बैशाख २३, २०८१ आईतबार

इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा कांग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय

रौतहट । जिल्ला अदालत रौतहटले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ । बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए ।

रौतहटको राजपुरमा २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा उनलाई अदालतले सजाय सुनाएको हो ।

अदालतले मोहम्मद अफताब आलमका भाइ ममताभ आलमलाई पनि जन्मकैदको सजाय सुनाएको छ । त्यस्तै शेष सेराज भन्ने शेष सराज, बद्री सहनीलाई पनि जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । उनीहरुले मुलुकी ऐन २०२० अनुसार जन्मकैद अर्थात २० वर्षको सजाय पाएका छन् ।

त्यस्तै मुक्ति साहले सफाइ पाएका छन् भने मोहम्मद मोविन, शेष फजल, शेष भदै, सागिर आलम, गौरीशंकर साह र शेष मालाकार फरार रहेकाले उनीहरुको हकमा मुद्दा मुल्तवीमा राखिएको श्रेस्तेदार ढोडारीले जानकारी दिए ।

पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन रौतहटको राजपुरस्थित अफताब आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा केही व्यक्ति घाइते भएका थिए । ती घाइतेलाई नजिकैको इँट्टाभट्टामा जिउँदै जलाएर हत्या गरिएको आरोप आलम, उनका भाइसहित अन्यमाथि थियो ।

यो मुद्दाको थुनछेक बहसपछि जिल्ला अदालत रौतहटले २९ कात्तिक २०७६ मा आलमलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

प्रकाशित मिति : बैशाख १३, २०८१ बिहीबार  ७ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]