बैशाख २३, २०८१ आईतबार

‘शिक्षा क्षेत्रलाई कसरी अघि बढाउने स्थानीय तहले रणनीति तयार गर्नुपर्छ’

डा. रुपक खनाल
प्रमुख – गोमेन्द्र बहुमुखी क्याम्पस, बिर्तामोड

अहिले सामुदायिक विद्यालयहरुमा विद्यार्थीको चाप बढिरहेको गोमेन्द्र बहुमुखी क्याम्पस बिर्तामोडका क्याम्पस प्रमुख डा. रुपक खनालको भनाई छ । स्थानीय तहले शिक्षामा गरिरहेको काम कै कारण विद्यालयमा सुधार आएको हो । विद्यालयमा सुधार आएपछि विद्यार्थीको चाप बढेको हो ।

उनका अनुसार सबै सामुदायिक विद्यालयहरुमा विद्यार्थीको चाप हुनुपर्नेमा एकाध विद्यालयमा मात्र चाप देखिएको छ । स्थानीय तहले सबै विद्यालयमा विद्यार्थीको चाप हुने गरी काम गर्न जरुरी रहेको उनको भनाई छ ।

स्थानीय तहले जिम्मेवारी पाएदेखि शिक्षा क्षेत्रमा सुधार आएको डा. खनालको धारणा छ । उनले भने, तर शिक्षा क्षेत्रको सन्दर्भमा रणनीतिक योजना बन्न सकेन । शिक्षा क्षेत्रलाई कसरी अघि बढाउने भन्नेमा स्थानीय तहले रणनीति योजना निर्माण गर्नुपर्छ । विद्यार्थी भर्ना गरेर मात्र हुदैन, उनीहरुलाई विद्यालयमा टिकाउन चै सक्नुपर्छ । ५० प्रतिशतभन्दा धेरै विद्यार्थी एसईईमा सहभागी भइरहेका छैनन् । त्यसको खोजी गर्न पनि स्थानीय तहले योजना बनाउन अपरिहार्य रहेको उनको भनाई छ ।

बिर्तामोड नगरपालिकाले सामुदायिक विद्यालयहरुको प्रगतिका निम्ति विद्यार्थीहरुलाई कसरी टिकाउने भन्ने सन्दर्भमा योजना निर्माण गर्नुपर्ने सूझाव दिएका छन् । अभिभावकलाई शिक्षाको महत्व बुझाउन सक्नुपर्छ । अभिभावकको पारिवारिक संरचनालाई स्थानीय तहले अध्ययन गरेर बालबालिकालाई अध्ययनमा समेत प्रेरित गर्नुपर्ने डा.खनालको धारणा छ । अभिभावकलाई शिक्षाको महत्व जगाउन सकियो भने हरेक बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन सकिन्छ । अझै पनि पिछडिएको समुदायका बालबालिकाहरु विद्यालय बाहिर रहेकाले त्यस तर्फ गम्भीर हुन आवश्यक देखिन्छ, उनले भने ।

सामुदायिक विद्यालय सुधारका लागि सर्वप्रथम रणनीतिक योजना नै बनाएर जानुपर्ने धारणा राख्दै आएका क्याम्पस प्रमुख खनालले शिक्षकलाई राजनीतिबाट टाढा राख्ने निर्णय स्वागतयोग्य रहेको बताए । हरेक नागरिकलाई राजनीतिक अधिकार भए पनि शिक्षकहरुले विद्यालय प्रवेश गर्दा ढोकामा राजनीतिक त्यागेर प्रवेश गर्न सके शिक्षामा परिवर्तन ल्याउन सकिने उनको भनाई छ ।

उनले स्थानीय सरकारले सामुदायिक विद्यालयको सुधारका लागि अर्को गर्नैपर्ने काम भनेको अभिभावकको आर्थिक जीवनमा समेत सहयोग पुराउनुपर्ने बताए । अभिभावकलाई सीप सिकाउने, विभिन्न आय मुलक तालिम दिने काम भयो भने पनि विद्यार्थीहरुलाई पढाउनका लागि अभिभावकलाई कुनै कठिनाई हुने छैन । र, विद्यार्थीहरु विद्यालय बाहिर जाने छैनन् ।

उनले नगरपालिकालाई विभिन्न किसिमका विज्ञहरुलाई राखेर रणनीति तयार गर्न सूझाव दिएका छन् । उनले शिक्षा क्षेत्रको प्रगतिका लागि दीर्घकालिन र तत्कालिन रणनीति तयार गरेर जानुपर्ने बताए ।
सामुदायिक विद्यालयको पाठ्यक्रममा एकरुपता हुनुपर्ने, हुँदा खाने र हुने खानेबीचको शैक्षिक विभेदको अन्त्य गर्न स्थानीय तहको भूमिका महत्पूर्ण भएको बताएका छन् । – बिर्तामोड सेरोफेरोमा प्रकाशित 

प्रकाशित मिति : बैशाख १३, २०८१ बिहीबार  ८ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]