बैशाख २३, २०८१ आईतबार

मोहनमायाबाट अरु विद्यालयले सिक्नुपर्छ

सम्पादकीय
झापामा केहि सामुदायिक विद्यालयमा कक्षा ८ को नतिजा निल भएको समाचार आउँदा खिन्न बनाएको थियो । सामुदायिक विद्यालयमा भइरहेको लगानी बालुवामा पानी भन्दै धेरैले जिब्रो नै टोके । तर, तमाम् विद्यालयहरुलाई अध्ययन गर्ने हो भने केहि आशाका समाचारहरु पनि भेटिन थालेका छन् । सामुदायिक विद्यालय बन्द गर्नुपर्छ भन्ने समाजमा अहिले निजीभन्दा सामुदायिकमा धेरै आकर्षण बढेको अवस्था छ । सरकारी विद्यालयमा सरकारको ठुलो लगानी हुँदाहुँदै धेरै विद्यालयको नतिजा चित्त बुझ्दो थिएन । तर, अहिले सुधारको संकेत देखा परेको छ ।

झापाको बिर्तामोड नगरपालिकामा रहेको २० वटा सामुदायिक विद्यालयहरुमध्ये मोहनमाया माविको नाम पहिलो नम्बरमा आउँछ । व्यवस्थापकीय दृष्टिले होस् या पठनपाठनको सवालमा होस्, मोहनमाया एक नम्बरमा पर्छ । यसैगरी उत्कृष्ट विद्यालयहरुको सूचिमा मोहनमाया मावि, देवि मावि, महेन्द्ररत्न मावि लगायतका विद्यालयहरु अगाडि छन् । यो सबै शिक्षक अभिभावक, विद्यार्थीहरुको मेहनतबाट संभवन भएको हो । सरकारी विद्यालयलाई सफल बनाउने हो भने सर्वप्रथम शिक्षकको मानसिकतामा परिवर्तन आउनुपर्छ । शिक्षकले जिम्मेवारी पूर्वक काम गरेका अधिकांस विद्यालयहरु सफल बनेका छन् ।

मोहनमाया माविले नयाँ शैक्षिक सत्रका लागि भर्ना खोलेको केहि दिनमै करिव एक हजार विद्यार्थी भर्नाका लागि पुगे । अहिले विद्यालयले विद्यार्थीको चाप व्यवस्थापन गर्न विहानी सत्रमा विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ । आउँदो आइतवारदेखि विहानी सत्रमा कक्षा २ देखि ९ सम्म पठनपाठन गर्ने विद्यालयको तयारीले समुदायप्रतिको जिम्मेवारी प्रष्ट बनाएको छ । विद्यालयमा आएका विद्यार्थीहरुलाई दुई चरण विहान–दिउँसो पठनपाठन गरिदैछ । दुई चरणमा पढाउँदा पनि व्यवस्थापन गर्न नसकिने विद्यार्थीहरुलाई विद्यालयले फर्काइरहेको छ । एउटा सरकारी विद्यालयमा अभिभावकको भीड, सोर्सफोर्स, भर्नाका लागि दवाव दिनुपरेको छ । असंभव केहि छैन भन्ने बलियो उदाहरण बनेको छ , मोहनमाया । अन्य विद्यालयहरुले पनि मोहनमायाबाट धेरै सकारात्मक पक्षहरु सिक्न जरुरी छ । मोहनमायाभन्दा पनि सफल विद्यालय बन्ने जाँगर अन्य विद्यालयहरुले किन नदेखाउने ?

प्रकाशित मिति : बैशाख १४, २०८१ शुक्रबार  ८ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]