बैशाख २२, २०८१ शनिबार

बिर्तामोडका विद्यार्थीलाई अध्ययनसँगै सीप विकासमा जोड्दैछौं : उपसचिव भण्डारी

बिर्तामोड सेरोफेरो 

झापाको बिर्तामोड नगरपालिका व्यापारिक केन्द्रको रुपमा विकास भएजस्तै स्वास्थ्य क्षेत्रमा पनि ठुलै फड्को मारिरहेको छ । व्यापारिक केन्द्र, स्वास्थ्य सेवासँगै बिर्तामोड नगरपालिका शिक्षाको हब बन्दै गएको छ । शिशु कक्षादेखि यहाँ डिग्रीसम्म पठनपाठन हुने गरेको छ । पूर्व पहाडी क्षेत्रका लागि अध्ययन गर्ने मुख्य केन्द्र नै बिर्तामोड हो । केहि वर्षदेखि यहाँको शिक्षा क्षेत्रलाई हेर्ने हो भने व्यापक परिवर्तन भएको पाउन सकिन्छ । अन्तराष्ट्रिय स्तरको पठनपाठन भइरहेको बिर्तामोडमा स्थानीय सरकार पनि शिक्षामा परिवर्तन ल्याउन मेहनत गरिरहेको छ ।

गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिइरहेको बिर्तामोड नगरपालिकामा ८० वटा निजी विद्यालय र २० वटा सामुदायिक विद्यालयहरु सञ्चालनमा रहेका छन् । यहाँको पछिल्लो वर्षहरुको शैक्षिक गतिविधि नियाल्दा सामुदायिक विद्यालयको प्रगति प्रशंसायोग्य छ ।

शिक्षा शाखाका प्रमुख उपसचिव तिलचन भण्डारीका अनुसार विद्यालयहरुको स्तरोन्नति र सिकाईमा सुधार गर्ने मुख्य एजेण्डा छ । स्थानीय तहले स्तरोन्नतिमा व्यापक काम गरेको बताउने उनले सिकाई सुधारमा पनि प्रभावकारी काम भइरहेको बताए । यहाँको शैक्षिक संस्थाहरुको मेहनत र नगरपालिकाको लगानीले शैक्षिक हब बन्ने निश्चित छ ।

जनप्रतिनिधि आउनुभन्दा पहिले विद्यालयहरु अस्तव्यस्त रुपमा सञ्चालन भएको उनको भनाई छ । स्थानीय सरकार बनेपछि शौचालय सुधार देखि शुद्ध खानेपानी व्यवस्थापनमा समेत ध्यान दिइएको छ । बसाई व्यवस्थापन उस्तै थियो । साना नानीहरुको बसाईका लागि पार्केटिङ, किताव राख्नका लागि र्याकको व्यवस्थापन मिलाइएको छ । ससाना कामहरुमा समेत स्थानीय सरकारले चासोका साथ समाधान गरेको उपसचिव भण्डारीको भनाई छ । पहिले खानेपानीमा समस्या थियो, उनले भने – सबै विद्यालयमा अहिले गुणस्तरीय र शुद्ध खानेपानीको प्रबन्ध गरिएको छ । विद्यालयहरुलाई प्रोत्साहन गर्नका लागि बालविकास देखि कक्षा ५ सम्मका बालबालिकाहरुलाई निशुल्क रुपमा पोसाक उपलब्ध गराइएको छ ।

उपसचिव भण्डारी यो शैक्षिक सत्रबाट अध्ययनसँगै सीप विकासमा काम गर्ने जानकारी दिए । मावि तहका विद्यार्थीहरुका लागि वाइरिङ र प्लम्विङ सम्बन्धी सीप सिकाउने लक्ष्य लिएको छ । त्यसका लागि दुई जना स्वयमसेवक शिक्षकको समेत नियुक्ति गरिएको छ ।

सिकाईलाई प्रभावकारी बनाउनका लागि प्राविधिक सीप सिकाउने नगरपालिकाको योजना छ । शिक्षकहरुलाई प्रविधिमा दक्ष बनाउदैं सिकाई प्रभावकारी बनाउदै जाने भण्डारीले बताएका छन् । यस्तै, नियमित रुपमा अनुगमन र निगरानी गरेर विद्यालयप्रति सरोकारवालालाई जिम्मेवार बनाउने उनले बताए ।

