बैशाख २३, २०८१ आईतबार

झापामा विद्यालयबाटै शैक्षिक सामग्री विक्री गर्नेलाई कारबाही गर्ने तयारी

बिर्तामोड । झापामा बिद्यालय हातामा पाठ्यपुस्तक लगायतका शैक्षिक सामग्रीको खुलेआम बिक्री वितरण भईरहेको छ । विक्री भइरहेको सूचनापछि झापामा अनुगमनको तयारी गरिएको छ ।

जिल्लाका कतिपय पालिकाका सामुदायिक र संस्थागत विद्यालयले विद्यालय हाताबाटै शैक्षिक सामग्रीको विक्री बितरण गरेको थाहा भएपछि यसको अनुगमन गर्न लागिएको हो ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघ झापाका अध्यक्ष विनोद सापकोटाका अनुसार पालिकाको अनुगमन समिति, शिक्षा अधिकारी, सम्बन्धित वडाका वडा अध्यक्ष, राजश्व शाखा, स्थानीय प्रशासन, वाणिज्य संघ, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ लगायत सरोकार राख्ने टोलीले अनुगमन गर्ने भएको हो ।

अनुगमनका क्रममा विद्यालय हाताभित्र विक्री वितरणका लागि राखिएका कुनै पनि शैक्षिक सामग्री फेला परे अनुगमन समितिले जफत गरेर पालिकामा बुझाउने र कानुन अनुसार कारबाही गर्ने कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताईन् । उनले भनिन्, ‘कमल गाँउपालिकामा कुन विद्यालयले आफ्नो हाता भित्र पाठ्यपुस्तक, स्टेसनरी, मसलन्द लगायतका सामग्री विक्री वितरण गरेको छ । मलाई फोन गर्नुहोस् । तत्काल अनुगमन गरेर त्यस्तो पाईएमा कानुन बमोजिम कारबाही गर्ने छौ ।’

शिक्षा नियमावली २०५९ को नियम ३७ मा विद्यालय हातामा कुनै पनि शैक्षिक सामग्री बिक्री वितरण गर्न नपाइने व्यवस्था छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापाका अध्यक्ष सापकोटाले विद्यालय संचालक, प्रधानाध्यापक, विद्यालय कर्मचारी स्वयम्ले विद्यालय हाताभित्रैबाट पाठ्यपुस्तकको व्यापार गरेको आरोप लगाएका छन् ।

उनले भने, ‘भद्रपुर, दमक, विर्तामोड र अर्जुनधाराका केही विद्यालयले आफ्नै हाताबाट पाठ्यपुस्तकको अबैध व्यापार गर्ने गरेको सूचना छ । पालिकासँग समन्वय गरेर अनुगमन हुन्छ ।’

कनकाई नगरपालिकाको लक्ष्मीपुरस्थित एउटा नीजि विद्यालयले विद्यालयको लोगो सहितको कापी छापेर विद्यार्थीलाई जवरजस्त विक्री गरेको पाईएको छ । वडा नम्बर ८ को पाथिभरा अङ्गग्रेजी माध्यमिक विद्यालयले विद्यालयको लोगो राखेर कापी छपाई गरि अबैध व्यापार गरिरहेको स्थानीय अभिभावकले जानकारी दिए ।
सो विद्यालयलाई कारवाही गर्न नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायीले कनकाई नगरपालिका, आन्तरिक राजश्व कार्यालय झापामा माग गरेको छ ।

यता, भद्रपुर नगरपालिका वडा नम्बर २ को ग्रिनफिल्ड ईङलिस बोर्डिङ स्कूलले विद्यालय हातामा शैक्षिक सामग्री बिक्रि वितरण गरेको पाईएको छ । भद्रपुर नगरपालिकाका नगर शिक्षा अधिकारी राजकुमार ओडारीका अनुसार बुधबार गरिएको अनुगमनका क्रममा त्यस्तो गैह्र कानुनी कार्यभएको पाईएको हो । प्याव्सन भद्रपुरका सचिवको विद्यालयका प्रिन्सिपलले विद्यालय हाताबाटै पाठ्यपुस्तक विक्री गरेको गुनासो पालिकामा आएपछि तत्काल अनुगमन गरिएको नगर शिक्षा अधिकारी ओडारीले बताए ।

‘हामीले उहाँलाई पहिलो पटक सचेत गरार्यौ । उहाँले विद्यालयहाताबाट पाठ्यपुस्तक बिक्री नगर्ने प्रतिवद्धता गरेपछि पहिलो पटकलाई माफी दिएका र्छौ । अव उहाँले त्यस्तो अबैध व्यापार गर्नुहुन्न ।’

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाले विद्यालय हाताबाट शैक्षिक सामग्रीको अवैध बिक्री वितरण नियमन गर्नुपर्ने माग राख्दै झापाका १५ वटै पालिकामा यस अघि ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापन पत्र बुझे लगत्तै विद्यालय हाताबाट शैक्षिक सामग्रीको बिक्री वितरण नगर्न नगराउन मातहतका विद्यालयलाई अधिकांश पालिकाले परिपत्र समेत गरेका थिए । पालिकाले सामुदायिक, संस्थागत र धार्मिक विद्यालयलाई परिपत्र गरेका थिए । तर, कतिपय विद्यालयले पालिकाको परिपत्रलाई अटेर गरी विद्यालय हाताबाट शैक्षिक सामग्रीको बिक्री वितरण गरिरहेका छन् ।

नेपाल सरकारबाट जसले जुन कामका लागि अख्तियारी लिएको छ, उसले त्यही काम गर्नुपर्ने कनकाई नगरका प्रमुख राजेन्द्र पोख्रेलले बताएका छन् । उनले व्यवसायीले सरकारलाई कर तिरेका छन् । उनीहरुको अधिकारलाई कुन्ठित नगर्न विद्यालय संचालकलाई अपिल गरेका छन् ।

यता, संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ संशोधनसहित परिच्छेद ४.४ को ७ मा विद्यालयहरूले आफै पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री वितरण गर्न नपाउने, विद्यालयबाट निर्धारित ड्रेस कोडको नमुना विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोशाक खरिद गर्न विद्यार्थीलाई बाध्य नगराउने भन्ने व्यवस्था छ ।

तर जिल्लाका केही विद्यालयहरूले पाठ्यपुस्तक र शैक्षिक सामग्रीको खुलेआम बिक्री वितरण गर्ने गरेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाले जनाएको छ ।

प्रकाशित मिति : बैशाख १४, २०८१ शुक्रबार  ८ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]