जेष्ठ ६, २०८१ आईतबार

‘बिर्तामोड नगरपालिकाले माछाको उन्नत भुरा उपलब्ध गराए हुन्थ्यो’

नगेन्द्र खरेल, माछा पालक किसान

धानखेती मासेर २ विगाह क्षेत्रफलमा माछा पालन गर्दै आएका बिर्तामोड–२ का माछापालक नगेन्द्र खरेल धानखेतीमा भन्दा राम्रो आम्दानी भइरहेको बताउँछन् । तीन वर्षदेखि माछा पालन गर्दै आएका उनले शुभलक्ष्मी कृषि फर्म दर्ता गरेर कृषि तथा पशुपालन गरिरहेका छन् । विशेष गरेर माछापालक किसानको रुपमा परिचित उनी पंगास जातको माछा पाल्दै आएका छन् ।

अन्यक्षेत्रमा लगानी गर्दा फाइदा नआउने र लगानी समेत उठाउन नसक्ने भएपछि उनले माछापालन सुरु गरेका हुन् । कृषि क्षेत्रमा लगानीको सुरक्षा हुने सुनिश्चित भएपछि पछिल्लो वर्षहरुमा माछा पालनालाई प्राथमिकता दिएको बताए । गत वर्ष २१० रुपैयाँ प्रति केजी मुल्य पाएका किसानले यो वर्ष २९० रुपैयाँसम्म मुल्य पाएको जानकारी दिए । विगतमा भन्दा राम्रो मुल्य पाएपछि स्थानीय किसान खुशी भएको उनको भनाई छ ।

पंगास माछा पालना गर्दै आएका उनले कार्प जातका माछा पनि हालेका छन् । माछाको बजार समेत सुधारिएपछि माछा पालक किसान उत्साहित भएको अवस्था छ । बिर्तामोड नगरपालिकाले मरेका भारतीय माछा पूर्ण प्रतिवन्ध लगाएपछि स्थानीय माछाले बजार पाएको छ । तर, केहि समय यता व्यापारीहरुले लुकाईछिपाई मरेका भारतीय माछा भित्राइरहेको किसानको भनाई छ । सुरुआतभन्दा सन्तोषजनक रहेको माछा पालनमा नयाँ किसान भने थपिन छोडेका छन् ।

धान मकै रोप्ने ठाउँमा खरेलले पोखरी खनेका छन् । करिव १ विगामा पानी रहेको बताउँने उनले माछा हुर्काउन आवश्यक पोखरी निर्माण गरेका छन् । मासिक ५० देखि ७० हजार रुपैयाँ आम्दानी गर्न कठिनाई नहुने उनको भनाई छ ।

बिर्तामोड नगरपालिकाले माछा पालक किसानलाई पर्याप्त सहयोग गर्दै आइरहेको छ । किसानलाई प्राविधिक देखि आर्थिक रुपमा समेत सहयोग गर्दै आइरहेको छ । माछा पालक किसान खरेलले २ विगाहमा माछा पालन गर्ने भएपछि नगरपालिकाले माछाका भुरा र जाल खरिद गर्न भनेर करिव ४ लाख आर्थिक सहयोग अनुदान उपलब्ध गराएको उनको भनाई छ । बेलाबखत पोखरी निरीक्षण, पानी जाँचका लागि विज्ञहरु लिएर नगरपालिकाको टोली पुग्ने गरेको खरेलले जानकारी दिए ।

स्थानीय माछा पालक किसानलाई सबैभन्दा ठुलो समस्या भनेको माछाको भुराको हो । उन्नत भुरा नपाउदा समस्या भोग्नु परेको छ । भारतमा ५-६ महिनामा डेढ केजीसम्म हुने भुरा पाइन्छ । यहाँ उस्तै परे १ वर्षमा १ केजीको बनाउन सकिदैन । उन्नत भुरा र दानामा सधैं समस्या भोग्नु परेको स्थानीय किसानलाई स्थानीय सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाई छ । बिर्तामोड नगरपालिकाले मल वितरण गरे जस्तै भुरा र दानामा पनि काम गर्नुपर्छ । माछा पालक किसानलाई स्थानीय सरकारले भुरा, दाना र बजारमा व्यवस्थापकीय सहयोग गर्नुपर्ने धारणा छ । भारतमा रिजेक्ट भएको भुरा नेपाल आउने गरेको खरेलको भनाई छ । नेपालमा पनि भुरा उत्पादन हुन्छ, उनले भने – तर, यहाँको भुरामा सन्तोष हुने ठाउँ छैन । यहाँको भुरा छोटो र चारोको भरमा मात्रै विकास हुने गरेको छ । भारतीय भुरा लामो हुन्छ, छिट्टै बढ्न पनि सक्छ । नेपालको भुरा उन्नत जातको हुन सकिरहेको छैन ।

खरेलले भारतबाट आउने माछा पूर्ण रुपमा प्रतिवन्ध गरे स्थानीय माछाले राम्रो बजार पाउने र उत्पादनमा किसानको थप आकर्षण समेत बढ्ने बताए । किसानलाई बेलाबेला तालिम दिनुपर्ने, माछा पालनका नयाँ सीप प्रदान गरेर स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताएका छन् ।

बिर्तामोड क्षेत्रमा उत्पादित माछाले अन्य पालिकाहरुलाई पनि धान्ने अवस्था बनिसकेको छ । यहाँ माछामा आत्मनिर्भर भइसकेको अवस्था छ भने छिमेकी पालिकाहरुमा पनि बिर्तामोडको माछाले माग धानिरहेको छ । बिर्तामोडलाई चाहिने भन्दा दोब्बर माछा उत्पादन भइरहेको छ । यहाँका किसानले स्थानीय माछा इटहरी, धरान र पहाडी जिल्लाहरुमा समेत पठाइरहेका छन् ।

माछा पालनमा सफल बनेका खरेलले किसानलाई साझेदारीमा माछाको भुरा उपलब्ध गराइदिन माग गरेका छन् । नगरपालिकाले २५ प्रतिशत र किसानले ७५ प्रतिशत साझेदारीमा उन्नत जातको माछाका भुरा उपलब्ध गराए ५ महिनामै माछा बजारमा लैजान सकिने उनको धारणा छ ।

प्रकाशित मिति : बैशाख २४, २०८१ सोमबार  १२ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]