न्यूनतम सिकाई उपलब्धी हासिल गर्नका लागि विद्यालयहरुसँग सरोकार राख्ने व्यक्तिहरुसँग बैठक बस्ने, छलफल गर्ने र योजना निर्माण गर्दै परिणाम हात पार्ने शिक्षा शाखाको योजना छ । अहिले पनि नियमित बैठक, छलफल गर्दै काम गरिरहेको उनको भनाई छ ।

‘हामी विद्यार्थीहरुलाई जाँचमा लेख्न सक्ने मात्र होइन, व्यवहारमा पनि लागु गर्न सक्ने ज्ञान दिन चहान्छौं’ उपसचिव भण्डारीले भने – हामी सबैको चासो नै व्यवहारिक शिक्षामा छ । सिकाईलाई व्यवहारमा अभ्यास गरुन् भन्ने सोचमा छौं । त्यसका लागि विद्यालय एक्लैले संभव छैन । त्यसका लागि हाम्रो तर्फबाट (स्थानीय सरकार) पनि पूर्ण रुपमा सहयोग हुनेछ ।

अहिले विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेको छ । कतिपय सामुदायिक विद्यालयहरुमा विद्यार्थीको चाप धान्नै नसक्ने अवस्था छ । विद्यार्थी चाप छ, तर भौतिक संरचना छैन । राम्रो पठनपाठन भएकै कारण विद्यार्थीको चाप भएको छ । हामी सबै विद्यालयलाई यसरी नै अघि बढाउन चहान्छौं । अन्य विद्यालयहरुमा पनि विद्यार्थीको भर्ना दर कमजोर छैन । यसले बिर्तामोडको शिक्षा क्षेत्र कस्तो छ भन्ने दृष्य पनि स्पष्ट हुन्छ, उनले थपे ।

भवनको अभाव मात्र होइन, यहाँ दरवन्दी अनुसारको शिक्षकको व्यवस्थापन हुन सकिरहेको छैन । त्यसका लागि अभिभावकसँग सहयोग र सहकार्य गर्नुको विकल्प छैन । यो समस्या यहाँ मात्र होइन, देशभरकै समस्या हो । यस तर्फ समाधान खोज्न अपरिहार्य रहेको उनको भनाई छ ।

बिर्तामोड नगर क्षेत्रमा रहेका शैक्षिक संस्थाहरुमा दुई तिहाई विद्यार्थी बाहिरबाट आएर अध्ययन गरिरहेका छन् । यसै ठाउँमा स्थायी बसोबास गर्ने विद्यार्थीको संख्या कम छ । अध्ययनका लागि आउने विद्यार्थीलाई पढाउनै पर्छ ।

बालबालिकाको नैसर्गिक अधिकारको रुपमा रहेको शिक्षामा सहजै पठनपाठनको वातावरण तयार गर्नुपर्छ । त्योसँगै बिर्तामोडमा विद्यार्थीको नियमिततामा समस्या छ । विद्यार्थी नियमित नहुँदा सिकाईमा समस्या हुन्छ भने विद्यालयको सिकाई उपलब्धीमा समेत समस्या हुने उनको भनाई छ । विद्यार्थी नियमित हुने हो भने ६० प्रतिशत सिकाईमा सहयोग पुग्नेछ ।

बिर्तामोडमा सामुदायिक विद्यालयको सुधारले अभिभावकको आकर्षण समेत बढेर गएको छ । त्यसको असर निजी विद्यालयहरुमा परेको छ । सामुदायिक विद्यालयहरुको सिकाईमा सुधार र परिणाममा उपलब्धी हासिल हुन थालेपछि अभिभावक निजीबाट छोराछोरी निकालिरहेका छन् । निजीमा विद्यार्थीको संख्या घट्नुको कारण अंग्रेजीको मोह पनि हो । सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम सञ्चालन गर्न थालेपछि निजीका विद्यार्थीहरु सामुदायिकतिर लागिरहेका छन् ।

सामुदायिक विद्यालयहरुले विगतमाभन्दा राम्रो परिणाम ल्याइरहेको देखिन्छ । अहिले नै ठिक छ भन्न सकिन्न, परिवर्तन ल्याउन एक दशक पर्खनैपर्छ । सामुदायिकबाट राम्रो परिणाम निकाल्ने हो भने लगानी पनि सोही अनुसारको जरुरी पर्ने छ । सामुदायिक विद्यालयहरु सरकारको लगानी साथै अभिभावकको सहयोगबाट चलिरहेको अवस्था छ ।

