने कुरा प्रमाणित गरेर देखाइदिएको ओलीले उदाहरण दिनुभयो । एमालेको पालामा कयौँ पूर्वाधार निर्माण र सामाजिक  विकासका काम भएका ओलीले बताउनुभयो ।

पहिचानका कुरा गर्नेलाई जनजातिको छोरालाई कसले संविधान सभा अध्यक्ष, सभामुख र मन्त्री बनायो ? भन्दै ओलीले प्रश्न गर्नुभयो । पहिलो पटक सेना चलाउने रक्षा मन्त्री र राष्ट्रपति महिला बनाउने पार्टी कुन हो रु भन्दै उहाँले प्रश्न गर्नुभयो । ‘नेकपा एमाले समानताको कुरा गर्दछ, सबैलाई समान अवसरको कुरा गर्दछ’, ओलीले भन्नुभयो ।

ओलीले आजको प्रमुख समस्या गरिबी भएको बताउँदै गरिबी निवारण अबको प्रमुख काम भएको बताउनुभयो । आफ्नो पालामा ९ लाख मानिसलाई गरिबिको रेखामुनिबाट माथि उठाउने काम गरेको ओलीले स्मरण गराउनुभयो । ठेक्का लिएको काम समेत समयमा पुरा गर्न नसक्नेहरूले देश बनाउने कुरा गरेका भन्दै उहाँले उनीहरूबाट आशा गर्न नसकिने ओलीले बताउनुभयो ।

ओलीले एमालेले देशलाई नयाँ युगमा प्रवेश गराएको बताउनुभयो । सुरुङ मार्ग र द्रुत मार्ग निर्माण गरेर एमालेले देशलाई नयाँ युग तर्फ लगेको उहाँले दाबी गर्नुभयो । नेकपा एमाले काम गरेर देखाउने पार्टी भएको ओलीले बताउनुभयो ।

प्रकाशित मिति : बैशाख १२, २०८१ बुधबार  ५ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]