जेष्ठ ६, २०८१ आईतबार

नेकपाले खटायो झापामा कमाण्डर

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टीले बेतिथि विरुद्ध झापाका स्थानीय तहमा संघर्षका कार्यक्रम सञ्चालन गर्ने भएको छ । विभिन्न १७ बुँदे मागसहित संघर्षका कार्यक्रम सञ्चालन गर्ने पार्टीले घोषणा गरेको हो । झापाको बिर्तामोडमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै बेथिती विरुद्ध संघर्ष गर्ने जानकारी गराइएको छ ।

पार्टीको चौथो पूर्ण वैठकमा गरिएका निर्णयहरु सार्वजनिक गर्दै पार्टीका झापा इञ्चार्ज सुमन ‘सि’ ले पार्टीको संरचनालाई पालिका, नगर तथा गाउँ वडासम्म विस्तार गर्दै आफ्ना एजेण्डा र मागहरुलाई अगाडि बढाएर मिसन ०८४ को सट्टा मिसन समाजवादलाई लिएर जाने बताएका छन् ।

संसदीय व्यवस्थालाई परिमार्जन गर्नका लागि पनि आगामी निर्वाचनमा भाग लिनु पर्ने अवस्था रहेको भन्दै पार्टीले समाजवादलाई मुख्य एजेण्डा बनाएर जनता माझ जाने निर्णय गरेसँगै जिम्वेवारी समेत हेरफेर भएको झापा इञ्चार्ज सुमन सिले जानकारी दिए ।

निर्वाचनलाई लक्षित गरी झापाका पाँच वटै निर्वाचन क्षेत्रमा पार्टीका कमाण्डरहरु तोकिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । झापा क्षेत्र नम्वर १ मा अर्जुन पाण्डे सि, क्षेत्र नम्वर २ मा सुमन सि, झापा क्षेत्र नम्वर ३ मा हुकुम सि, झापा ४ मा प्रशान्त सि र झापा क्षेत्र नम्वर ५ मा सञ्जय सिलाई जिम्मेवारी दिइएको उनले बताए ।
स्थानीय पाालिकाले ल्याउने बजेटमा अनिवार्य समाजवाद उन्मुख हुनुपर्ने आफूहरुको एजेण्डालाई स्थापित गर्न स्थानीय तहसँग छलफल र बहसलाई अगाडि बढाउने विप्लव माओवादीले जनाएको छ ।

यथास्थितिमा समाज रुपान्तरण सम्भव नरहेको निष्कर्ष निकाल्दै विप्लव माओवादीले सबै राजनीतिकदललाई जनमत संग्रहमा जान समेत आग्रह गरेको छ । लघुवित्त, मिटर व्याजी, तथा चर्काे वैक व्याजदर विरुद्ध पार्टीले सञ्चालन गरेको संघर्षलाई थप व्यवस्थित र सशक्त बनाउने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

एमसीसी, एसपीपी तथा अन्यरााष्ट्रघाती योजना विरुद्धका संघर्षलाई जारी राख्ने, बालवालिका महिला तथा दलित माथि हुने हिंसा र अत्याचार विरुद्ध कडा कारवाही गर्ने, लागू औषधको कारोवार वढेको भन्दै त्यस विरुद्ध समेत कडा रुपमा प्रस्तुत हुने, क्यासिनोमा नेपाली प्रवेश कालोवजारी, तस्करी, जुवाडे लगायत ठगी विरुद्ध राज्यका प्रशासनीक निकायसँग सहकार्यको प्रयत्न गर्दै जनसुरक्षाका कामलाई चुस्त र दुरुस्त रुपमा अगाडि बढाउन युवा परिचालन गर्ने, स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका जनसरोकरसँग सम्वन्धित विषयमा राज्यका निकायसंग सहकार्य गर्दै अगाडि बढ्ने, झपाका सबै निर्वााचन क्षेत्रमा कृषिजन्य उत्पादनका कामहरु अगाडि बढाउने, किसानहरुसँग सहकार्य गर्दै आफ्ना नेता तथा कार्यकर्तालाई आय आर्जन हुने उत्पादन मुलक काममा जोड्नेलगायतका १७ बुँदे पार्टीका एजेन्डा सार्वजनिक गरेको छ ।

त्यसैगरी समाजवादी संघीयताबाट पहिचानसाथै अधिकार प्राप्त गर्न सकिने निष्कर्ष निकालेको विप्लव माओवादीले त्यसका लागि समाजवाद स्थापनाको आन्दोलनमा पहिचानवादीहरुलाई सहभागी गराउँदै छलफल वहस र अन्तरक्रिया गर्ने, पहिचानको मुद्धालाई पूँजीवादको षड्यन्त्र र कब्जाबाट बचाउँदै समाजवादी आन्दोलनमा जोड्ने,
पालिका र वडामा चार मित्रशक्तिकम्युनिष्ट, समाजवादी, लोकतान्त्रिक गणतन्त्रवादी र देशभक्त, चार मित्रवर्ग मजदुर, किसान, मध्यम वर्ग र राष्ट्रिय पूँजीपति वर्ग तथा ६ मित्र समुदाय खस आर्य, जनजाति, मधेसी, श्रमिक समुदाय, मुस्लिम र महिलाहरुको बीचमा नेपालको वर्तमान संकटको समाधानका लागि समाजवाद स्थापनाका लागि व्यापक छलफल र अन्तरक्रिया गर्नेका पार्टीका आगामी कार्यक्रम सार्वजनिक गरेको छ ।

देशका अधिकांश जमिन खाली हुँदै गएको र त्यस प्रति नकारात्मकता सृजना गरेर नेपालीलाई पलायन गराउने विचौलियाहरुले रजाई गर्ने रणनीतिका साथ अहिले विभिन्न प्रचारवाजी भएको प्रति विप्लव माओवादीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विचौलिया पूँजीवादलाई परास्त गर्नका लागि पनि नेपाली समाजवाद आवश्यक रहेको पार्टीका केन्द्रीय समिति सदस्य समेत रहेका सुमन सिको भनाई छ ।

पत्रकार सम्मेलनमा केही दिन अघि झापाको दमकमा भएको गोली काण्डको विषयमा सुरक्षा निकायले काम गर्न नसकेको भन्दै आलोचना गरिएको छ । गृहमन्त्री रवि लामिछानेले सुरक्षा व्यवस्था चुस्त र दुरुस्त भएको बताएपनि दमकमा विद्यार्थीमाथि दिउँसै गोली प्रहार गर्ने व्यक्ति हालसम्म पक्राउ नपर्नुले झापामा सुरक्षा व्यवस्था कमजोर रहेको उनको भनाई छ ।

प्रकाशित मिति : बैशाख २६, २०८१ बुधबार  ६ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]