सरकारको लगानीबाट मात्रै सोचेजस्तो परिणाम निकाल्न गाह्रो पर्न सक्छ । अहिले जे जसरी बजेटको व्यवस्था गरिहरेको अवस्था छ, त्यसरी मात्रै सामुदायिक विद्यालयमा ठुलो परिर्तन ल्याउन सकिन्न । खोजेको परिणाम अनुसारको लगानी पनि अपरिहार्य हुन्छ । अहिलेको लगानी पर्याप्त नभएको उपसचिव भण्डारीको भनाई छ । उनले लगानी वृद्धिका लागि जनप्रतिनिधि र सरोकारवाला गम्भीर हुनुपर्छ ।

बिर्तामोडमा शिक्षामा गरिरहेको लगानी सन्तोषजनक रहेको छ । तर, पयौप्त छैन । अझै शिक्षामा लगानी बढाउनुपर्नेछ । शिक्षा शाखाका प्रमुख भण्डारीले यहाँका जनप्रतिनिधिहरु पनि शिक्षा क्षेत्रको विकासमा सराकात्मक रहेको बताउँछन् । शिक्षा, स्वास्थ्यमा उहाँहरुको प्राथमिकता देखिन्छ । लगानी बढाएर जानुपर्छ भन्नेमा सकारात्मक रहेको पाएका छौं, उनले भने ।

शिक्षामा सुधार ल्याउन माथिल्लो तहको दवावले मात्र संभव नहुने उनको तर्क छ । शिक्षक, कर्मचारी र अभिभाकको पनि उत्तिकै भूमिका हुन्छ । जबसम्म शिक्षक कर्मचारी र अभिभावकमा विद्यालय क्षेत्र सुधार गर्नुपर्छ भन्ने सोचको विकास हुदैन, तबसम्म परिवर्तन ल्याउन सकिदैन, उनले थपे – त्यसका लागि सिकाईमा नविनतम अभ्यासको खाँचो छ । नविनतम सिकाईका लागि स्थानीय सरकारको तर्फबाट प्रयासहरु जारी छन् ।

बिर्तामोडमा ५-६ वर्षअघिसम्म विद्यार्थी अभावले विद्यालय बन्द गर्ने विषयमा छलफल हुने गथ्र्यो । २ वटा विद्यालय बन्द गर्ने अवस्थामा पुगेका थियौं । विद्यार्थीको संख्या शून्य थियो । अहिले विद्यार्थीको चाप वर्षेनी धान्न नसक्ने अवस्था बन्दै गइरहेको छ । नगरपालिकाले शिक्षा आफ्नो मातहतमा आएपछि गरेका कामकै कारण अहिले विद्यालय बन्द गर्ने, मर्ज गर्ने जस्ता विषयमा छलफल गर्नु परेको छैन ।

विद्यार्थीको संख्या वृद्धि भएकै कारण विद्यालयको स्तरोन्नति, पूर्वाधार विकास गर्ने तर्फ छलफल हुने गरेको छ । सिकाईलाई कसरी प्रभावकारी बनाउने भन्ने तर्फ सबैले चासो दिनुपरेको छ । यसलाई स्थानीय सरकार बनेपछिको उपलब्धी मान्न सकिन्छ । विगतमा शिक्षकहरुलाई हाजिर गरे पुग्छ भन्ने पनि थियो । अहिले त्यस्तो छैन । समयमा हाजिर हुने, काम गर्ने, सिकाईलाई प्रभावकारी बनाउने कुरामा शिक्षकहरुको ध्यान केन्द्रीत भएको छ ।

पहिले माथिल्लो निकायबाट आउने बजेट विद्यालयसम्म पुग्दा अति न्यून मात्र पुग्ने गथ्र्यो । अहिले विद्यालयहरुले पाउने बजेट बढेको छ । कुनै समस्या आएमा तत्कालै समाधान गर्न सक्ने स्थानीय सरकार छ । त्यसैले विद्यालयहरु गुणस्तरीय सिकाईका लागि स्वतन्त्र, विना तनाव लाग्न पाउनु भएको छ, उपसचिव भण्डारीले भने ।

समय अनुकुल शिक्षा दिनुपर्छ भन्ने मान्यता बोकेर काम गरिरहेको शिक्षा शाखाले व्यवहार मुलुक र सीप मुलक सिकाईलाई ध्यान दिर्दै काम गरिरहेको छ । उनीहरुलाई अध्ययन पश्चात रोजगारीसँग जोड्न सक्ने गरी शिक्षा दिने स्थानीय सरकारको सपना छ ।

प्रकाशित मिति : बैशाख १३, २०८१ बिहीबार  ८ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]