जेष्ठ २, २०८१ बुधबार

विषादिमुक्त कनकाईको लक्ष्य : किसानको भरपर्दो साथ

धेरै खपत हुने कृषिवस्तुको आयात प्रतिस्थापन गछौं

यदु कुमार उप्रेती, कृषि शाखा प्रमुख
झापाको कनकाई नगरपालिकाले कृषि उत्पादन, बजारीकरण र पराम्परागत कृषि वस्तुको उत्पादनलाई विशेष प्राथमिकता दिइरहेको छ । बाहिरबाट आयात हुने कृषि वस्तु आफै उत्पादन गरेर नगरबासीको माग धान्ने योजना कनकाईको छ । बाहिरबाट आयात हुने कृषि वस्तु प्रतिस्थापन गर्दै जाने र अर्गानिक उत्पादनलाई जोड दिने कनकाई नगरपालिकाको लक्ष्य रहेको कृषि शाखा प्रमुख यदु उप्रेतीले जानकारी दिए । उनका अनुसार ३÷४ वर्ष यता कनकाईको कृषि क्षेत्रले विषादि रहित उत्पादनलाई लयमा हिडाइरहेको छ ।

सिँचाई, मल, विऊ र बजारिकणको व्यवस्थापनमा सहयोग गरिरहेको कनकाईले सिचाँईको व्यवस्थापनसँगै उत्पादन वृद्धि गर्न थालेको छ । कृषि शाखाका प्रमुख उप्रेतीका अनुसार ४ वर्षअघि ४० प्रतिशत मकै उत्पादन हुन्थ्यो भने अहिले ७० प्रतिशतमा पुगेको छ । कनकाई नगरपालिका नजिकै भएपनि कनकाई नदीको पानी किसानले सिँचाई गर्न सकिरहेका छैनन् । अधिकांस किसान सिचाईका लागि मोटर, वोरिङको भरमा छन् । नगरपालिकाले किसानलाई मोटर बोरिङ नै सहयोग गर्दै आएको छ ।

कनकाई नगरपालिकाले किसानको जमिन कुनै पनि हालतमा बाँझो नरहोस् भन्ने उद्देश्य राखेर काम गर्दै आएको छ । अपवाद बाहेक कनकाईमा किसानले जमिन बाँझो राखेको अवस्था छैन ।

कनकाई नगरपालिकाले सुरक्षित तरकारी उत्पादनलाई प्राथमिकता दिएको पाइन्छ । ३ सय किसानलाई समूहमा संगठित गरेर विषादि रहित तरकारी उत्पादनमा उत्साहजनक परिणाम नै निकालेको छ । ३ सय किसानले ५० लाख बराबरको विषादिरहित तरकारी उत्पादन गरिसकेको उप्रेतीको भनाई छ । कनकाईका किसानले ५० लाखको तरकारी प्रतिस्थापन गरेका छन् । अब, लहरे तरकारी उत्पादन पछि यहि वर्ष करिव डेढ करोडको प्रतिस्थापन हुने अनुमान गरिएको छ ।

कनकाईमा बाहिरको तरकारी आयात गर्नुनपर्ने गरी किसान मेहनत गरिरहेका छन् । तरकारी उत्पादन मात्र होइन, विषादिरहित उत्पादन गर्न प्रतिवद्ध भएकाले किसानले स्थानीय सरकारको लक्ष्य पुरा गर्न सहयोग गर्ने देखिन्छ ।
कनकाई नगरपालिका केहि वर्षको मेहनतमा धानको विउमा आत्मनिर्भर भइसकेको छ । कनकाईलाई पुग्ने गरी धानको विउ उत्पादन भएको कृषि शाखाले जनाएको छ । धानको विउपछि कनकाई मकैको विउमा पनि आत्मनिर्भर भइसकेको छ । यस्तै, तोरी र गहुँमा आत्मनिर्भर हुने योजनामा छ । कनकाई नदीको किनारमा किसानले ७-८ सय विगा जमिनमा तोरी उत्पादन गरिएको छ भने आउँदो वर्षबाट गहुँमा आत्मनिर्भर हुने गरी काम गर्दैछ । जिल्लामा गहुँ उत्पादन हराइरहेकोले कनकाईले अनिवार्य रुपमा गहुँ उत्पादन थाल्ने जनाएको छ । धेरै खपत हुने भए पनि गहुँको उत्पादन हराइएको कृषि शाखाको निष्कर्ष छ ।

