बैशाख २२, २०८१ शनिबार

विद्यार्थीको चाप बढेपछि मोहनमायाले विहानी सत्रमा कक्षा सञ्चालन गर्दै

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. २ मा रहेको मोहनमाया माविले विहानी सत्रमा कक्षा सञ्चालन गर्ने भएको छ । विद्यार्थीको चाप अनुसार पर्याप्त पूर्वाधार नभएका कारण विहानी सत्रमा कक्षा सञ्चालनको तयारी गरिएको प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले जानकारी दिए ।

कोशी प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा स्थापित मोहनमायाले विद्यार्थीको चाप र अभिभावक चाहना बमोजिम विहानी सत्रमा समेत पठनपाठन गर्ने तयारी गरेको हो । प्रअ श्रेष्ठले भने, आजदेखि विहानी सत्रको कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुको भर्ना लिइदैछ । आइतवारदेखि नियमित कक्षा सञ्चालन हुनेछ ।

मोहनमायाले विहानी सत्रमा कक्षा ५ देखि कक्षा ९ सम्म पठनपाठन गर्ने जनाएको छ । विहान ६ बजेदेखि १० बजेसम्म विहानी सत्रको कक्षा सञ्चालन हुने प्रअ श्रेष्ठले जानकारी दिए । अभिभावकले समेत विहानी सत्रमा बालबालिकालाई विद्यालय पठाउने भनेपछि विद्यालयले सोही अनुसार तयारी गरेको हो ।

विद्यालयले वैशाख १ गतेदेखि ६ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको थियो । उक्त अभियानमा ९५० विद्यार्थीले फर्म भरेका थिए । नर्सरीदेखि कक्षा १ सम्म विद्यालयले ३५० जना नयाँ विद्यार्थीको भर्ना लिएको छ । बाँकी ६०० विद्यार्थीको लागि विहानी कक्षा सञ्चालन गर्ने योजना बनाएको छ ।

६ सय विद्यार्थीले विहानी सत्रमा अध्ययन गर्न सक्नेछन्, प्रअ श्रेष्ठले भने – त्यसमध्ये आधाभन्दा धेरै विद्यार्थी विहानी सत्रमा आउने संभावना छ । दिउँसो ३० वटा कोठामा पठनपाठन भए पनि विद्यार्थीको चाप धान्न नसकेको विद्यालयले जनाएको छ । विद्यार्थीको चापलाई मध्यनजर गर्दै नगरपालिकाले आगामी वर्ष कक्षा कोठा थप गर्न बजेट विनियोजन गर्ने प्रतिवद्धता समेत जनाइसकेको छ ।

मोहनमायामा ताप्लेजुङदेखि विद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन् । जिल्लाका विभिन्न भागमा वोर्डिङमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई पनि मोहनमायामा भर्ना गर्न थालिएको छ । छोरालाई सेन्टजेभियर्स पढाइरहेका बिर्तामोडका नविन सापकोटा पनि बुधबार विहान छोराको भर्नाका लागि फर्म भरिरहेको भेटिए । उनले अध्ययनसँगै अनुशासन राम्रो भएकाले छोरालाई मोहनमाया ल्याएको बताए ।

यस्तै, कनकाई नगरपालिका –७ दुर्गापुरका अनिरुद्र चापागाईले पनि छोरीहरुलाई मोहनमायामा भर्ना गरेका छन् । फक्तालुङ एजुकेशन फाउण्डेशनमा अध्ययन गरिरहेका छोरीहरुलाई उत्कृष्ट सामुदायिक विद्यालयमा पढाउनका लागि वोर्डिङ छुटाएर ल्याएको बताए । उनी राम्रो व्यवस्थापनमा सञ्चालित विद्यालय कोशी प्रदेशकै उत्कृष्ट भन्ने सुनेर आएका अभिभावक हुन् ।

०२४ सालमा स्थापित विद्यालयमा नयाँ विद्यार्थी बाहेक कक्षा ९ सम्म अध्ययन गर्ने विद्यार्थीको संख्या १ हजार भन्दा धेरै छ । नयाँ ९५० विद्यार्थीले अध्ययन गर्न फर्म भरिसकेका छन् । विद्यालयले कक्षा २ देखि ९ सम्म भर्ना हुने नयाँ विद्यार्थीका लागि प्रवेश परीक्षा लिएको थियो । कक्षा १ सम्मका लागि सुरुमा आउनेलाई पहिलो भर्ना गरिएको थियो ।

विद्यालयले दैनिक एक सय अभिभावकलाई थप विद्यार्थी भर्ना गर्न नसक्ने भन्दै फर्काइरहेको छ ।

प्रकाशित मिति : बैशाख १३, २०८१ बिहीबार  ८ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]