बैशाख ३०, २०८१ आईतबार

विषादी मुक्त कनकाई किसानको सपना

रविन भट्टराई, किसान

कनकाई नगरपालिकाले कृषि क्षेत्रमा गरिरहेको अर्को नमूना कार्य भनेको किसानलाई संगठित गर्नु हो । किसानलाई संगठिन गरेर कृषिमा फड्को मार्ने योजनाप्रति कनकाईका किसान पनि खुशी भएको पाइएको छ । किसानलाई नगरको तर्फबाट लगानी गर्ने, कारितास नेपालबाट प्राविधिक सहयोग गर्ने काम भइरहेको छ । आफ्नो मेहनत र नियमितता मात्रै आवश्यक पर्ने भएपछि किसान पनि खुशी साथ संगठित भएर कृषि कर्ममा क्रियाशिल भइरहेका छन् ।
नगरपालिकाले नगरभित्र २५ वटा कृषि समूह बनाएको छ । कृषि समूह मार्फत किसानलाई सामूहिक खेतीमा प्रेरित गरिरहेको नगरपालिकाले सुरक्षित तरकारी उत्पादनलाई जोड दिइरहेको छ । कनकाई नगरपालिका वडा नं. ४ मा सिर्जनशिल आप्रवासी आइपीएम कृषि समूह छ । जसको नेतृत्व मेहनती किसानका रुपमा चिनिएका रविन भट्टराईले गरिरहेका छन् ।

१० वर्षदेखि व्यवसायिक तरकारी उत्पादन गर्दै आएका उनी ३ वर्षदेखि सामूहिक खेतीमा पनि जोडिएका छन् । तरकारी उत्पादनको दृष्टिले पकेट क्षेत्र मानिएको वडा नं. ४ मा अहिले समूह मार्फत सबै किसिमका तरकारी बाली लगाइएको छ । कतिपय उत्पादन भई विक्री समेत गरिसकिएको अध्यक्ष भट्टराईले जानकारी दिए । उनले एक कठ्ठा जमिनमा समूहले एक लाखको टमाटर उत्पादन गरेको बताए । समूह मार्फत आलु, वन्दा, फूलकोपी, गाजर, मुला,टमाटर, सिवि, काँक्रा भिण्डी उत्पादन गरिएको छ । मौसमी तथा बेमौसी तरकारी उत्पादन गरिरहेका उनीहरु समूहमा नियम पूर्वक काम गर्ने गर्छन । नियम अनुसार काम नगर्नेहरुलाई आर्थिक रुपमा कारबाही गर्ने गरेका छन् । हरेक शनिवार सामूहिक काम गर्ने गरिएको छ ।

समूहका अध्यक्ष भट्टराईले कनकाई नगरपालिकालाई अर्गानिक तरकारी उत्पादनको केन्द्रका रुपमा स्थापित गर्न तयार रहेको बताए । उनले मानव स्वास्थ्यलाई असर नगर्ने मल तथा विषादीको प्रयोग गर्ने बताएका छन् । अहिलेसम्म बजारको समस्या भोग्नु नपरेको बताउने उनले केहि वर्षमा सबै व्यापारीहरु अर्गानिक तरकारी खरिद गर्न कनकाई पुग्नुपर्ने दावी गरेका छन् । विऊविजन तथा प्राविधिक सहयोगमा ८० प्रतिशतभन्दा धेरै किसानले सहयोग पाउने गरेको उनको भनाई छ ।

नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले नै बेलाबेला आएर सल्लाह सूझाव तथा हौसला दिने गरेको बताए । मेयर साप बाली लगाएकै ठाउँमा आएर हौसला दिएर जानुहुन्छ । नगर प्रमुखले नगरपालिकालाई विषादिमुक्त नगर बनाउने योजनामा हुनुहुन्छ । त्यसका लागि नगर क्षेत्रका किसान लागिरहेको बताए ।

आफै पनि कृषिमा लागेको हुँदा समूह निर्माणपछि धेरै सहयोग प्राप्त भएको भट्टराईको भनाई छ । उनका अनुसार सामुहिक खेती गर्दा प्राविधिकहरुले धेरै नैसहयोग गर्नुभएको छ । त्यो बेला आफुहरुले बाली संरक्षणबारे जानकारी लिने अवसर पाएको बताए ।

व्यक्तिगतभन्दा सामूहिक खेतीमा आकषित भएका कनकाईका किसानले विषादिरहित तरकारी उत्पादन गर्दै उत्पादन वृद्धिका लागि सोहि अनुसारको मल खाद्य तयार गर्ने योजना बनाएका छन् । व्यापारीहरुलाई राम्रो तरकारी उत्पादन गरेर खेतिसम्म आउने वातावरण बनाउने योजना बनाएका छन् । अन्य पालिकाहरुका किसानभन्दा पनि सन्तुष्ट भइरहेका कनकाईका किसानले सामूहिक खेतीबाटै ७० मन आलु फलाई सकेका छन् ।

संगठित गर्दै आर्थिक रुपमा सवल बनाउने योजना बनाएको कनकाई नगरपालिकाप्रति किसान सन्तुष्ट रहेका छन् । अध्यक्ष भट्टराईले सिँचाई, माटो सुधार, विषादिमुक्त बनाउने थप कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको धारणा छ ।

प्रकाशित मिति : बैशाख १६, २०८१ आईतबार  ८ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]