बैशाख २८, २०८२ आईतबार

स्वदेशमै संभावना खोजौं

सम्पादकीय
वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । दैनिक दुई हजार नेपालीहरु रोजगारीका लागि खाडी मुलुकसहित विभिन्न राष्ट्र गइरहेका छन् । विदेश जानेहरुको संख्या असाध्यै ठुलो छ । संभावनाहरु पर्याप्त हुँदा पनि नेपालीहरु देश छोडेर परदेश तिर लागिरहेका छन् । सधैं परदेश गएको संख्या मात्र हेर्ने गरिएको छ । स्वदेश फर्किने नेपालीहरुको संख्या पनि उस्तै छ । सडकमा काम गरिरहेको जो कोहिलाई सोध्दा एक, दुई पटक वैदेशिक रोजगारीमा गएर फर्किएकै पाइन्छ ।

वर्षौदेखि नेपालीहरु विदेशलाई श्रम गर्ने, जीवनयापन गर्ने विकल्प मानिरहेका छन् । तर, स्वदेश फर्किएकाहरुले गरेको मेहनत र आम्दानीले यहाँ पनि कम संभावना छ भन्ने लाग्दैन । सडकमा कुद्ने सिटी अटो, सार्वजनिक यातायात र ढुवानीका चालक वा सहयोगीहरुलाई सोध्ने हो भने सबै विदेश गएर ५-७ वर्ष बसेर फर्किएकै सुनाउने गरेका छन् । उनीहरु स्वदेश मै काम गरेर जीवन यापन गरिरहेका छन् । विदेशमा जस्तो समयलाई ख्याल गरेर काम गर्ने हो भने यहाँ पनि उत्तिकै संभावनाहरु भएको स्वदेश फर्किनेहरुको धारणा छ । विदेशमा थोरै काम गर्दा धेरै आम्दानी गर्न सकिन्छ । यहाँ धेरै काम गर्दा थोरै मात्र आम्दानी हुन्छ । यहाँ काम दिनेहरुले अति नै श्रम शोषण पनि गरिरहेका हुन्छन् । समयमा तलव, सुविधा नदिने अर्को समस्या छ ।

नेपालमा काम गर्नेहरु असाध्यै लापरबाही गरिरहेका हुन्छन् । व्यापार गर्नेहरु मुल्यभन्दा माथि उपभोक्तासँग लिने गर्छन् । जुनसुकै क्षेत्रमा पनि अनुशासनको खाँचो पर्छ । नेपालमा रोजगारी पाएपछि निर्वाह गर्नुपर्ने भूमिका निर्वाह भइरहेको छैन । यहाँ क्षमा पाइन्छ, गल्ती गरेनी के हुन्छ र भन्ने छ । तर, विदेशमा क्षमा हुन हुदैन । काम, जिम्मेवारीमा लापरबाही गर्ने छुट छैन । त्यसरी काम गर्ने हो भने यहाँ पनि असल व्यक्तिको चारैतिर खाँचो छ । अझ, सीप भएको जनशक्तिलाई रोजगारीको कुनै अभाव छैन । यति हो, कस्तो जिन्दगी रोज्ने हो । सामान्य, ठिकठिकै, हाइफाई । त्यहि अनुसार काम गर्न यहाँ पनि त्यसै अनुसारको काम गर्न सकिन्छ । परदेशकै जिन्दगी रोज्ने हो भने त्यो यहाँ संभव छैन । मेहनत गर्नेहरुका लागि यहाँ पर्याप्त संभावना छ । त्यसैले यहि संभावनाको खोजी गरौं । काम गर्न लाज नमानौं ।

प्रकाशित मिति : बैशाख २७, २०८१ बिहीबार  ७ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]