बैशाख २६, २०८१ बुधबार

वैशाख १४ सम्म १६ दुर्घटना ९ जनाले गुमाए ज्यान

अस्मिता साँखी

बिर्तामोड । ०८१ साल लागेयता झापामा सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । वैशाखको १४ गतेसम्म भएका १६ वटा छुट्टाछुट्टै दुर्घटनामा परी ९ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते हुनेको संख्या १० जना र सामान्य घाइते १४ जना रहेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि वैशाख १४ सम्म भएका दुर्घटनामा परी ६७ जनाको मृत्यु भएको हो । गत चैत मसान्तसम्म ५८ जनाको मृत्यु भएको थियो भने वैशाखमा थप ९ जनाले ज्यान गुमाएका हुन् ।

सो अवधिमा भएका दुर्घटनामा तीन जना बालबालिका, सात महिला र ४८ जना पुरुषको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । दुर्घनामा परी १२७ जना गम्भीर घाइते भएका छन् भने ४१२ जना सामान्य घाइते भएका छन् । जसमा दुई सय ९१ जना पुरुष, ९९ महिला र २२ जना बालबालिका रहेका छन् ।

सबैभन्दा धेरै मोटरसाइकल ३१४ वटा, जिप तथा कार ५२ वटा, टेम्पो ३६ वटा, ट्रक २५ वटा, बस २२ वटा, ट्रयाक्टर १७ वटा गरी ४९७ वटा सवारीसाधन दुर्घटनामा परेको जनाइएको छ ।

सवारी साधानको उच्च चाप, सडकको जीर्ण अवस्था, चालकको लापरवाहीका कारण सडक यात्रा असुरक्षित बन्दै गएको हो । झापामा सवारी साधनको अनुपातमा ट्राफिक प्रहरी जनशक्ति कम रहेका कारण पनि सवारी चेकजाँच र नियमनमा कडाई गर्न अफ्ठयारो परेको प्रहरी निरिक्षक न्यौपानेको भनाइ छ ।

यातायात व्यवस्था कार्यालयका अनुसार आर्थिक वर्ष २०७९-० सम्ममा दुई लाख ९६ हजार ८५ वटा सवारीसाधन दर्ता भएका छन् । सवारी संख्याको अनुपातमा निकै कम अर्थात् ८३ जना ट्राफिक प्रहरीबाट ट्राफिक व्यवस्थापन भइरहेको छ । हाल एक जना ट्राफिक प्रहरीले तीन हजार ३२ वटा सवारी साधनको रेखदेख गर्नु पर्ने अवस्था रहेको न्यौपानेले बताए ।
सडक दुर्घटना न्यूनीकरणकै लागि विद्यार्थीसँग ट्राफिक सचेतना कक्षा, हेलमेटको प्रयोग सम्बन्धी सडकमै प्रशिक्षण, नयाँ चालक, व्यवसायी, परिचालकलाई विशेष कक्षा, सर्वसाधारणलाई ट्राफिक सचेतना सम्बन्धी कक्षा सञ्चालन हुँदै आएको उनले बताए ।

तीन करोड राजश्व
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले चालु आर्थिक वर्षको चैत मसान्तसम्म झण्डै तीन करोड राजश्व संकलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने चालक तथा सवारी साधनबाट कारवाही स्वरुप चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुई करोड ७७ लाख ३६ हजार १४१ रुपैयाँ राजश्व संकलन भएको हो ।

यही अवधिमा ट्राफिक नियम उल्लङ्घनबापत साना ठुला गरी ४० हजार ९२७ वटा सवारीसाधनमाथि कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । कारवाहीमा पर्ने सवारीमा सबैभन्दा धेरै कार तथा जिप रहेको पनि न्यौपानेले बताउनुभयो ।

सो अवधिमा १३ हजार २९८ वटा कार-जिप कारवाहीमा परेका छन् भने २ पाङ्ग्रे सवारी मोटरसाइकल ११ हजार ६८० वटा, ट्रक ८ हजार ९२७ वटा, टेम्पो २ हजार ९२७ वटा, बस २ हजार ९५ वटा कारवाहीमा परेका हुन् । त्यस्तै २ हजार वटा ट्रयाक्टर ट्राफिक नियम उल्लङ्घन गरेबापत कारवाहीमा परेका छन् ।

गत आर्थिक बर्ष २०७९-८० मा झण्डै चार करोड राजश्व संकलन गरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्म तीन करोड ९५ लाख ५६ हजार रुपैयाँ राजश्व संकलन भएको थियो भने चैत मसान्तसम्म दुई करोड ६६ लाख ८७ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : बैशाख १५, २०८१ शनिबार  ८ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]