यस्तै, हाइव्रेड मकै विस्थापन गर्ने लक्ष्य बनाएको कनकाईले धानको विउ उत्पादनमा सहयोग गरेको थियो । पहिलो पुस्ता खेती गर्दा किसानले धान उत्पादनमा १५ प्रतिशले वृद्धि समेत गरेका थिए । कृषि शाखा प्रमख उप्रेतीले भने – हामीले धानको विउ ८० हजार केजी वितरण गरेका थियौं । सधै एउटै काम गरेर हुदैन । अब अर्को बालीमा ध्यान दिएका छौं ।

कनकाईले कृषिमा उल्लेख्य बजेटको व्यवस्था गरेर काम गरिरहेको छ । खासगरी धेरै खपत हुने कृषिबालीमा आफै आत्मनिर्भर हुने लक्ष्य बनाएको नगरपालिकाले विषादिरहित उत्पादनमा फोकस भएको पाइन्छ । किसानले उत्पादन वृद्धि गर्ने सवालमा सधैं चासो दिदैं आएको उनको भनाई छ ।

आगामी वर्षमा धान र गहुँको उत्पादन आधा–आधा बनाउने योजना सहित काम गरिररहेको कनकाईको कृषि शाखाले जनप्रतिनिधिको सकारात्मक भूमिकाले लक्ष्यमा पुग्न सहयोग मिलिरहेको जनाएको छ । सबै जनप्रतिनिधिहरु किसानकै पृष्ठभूमिबाट आउनु भएको छ, उप्रेतीले भने – किसानको जीवनलाई माथि उठाउने मात्र होइन, निरोगी कृषिबाली उत्पादनमा असाध्यै चिन्ता लिइरहेको अवस्था छ ।

तत्कालिन जिल्ला कृषि कार्यालयमा सबै किसानको पहुँच नपुग्दा काम गर्न गाह्रो हुने गरेको थियो । अहिले स्थानीय सरकार आएपछि किसानले प्रत्यक्ष रुपमा आफ्नो योजना लिएर आउने र पालिकाको सामथ्र्य अनुसारको सेवा पाउने परिस्थितिको निर्माण भइसकेको छ ।

नगरपालिकाले किसानलाई कृषि बालीमा लाग्ने रोग निवारण देखि आवश्यक प्राविधिक सहयोगमा समेत सहयोग गरिररहेको छ । कृषिबालीमा उपकरणको प्रयोगमा समेत समन्वय गर्दै आएको कनकाईले प्रविधिको प्रयोगमा प्राथमिकता दिएको छ ।

कृषि शाखा प्रमुख उप्रेतीले अबको २-४ वर्षमा सुरक्षित तरकारी उत्पादन गरेर निर्यात गर्ने कनकाई योजना रहेको सुनाए । त्यसका लागि किसानको उर्जा पनि उत्तिकै देखिएको उनको भनाई छ । सुरक्षित तरकारी उत्पादन गर्दा किसानले बजारको चिन्ता लिनुपदैन, उनले भने – त्यसैले किसान आफै प्राङगारिक मलको उत्पादन र प्रयोगमा लाग्नुभएको छ ।

सिमलतरुल र लालचन खेती
कनकाई नगरपालिकाले कृषि क्षेत्रमा काम गर्ने विभिन्न निकायसँग सहकार्य गर्दै आएको छ । कारितास, हेफर, जनता एग्रो एण्ड फरेष्ट्री लगायतसँग सहकार्य गर्दै काम गरिरहेको छ । प्राविधिक तथा बजारिकणका लागि सहकार्य गरिरहेको कनकाईले यो वर्षबाट जनता एग्रो एण्ड फरेष्ट्रिसँग पनि काम गर्दै छ ।

जनता एग्रोले प्राविधिक सहयोग तथा बजारिकण गर्ने सुनिश्चिततासँगै कनकाईमा सिमलतरुल र लालचन खेती सुरु हुदैछ । कनकाईका किसानले उत्पादन गर्ने सिमलतरुल र लालचन उत्पादनपछि जनता एग्रोले बजारीकरण गर्ने सम्झौता छ । पहिलो चरणमा १०÷१२ विगा जमिनमा सिमलतरुल रोप्नका लागि किसानहरु सम्पर्कमा आइसकेका छन् भने भदौमा लालचन खेती सुरु हुनेछ । परम्परागत कृषि वस्तुको उत्पादन हुन छोडेपछि कनकाईले यो वर्ष सिमलतरुल र लालचनमा किसानलाई जोड्ने भएको हो ।

भविष्यमा कनकाईले सिमल तरुल र लालचनको अलग–अलग समूह निर्माण गरेर तालिमहरु सञ्चालन गर्ने, मार्केटिङमा सहयोग गर्ने जनाएको छ ।

प्रकाशित मिति : बैशाख १७, २०८१ सोमबार  ८ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]