जेष्ठ ७, २०८१ सोमबार

बलियो बन्दैछ कनकाईमा शिक्षाको जग

सामुदायिक विद्यालय छोडेर निजीमा जानुपर्ने बाध्यता हट्यो

०७४ देखि ०८१ सम्म आइपुग्दा कनकाई नगरपालिकाभित्र शिक्षाले फड्को मारेको छ । ०७४ मा स्थानीय तहको निर्वाचनबाट निर्वाचित भई आउँदा विशेषगरी सामुदायिक विद्यालयहरुको अवस्था खस्किरहेको थियो । विद्यार्थीहरु सामुदायिक विद्यालय छोडेर निजी जाने संख्या उच्च थियो । अहिले त्यसको विपरित भएको छ । अहिले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधार हुदै गएपछि निजीका विद्यार्थीहरु सामुदायिक विद्यालयतिर गइरहेको नगरप्रमुख राजेन्द्र पोखरेलको भनाई छ ।

सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै जाने, विद्यालय छोडिदिने लगायतका समस्याहरु थिए । यो ७ वर्षको अन्तरालमा शिक्षामा आएको परिवर्तनले स्थानीय सरकार हर्षित भएको नगरप्रमुखको प्रतिक्रिया छ । सामुदायिक विद्यालयहरुमा विद्यार्थीको आकर्षण हुनु, विद्यालयहरुमा भौतिक पूर्वाधारमा सुधार आउनुको मुख्य आधार भनेकै स्थानीय तह हो । स्थानीय तहले शिक्षा आफ्नो मातहतमा आएपछि गुणस्तर तथा भौतिक पूर्वाधार सुधारमा व्यापाक काम गरेको छ । शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ, उनले भने ।

सामुदायिक विद्यालयहरुमा विद्यार्थीको आकर्षण बढ्नुको कारण गुणस्तर सुधार नै हो । विगतमा भन्दा गुणस्तर सुधार भएको छ, जसका कारण विद्यार्थी, अभिभावकको रोजाईमा सामुदायिक विद्यालयहरु पर्न थालेका छन् । विद्यालयहरुले अझै गुणस्तर सुधारमा ध्यान दिन आवश्यक छ । किनभने, अब सरकारी विद्यालयहरुमाथिको गलत धारणा चिर्नका लागि अझै सुधार हुनुपर्छ, राम्रो परिणाम ल्याउनैपर्छ ।

विद्यार्थीहरुले चाहेजस्तो प्राविधिक विषयको अध्ययन गर्न पाएका छन् । पर्याप्त उपकरणसहित अभ्यास गर्दै पढ्न पाएका छन् । हिजोको दिनमा सरकारी विद्यालयमा कम्प्यूटर भनेको के हो भन्ने अवस्था थियो, अहिले विद्यार्थीहरु कम्प्यूटर चलाउदै विद्यार्थीहरु अध्ययन गर्न पाइरहेका छन् । विज्ञान तथा प्रविधिको प्रदर्शनीसँगै विद्यार्थीहरु अध्ययन गर्न पाइरहेका छन् । यहाँका विद्यार्थीहरुले अध्ययनका क्रममा राम्रै विज्ञान प्रयोगशाला, उपकरणको व्यवस्थापनसँगै अभ्यास गरेका कारण आविश्कारहरु पनि गरिरहेका छन् ।

निजी र सामुदायिकबीच विभिन्न प्रतियोगितात्मक प्रतिष्पर्धा गर्दा सामुदायिक विद्यालयहरुका विद्यार्थीले जीत हासिल गर्न थालेका छन् । रचनात्मक कार्यक्रमहरुमा समेत सामुदायिक विद्यालयहरु अब्बल बन्न थालेको नगर प्रमुख पोखरेलको भनाई छ ।

शिक्षकको व्यवस्थापनसँगै पूर्वाधार निर्माण र प्राविधिक सहयोग गर्दै विद्यालयहरुलाई नगरपालिकाले सहयोग गरिरहेको उनको भनाई छ । कक्षा ११ र १२ का विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै कनकाईले विद्यार्थीको पठनपाठनको महत्पूर्ण योगदान गर्दै आइरहेको छ ।

