बैशाख ३१, २०८१ सोमबार

कनकाईका उर्जाशिल किसान भन्छन् : कृषि तथा पशुपालनमा घाटा छैन

खगेन्द्र अधिकारी

वैदेशिक रोजगारीका लागि ४ वर्ष दुवई बसेर आएका कनकाई नगरपालिका –४ का खगेन्द्र अधिकारीको दैनिकी यतिवेला कृषिमा कर्ममा वितिरहेको छ । विदेशबाट फर्किएपछि कृषि तथा पशुपालनमा लागेका उनी कृषिमै संभावना देखेर मेहनत गरिरहेका छन् ।

अहिले उनी विन्दबासिनी कृषि फर्म सञ्चालन गरिरहेका छन् । जहाँ ५५ वटा होलेस्टोन जातका गाई छन् । साना बाछाबाछी गरेर करिव ७० वटा गाईबाछा रहेका छन् । दैनिक ५ सय लिटर दुध उत्पादन गरिरहेका उनले डिडिसी विराटनगरमा विक्री गरिरहेका छन् । पञ्जाव र विहारबाट ल्याइएका गाईले दैनिक ३५÷३५ लिटरसम्म दुध दिने गरेका छन् । कृषि पशुपालनमा घाटा नहुने अधिकारीको भनाई छ । उनले थपे, छोटो समय मात्रै काम गर्छु भन्नेहरुले घाटा पनि व्यवहोर्न सक्छन् । किसानले पनि क्यालेन्डर निर्माण गरेर काम गर्न सके कृषि तथा पशुपालनबाट भाग्नु नपर्ने उनको धारणा छ ।

स्थानीय ४ जनालाई दैनिक रोजगारी दिइरहेका अधिकारीको परिवार पनि फर्ममा नियमित काम गर्ने गरेका छन् । साइलेस बनाउने बेला २० देखि २५ जनासम्मले रोजगारी पाउने गरेका छन् । गाई फर्मबाटै उनले जग्गा जमिन जोडे, घर बनाएर र छोरीछोरीलाई पढाएका छन् । कृषि तथा पशुपालनमा सन्तुष्ट बनेका अधिकारीले यो क्षेत्र हेलामा परेको गुनासो छ । सबैले हेला गरेको क्षेत्र भए पनि मैले सम्मानका साथ काम गरिरहेको छु, उनले भने ।

कनकाई नगरपालिकामा उर्जाशिल किसानको रुपमा स्थापित अधिकारीले स्थानीय सरकारको सहयोग विना काम गर्न निकै कठिनाई हुने बताए । स्थानीय सरकारले सिँचाईमा सहुलियत दिनुपर्ने उनको माग छ । सँगै पशुलाई आवश्यक खोपको व्यवस्था गर्दै कषि तथा पशुलापनबाट उत्पादित वस्तुको बजारीकरणमा समन्वय गर्न आवश्यक रहेको बताए । उनले दुधबाट विभिन्न खाद्य वस्तु बनाएर विक्री गर्नका लागि पनि स्थानीय सरकारले योजना निर्माण गर्नुपर्ने सूझाव दिएका छन् ।

विदेश बस्ने समय नेपालमै दुख गर्दा आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने लागेर उनी कृषिमा लागेका हुन् । आफ्नो देशमा ४ देखि ५ घण्टा मज्जाले मेहनत गर्दा पुग्छ, उनले भने – विदेशमा नियमित ८ देखि १२ घण्टा अनिवार्य खटिनैपर्छ ।

उनले स्थानीय सरकारले तत्कालै विद्युतीय व्यवस्थापनमा चासो दिनुपर्ने बताएका छन् । राम्रो भोल्टेज नभएपछि यहाँ काम गर्न कठिन भइरहेको छ । भोल्टेज नपुग्दा दुध विग्रिन्छ । एक दिन विग्रिदा पनि ५०÷६० हजारको दुध विग्रिने गरेकाले विद्युतीय व्यवस्थापनलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

कनकाई नगरपालिकाले विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरेको अधिकारीको भनाई छ । उनले अन्य क्षेत्र जस्तै कृषिमा पनि नमूना काम गर्न आवश्यक रहेको बताएका छन् । उनले नगरपालिका तरकारी उत्पादनमा अघि बढ्नुपर्ने बताउँछन् । आलु, मकै, धान उत्पादन भइरहेकै छ । विशेष गरी नगरपालिकाले तरकारीलाई प्राथमिकतमा दिएका जानुपर्ने अधिकारीको धारणा छ । कनकाई विर्ता अर्जुनबाट उत्पादित प्राङ्गारिक मलको अधिकतम प्रयोग गरेर कनकाईलाई तरकारी उत्पादनको हब बनाउन सकिने बताए ।

गाई विरामी हुँदा होस् या गर्भधानका लागि होस् नगरपालिकाले आवश्यक सहयोग गरिरहेको छ । गाईको कहिले काही उम्रो नझर्दा पनि तत्कालै आएर सहयोग गर्ने गरेको अधिकारीले बताए । ठुलो गाई फर्म सञ्चालन गरिररहेका कारण घाँसको व्यवस्थापन अति नै गाह्रो विषय हुने गरेको थियो । त्यसका लागि कनकाई नगरपालिकाले साइलेस बनाउने मेसिन सहयोग गरेको छ । १० लाखको मेसिनमा ६ लाख ५० हजार नगरले सहयोग गरेपछि उनले बाँकी रकम थपेर मेसिन लिएका छन् । साइलेस बनाउने मेसिन खरिद गरेपछि १२ महिना हरियो घाँस खुवाउन पाइरहेका छन् । उनले मकै काटेर चिउरा जस्तो बनाएर (साइलेस) राख्ने गरेको सुनाए ।
अहिले दुधको भुक्तानी पाउन समस्या भइरहेको जानकारी दिएक छन् ।

प्रकाशित मिति : बैशाख १६, २०८१ आईतबार  २ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]