बैशाख २३, २०८१ आईतबार

बिर्तामोडमा मनसरा पोइट्री कन्सर्ट, गुञ्जियो उपेन्द्रका कविता

एकराज प्रधान

बिर्तामोड । बुधबार चर्को गर्मीसँगै बिर्तामोडको क्युएफएक्स सिनेमा हलको माहोल पनि तात्तिएको थियो । साहित्यकार र साहित्यप्रेमीहरुको निकै ठूलो जमघट थियो । खासमा यो जमघट चलचित्र हेर्नका लागि थिएन, ‘मनसरा पोइट्री कन्सर्ट’ का लागि थियो ।

सिनेमा हलभित्रको चकमन्न वातावरणमा कवि उपेन्द्र सुब्बा कविता पस्कँदै थिए । चालिसेले छोएपछि मान्छेले कस्तो सोच्छ भन्ने भाव बोक्ने कविता ‘सम्झनाहरुको लुम्दार’ बाट कन्सर्ट सुरु गरेका उनले दर्शकलाई सुरुमै भावुक बनाए । हाउभाउ, लवज र ठट्यौली शैलीमा उनले श्रोता–दर्शकलाई हसाउँदै पोइट्री कन्सर्ट अगाडि बढाइरहे । अनि बिच्च बिच्चमा उनले ‘वैशाख २१ गते चलचित्र मनसरा हेरिदिनु होला है’ भन्दै आफ्नो लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मनसरा’ को प्रचार पनि गर्न भ्याइरहे ।

कविता र फिल्मबीचको साइनोको महत्व केलाउँदै उनले फिल्म कविताजस्तै लयबद्ध रुपमा सलल बगेको र अर्थपूर्ण रहेको सुनाए । ‘मनसरा एक खाले धानको नाम हो, जसलाई अरुसँगै मिसाएर बिउ नराखे फल्दैन’, उनले फिल्मको टाइटलबारे अर्थ खुलाउँदै भने, ‘मनसरा एउटै गाँजमा मिसिएर पनि छुट्टै आफ्नो गुणसहित फल्छ, यही सुन्दर पक्षलाई रोजेर फिल्मको नाम राखिएको हो ।’

कन्सर्टमा निर्देशक सुब्बालाई कविता वाचनमा कलाकार प्रविण खतिवडा, जीवन बराल, नायिका मेनुका प्रधान लगायतले उनकै कविता वाचन गरेर सघाएका थिए । मनसरामा मुख्य अभिनेत्रीका रुपमा रहेकी नायिका मिरुना मगरले पनि कविता वाचन गरेकी थिइन् । कवि उपेन्द्र सुब्बाले ‘अन्तिम एक ट्वाक चढाउँ कि’ भन्दै कन्सर्टको अन्तिम कविता पस्किएका थिए ।
फरक प्रचार शैली अपनाएका कवि सुब्बाकै निर्देशनमा बनेको ‘मनसरा’ दोस्रो फिल्म हो । यसअघि उनले दर्शकमाझ औधी रुचाइएको फिल्म ‘जारी’ को निर्देशन गरेका थिए । ‘जारी’ को टिजरमा ‘पालम’ राखेर चर्चा बटुलेका उनले ‘मनसरा’ को ट्रेलरमा पनि यसलाई निरन्तरता दिँदै कवितालाई फिल्मसँग जोडेका छन् ।

कन्सर्टअघि हलमा मनसराको ट्रेलर देखाइएको थियो । ट्रेलरमा मिरुना एक्लै संघर्ष गरेर छोरो हुर्काइरहेकी छन् । छिमेकी ‘बाजे’ को रुपमा छन् प्रवीण खड्का । जो सहयोगी देखिन्छन्, तर उनकी श्रीमतीको अभिनयमा रहेकी मेनुका प्रधान शंकालु स्वभावकी देखिन्छिन् । दयाहाङ मिरुनाको खोजीमा हिँडिरहेका छन् । ट्रेलरमा एक्लिएकी नारी, उनलाई समाजले हेर्ने दृष्टिकोण र संघर्षको सपाट चित्र देख्न सकिन्छ भने अर्कातिर बाबु बन्न नसक्दाको पीडाले च्वास्स बिजाउँछ ।

साहित्यिक गतिविधिमा सक्रिय अनप्लग्ड वाचनको प्रस्तुतिमा आयोजित कार्यक्रममा फिल्म युनिटलाई साहित्यकार केशव आचार्य, मुनाराज शेर्मा लगायतले मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा विराट किराँती, अभागी थेगुवा, शिवशंकर थापा लगायत साहित्यकारहरुको सहभागिता थियो । त्यस्तै, कार्यक्रममा फिल्म युनिटका तर्फबाट कार्यकारी निर्माता सिजन दाहाल, सहायक निर्देशक दिपक खरेलको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन गजलकार सुनिता तामाङले गरेकी थिइन् ।

कबड्डी फिल्म्सको ब्यानरमा बनेको चलचित्र ‘मनसरा’ मा दयाहाङ राई, मिरुना मगर, मेनुका प्रधान प्रविण खतिवडा, नेनाहाङ राई, विप्लव प्रतीक, जीवन बराल, हेमन्त बुढाथोकी लगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : बैशाख १२, २०८१ बुधबार  ७ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]