नगर प्रमुख पोखरेलले स्थानीय तहको बजेटस्तर अनुसार शिक्षामा पर्याप्त काम गरिरहेको बताए । उनले नगरको योजना अनुसार धेरै काम भइरहेको र आगामी दिनमा थप काम गर्नुपर्ने सुनाए । सबै शाखाहरुको बजेट घटाए पनि कनकाईले शिक्षामा बजेट वृद्धि गरेको उनको भनाई छ ।

कनकाईले विद्यार्थीहरुको सीप विकासमा ध्यान दिइरहेको छ । पढ्दापढ्दै सीप सिक्नुपर्छ भन्ने मान्यता बनाएका नगर प्रमुख पोखरेलले त्यसका लागि आवश्यक छलफल समेत अघि बढाइसकेका छन् । उनका अनुसार आगामी वर्ष केहि न केहि सुरुवात गर्ने उनको योजना छ । विद्यार्थी साइकल मेकानिक बन्न सक्छ, इलेक्ट्रिकको काम सिक्न सन्छन्, प्लम्बरको काम गर्न सीप सिक्नसक्छन् । पढ्दै सीप सिकेभने पढाई सक्किदा एउटा सीप सिकेको, दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ । जसले पढाईपछि अब के गरौं भनेर भौतारिनुपर्ने छैन ।

विद्यार्थीहरुले जीवनयापन गर्न कुनै पनि सीप सिक्न चाहेमा त्यसका लागि विद्यालयमै त्यसको व्यवस्थापन मिलाउन सक्नुपर्छ । त्यसका लागि स्थानीय सरकार तयार छ । सीप विकासका लागि नगरपालिकाले प्रदेश र संघीय सरकारसँग आवश्यक समन्यव गर्ने उनको योजना छ ।

शैक्षिक सुधारका लागि शिक्षकको भूमिका महत्पूर्ण हुने नगरप्रमुखको भनाई छ । उनका अनुसार विगतमा भन्दा अहिले शिक्षकको सक्रियता बढेर गएको छ । कतिपय शिक्षकहरुले भने जन्मिदैको गुण सुधार ल्याउन सक्नुभएको छैन । उहाँहरुले पनि यहाँको शिक्षामा सुधार ल्याउन भूमिका निर्वाह गर्नुहुन्छ भन्ने आशा छ । शिक्षकको योगदनाबाटै कनकाईले शैक्षिक क्षेत्रमा प्रगति हासिल गर्न सक्ने भएकाले त्यसतर्फ ध्यानाकर्षण गर्न नगरप्रमुखले आग्रह गरेका छन् ।

यस्तै, अभिभावकमा पनि चेतनाको स्तर बढेको छ । शिक्षामा सुधार ल्याउनुपर्ने भन्दै सचेत अभिभावकहरु चासो, चिन्ता व्यक्त गरिरहेका छन् । शैक्षिक क्षेत्रमा सुधार ल्याउन अभिभावकको पनि उत्तिकै भूमिका हुने भएकाले नगर प्रमुख पोखरेलले अभिभावकहरुलाई नगरको शिक्षा क्षेत्र सुधारमा थप रचनात्मक योगदान गर्न आग्रह गरेका छन् ।
कतिपय विद्यालयहरुले पढ्दै कमाउदै कार्यक्रम सञ्चालन गरेकोमा नगरप्रमुख पोखरेलले खुशी व्यक्त गरेका छन् । विद्यार्थीहरुले करेसाबारीमा काम गर्न धेरै लगनशील भएको पाएको उनको भनाई छ । पढाईसँगै काममा देखिएको विद्यार्थीको मेहनतले सीप विकास अनिवार्य भएको बुझाई छ । – कनकाई सेरोफेरोबाट

प्रकाशित मिति : बैशाख २७, २०८१ बिहीबार  ८ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]